२०८१ बैशाख २३ आईतवार

आठ संकेत, जसले मुटु खराब भएको जनाउँछ

के मुटुमा खराबी हुँदै गएको कुनै संकेत हुन्छ ? धेरैले यस्तो प्रश्न सोध्ने गर्छन् । स्वभाविक हो, मान्छेलाई आफ्नो स्वस्थ्यबारे ख्याल हुनु । त्यसमा पनि मुटुको प्रसंगमा मान्छेहरु अरु डराउने गर्छन् ।

हाम्रो खानपान र जीवनशैली जसरी ध्वस्त हुँदै गएको छ, त्यसरी नै मुटुरोगको जोखिम पनि बढेर गएको छ । प्रशोधित खानपान, मदिरा, चुरोट आदिले मुटुको कार्य क्षमता कमजोर बनाउँदै लगेको छ । निष्क्रिय जीवन, अनियन्त्रित खानपान, तनावले मुटुलाई मारमा पारेको छ । त्यसैले अहिले धेरै व्यक्ति मुटुको समस्यासँग जुधिरहेका छन् ।

मुटुमा समस्या भएको वा मुटु खराब हुँदै गएको केही संकेत देखिन्छन् ।

छाती दुख्‍ने

मुटु खराब हुँदा देखिने प्रमुख संकेत छाती दुख्नु हो । यद्यपि, अन्य स्वास्थ्य समस्या पनि छाती दुख्ने संकेत साझा रुपमा देखिने हुँदा मुटुकै समस्या भनेर कहिलेकाहीं दुविधा हुन सक्छ । यदि मुटुको धमिनीहरुमा अवरोध भइरहेको छ भने हिंड्दा, धपेडी हुँदा, उकालो चढ्दा र भर्‍याङ चढ्दा बढी छाती दुखेको महसुस हुन्छ भने विश्रामको बेला दुख्दैन । यो मुटु खराब हुँदा देखिने सुरुवाती अवस्था हो ।

त्यस्तै, मुटु खराब भएपछि हुने मुख्य समस्या हृदयघात वा हृदयघात हुनुअघि धमिनीमा अवरोध आउनु हो । यस्तोमा हृदयघात हुनुपुर्व देखिने संकेत छाती दुख्नु हो । हृदयघात हुँदा पनि छातीको बीच र वरपर दुख्ने, कुनै वस्तुले थिचेको जस्तो भारी हुने । छातीको दुखाइ देब्रे काँधतर्फ पनि सर्ने गर्छ । छातीको दुखाइ देब्रे भागतर्फ बढी भएमा तत्काल अस्पताल जानुपर्छ ।

सास फेर्न गाह्रो हुनु 

सास फेर्न गाह्रो हुने समस्या फोक्सोसम्बन्धी समस्याले पनि हुन्छ । तर मुटुमा आंशिक अवरोध भएमा हिंड्दा स्वाँ-स्वाँ हुने र पूरै अवरोध भएमा हिंड्दा, बस्दा र बेडमा पल्टिरहेको अवस्थामा पनि सास फेर्न कठिन हुन्छ । उत्तानो परेर सुतिरहेको अवस्थामा सास फेर्न कठिन हुने तर उठेर बसेपछि केही हल्का हुने अवस्था हृदयघात वा मुटु फेल हुनुअघि देखिने लक्षण हो ।

यस्तोमा कसैलाई भने सुतिररहेको बेला अक्सिजन नपुगे र छातीमा असहज जस्तो भएर जुरुक्क उठेर झ्यालसम्म पुग्न बाध्य हुने जस्ता समस्या देखिन सक्छ । मुटुको पम्प घटेको वा मुटुको मांसपेशी कमजोर भएको, मुटुको भल्बमा खराबी देखिएमा सास फेर्न कठिन हुन्छ ।

टाउको दुख्नु

धेरैजसो स्वास्थ्य समस्यामा टाउको दुख्नु साझा लक्षणको रुपमा देखा पर्छ । टाउको दुखाइ मुटु खराब हुँदा पनि देखिन्छ । रक्तचाप बढ्ने बित्तिकै पछाडिको भागको टाउको दुख्छ । अत्यधिक मात्रामा पछाडिको भागको टाउको दुख्छ भने उच्च रक्तचाप हुनु वा मुटुरोग देखिनु हुन सक्छ ।

