२०८१ जेष्ठ १० बिहीबार

मंकीपक्सको जोखिम : कसरी जोगिने ?

मंकीपक्सको संक्रमणले शरीरमा घाउ-खटिरा आउने गर्छ । यस्ता घाउ-खटिरामा हुने संक्रमित पदार्थको सम्पर्कमा आउँदा उक्त भाइरस एकदेखि अर्कामा सर्ने गर्छ ।

विश्वभरमा फैलिएको मंकीपक्सको संक्रमण नेपालमा पनि पहिलो पटक एक ६० वर्षीया विदेशी महिलामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको छ । यस रोगको हालसालैको प्रकोप करिब एक वर्षअघि लण्डनमा फेला परेको थियो । त्यसयता अहिलेसम्म ११० भन्दा बढी देशमा देखिएको मंकीपक्सबाट ८७ हजार भन्दा बढी संक्रमित भएका छन् भने ११२ को मृत्यु भइसकेको छ ।

यस रोगको संक्रमण दर घटाउन विश्व स्वास्थ्य संगठनले सबै देशलाई उचित उपाय अपनाउन आहृवान गरेको छ । त्यस्तै नेपालमा संक्रमण फेला परेपछि नेपाल सरकारले पनि आकस्मिक उपायहरू अपनाउन थालेको छ ।

मंकीपक्ससँग लड्नका निमित्त नेपालभर विभिन्न अस्पतालमा यस रोगको उपचारका लागि डाक्टरहरू परिचालन गरिएको छ । त्यसैगरी लक्षणहरूको बारेमा सल्लाह सुझाव लिनका लागि सर्वसाधारणका लागि हटलाइन नम्बरहरू १११५ र ११३३ निर्धारण गरिएको छ ।

के हो मंकीपक्स ?

मंकीपक्स अथवा एमपक्स एक भाइरल रोग हो जुन मंकीपक्स भाइरसले गर्दा मानवजाति तथा केही अरू प्राणीमा लाग्ने गर्दछ । यस भाइरसका दुई प्रजाति छन्, क्लेड-वान र क्लेड-टु । यो बिफर गराउने भाइरससँग मिल्दोजुल्दो हुन्छ । सन् १९५८ मा बाँदरमा फेला परेको थियो । यो भाइरसको संक्रमण मानिसमा पहिलो पटक सन् १९७० मा भेटिएको थियो ।

सन् १९८० मा बिफर उन्मूलन भएर खोप लगाउन बन्द भएपछि अफ्रिकामा विस्तारै मंकीपक्स देखा पर्न थालेको थियो । अफ्रिकाका साना स्तनधारी जनावर जस्तै बाँदर, मुसा, लोखर्केमा यो भाइरस भेटिएको उल्लेख छ । सन् २००३ मा अमेरिकामा निर्यात गरिएका जंगली जनावरहरूबाट पनि संक्रमणहरू फैलिएको थियो । त्यसयता बर्सेनि प्रजातान्त्रिक गणतन्त्र कंगोमा कैयौं संक्रमण भेटिने गरेको छ ।

सन् २०२२ को मेमा यूरोपबाट सुरु भएको यो महामारी अमेरिका तथा अन्य विभिन्न मुलुकमा फैलिएको छ । यसको कारक भाइरस प्रजाति क्लेड-टु रहेको छ । त्यस्तै सुडानमा शरणार्थीहरूमा देखिएको संक्रमण भने क्लेड-वानको कारण रहेको छ ।

कसरी सर्छ ?