चक्कर लाग्ने

मुटु कमजोर, मुटुको भल्ब, मुटुको चाल तीव्र वा ढिलो हुँदा, हृदयघात र मुटु फेल जस्ता मुटुको जुनसुकै समस्या देखिएर मस्तिष्कमा रक्तसञ्चार हुन नसेका लक्षणको रुपमा चक्कर लागिरहन सक्छ । पटक-पटक चक्कर लागिरहेको अवस्थामा मुटुरोग विशेषज्ञलाई देखाउनुपर्छ । मुटुरोगको जिम्मेवार मानिने उच्च रक्तचाप बढी हुँदा पनि चक्कर लाग्ने गर्छ ।

खुट्टा सुन्निने

मुटुरोग लागेकाहरुमा खुट्टा सुन्निने समस्या पनि मुख्य रुपमा देखिन सक्छ ।  विशेषगरी मुटुले पम्प गर्न नसक्दा खुट्टा फुल्दै आउने गर्छ । त्यस्तै मुटुको भल्ब खराब,  मांसपेशी कमजोर र रक्तचाप उच्च हुँदा खुट्टा सुन्निन्छ ।

बालबालिकामा टन्सिल र जोर्नी दुख्ने

बालबालिका पनि मुटुरोग देखिने गर्छ । जसलाई मुटु बाथरोग पनि भनिन्छ । उनीहरुमा बारम्बार टन्सिल आउने, जोर्नी दुखिरहने र शरीरमा डाबर आइरहेको छ भने मुटु बाथरोगको संकेत गर्छ । यस्तोमा मुटुको भल्बमा खराबी पनि हुन सक्छ । यदि यस्तो समस्या समयमै उपचारपछि बच्न सकिन्छ । त्यस्तै जन्मजात नै मुटुरोग भएका बालबालिकामा कहिलेकाहीं हातखुट्टा, अनुहार निलो हुने गर्छ ।

ढुकढुक बढेको महसुस हुने 

सामान्यतया कुनै कुराको त्रास, उकालो चढ्दा, दौडिंदा, उफ्रिंदा ढुकढुक बढ्न सक्छ । जुन स्वाभाविक हो । तर आराम गरिरहँदा, कुनै कार्य पनि गर्दा वा हल्का काम गर्दा पनि मुटुको ढुकढुकी बढेको महसुस भइरहनु मुटुरोगको संकेत हुन सक्छ । हृदयघात, उच्च रक्तचाप, मुटुको भल्ब कमजोर हुने, मुटुको मांसपेशी कमजोर हुने जस्ता प्राय: सबैजसो मुटुको समस्यामा ढुकढुकी बढेको महसुस हुन्छ ।

मधुमेह, कोलेस्टेरोल र रक्तचापको मात्रा उच्च

मधुमेह, कोलेस्टेरोल र रक्तचापको मात्रा उच्च हुनु मुटुरोग हुने सम्भावित संकेत हुन् । यदि यी तीनै कुरा उच्च छन् भने कालान्तरमा मुटु फेल हुने वा हृदयघात हुने जोखिम हुन्छ । त्यसैले यस्ता लक्षण देखिने बित्तिकै तुरुन्त अस्पताल जानुपर्छ । किनभने जति छिटो पत्ता लाग्यो त्यति छिटो मुटुलाई बचाउन सकिन्छ ।

मुटु कमजोर हुनबाट कसरी जोगाउने ?

– रक्तचापको नियमित जाँच गर्नुपर्छ । उच्च रक्तचापको समस्या भएकाले समयमा औषधि खाएर यसलाई नियन्त्रणमा राखिरहनुपर्छ ।

-समयमा खाने तर पौष्टिक आहार ठिक्क मात्रामा खाने, बोसोयुक्त खानेकुरा, नुन, चिनी, चिल्लो कम खाने गर्नुपर्छ ।

-हृदयरोगबाट बच्न हृदयका मांसपेशीहरु मजबुत हुनु आवश्यक छ । जसका लागि शारीरिक व्यायाम अनिवार्य गर्नुपर्छ ।

-धुम्रपान र मदिरापानले रक्तचापको मात्रा बढाउँछ । त्यसैले सकेसम्म यस्ता कुराबाट टाढा रहनुपर्छ ।

-मोटोपन पनि हृदयरोग गराउने कारक भएका कारण शरीरको वजन सही बनाई राख्नका लागि पोषक तत्वले भरिपूर्ण र फाइबरयुक्त आहार खाने र शारीरिक गतिविधि बढाउनुपर्छ ।अनलाइनखबर

२०८० श्रावण ८, सोमबार प्रकाशित 1 Minute 214 Views

ताजा समाचार