मंकीपक्सको संक्रमणले शरीरमा घाउ-खटिरा आउने गर्छ । यस्ता घाउ-खटिरामा हुने संक्रमित पदार्थको सम्पर्कमा आउँदा उक्त भाइरस एकदेखि अर्कामा सर्ने गर्छ । संक्रमण फैलिने माध्यममा स्पर्श गर्ने, चुम्बन तथा यौन सम्पर्क आदि पर्छन् । त्यस्तै श्वास-प्रश्वासको माध्यमबाट, बोल्दा, खोक्दा पनि एकअर्कामा सर्ने गरेको छ ।

एउटै सामान तथा कपडाको प्रयोग गर्दा पनि यसको संक्रमण हुने सम्भावना रहन्छ । संक्रमित जनावरहरूको मासु खाँदा, शिकार गर्दा, जनावरले टोक्दा वा चिथोर्दा पनि सर्न सक्ने सम्भावना रहेको छ । अहिलेको महामारी यौनसम्पर्क प्रमुख माध्यम रहेको र यो रोग फैलिनुमा यौनकर्मीको प्रमुख भूमिका पाइएको छ ।

लक्षणहरू

मंकीपक्सको संक्रमणको १ देखि २१ दिनसम्ममा लक्षणहरू देखा पर्छन् । प्रायः संक्रमितमा एक हप्ताभित्रमा लक्षण देखिन्छन् र २ देखि ४ हप्तासम्म रहिरहन्छन् । रोग प्रतिरोधात्मक क्षमता कम भएकामा भने लामो समयसम्म लक्षण देखा पर्न सक्छन् । यस अवधिपछि भने रोग विस्तारै निको हुँदै जान्छ ।

लक्षणहरूमा डाबर आउने, ज्वरो आउने, घाँटी दुख्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, ढाड दुख्ने, थकान हुने, ग्रन्थी सुन्निने आदि हुन् । सुरुमा देखिने डाबर विस्तारै बढ्दै गएर फोका उठ्ने, चिलाउने, दुख्ने हुनसक्छ । कसैमा थोरै तथा कसैमा सयौं खटिरा आउन सक्छन् । खटिरा शरीरको जुनसुकै भागमा आउन सक्छ तर प्रायः हातखुट्टा, अनुहार, मुख, घाँटी तथा तिघ्राको भित्री भागमा बढी देखिन्छ ।

प्रायः संक्रमितमा सुरुमा ज्वरो, मांसपेशी दुख्ने तथा घाँटी दुख्ने र पछि अनुहारमा डाबर आउन सुरु हुन्छ । डाबर शरीरभरि फैलिन्छ र फोकामा परिणत हुन्छ । फोका फुटेर खटिरा बन्छ र निको हुँदै गर्दा खटिरा झरेर जान्छ । सबै खटिरा हराउँदासम्म संक्रमित व्यक्तिले रोग अन्यमा सार्न सक्छ ।

गर्भवती महिला, बालबच्चा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा भने जटिलताहरू उत्पन्न हुने जोखिम बढी हुन्छ । जटिलताहरूमा अरू संक्रमणको सम्भावना, न्युमोनिया, इन्सेफलाइटिस, आँखाको ज्योति गुम्ने आदि हुनसक्छ । साथै गर्भवती महिलाको बच्चा खेर जाने हुनसक्छ ।

परीक्षण र उपचार

मंकीपक्सका लक्षणहरू अरू संक्रमणहरू जस्तै ठेउला, लुतो, दादुरा आदिसँग मेलखाने भएकोले छुट्याउन गाह्रो हुन्छ । यसको परीक्षणको लागि घाउ-खटिरा, फोका तथा नाक-मुख, घाँटी आदिको स्वाब लिएर भाइरसको पीसीआर प्रणालीबाट जाँच गरिन्छ ।

मंकीपक्सको उपचार लक्षणहरूमा केन्दि्रत हुन्छ । संक्रमण हुँदैमा अस्पताल जानुपर्ने जरूरी हुँदैन । संक्रमण भएपछि सकेसम्म घरमा आˆनो कोठामा बस्नुपर्छ । अरूसँग सम्पर्कमा नआउने, आˆनो सामान तथा कपडा अरूलाई चलाउन नदिने, मास्क लगाउने, साबुनपानीले बेलाबेला हात धुने, छाला सुख्खा र खुला छोड्ने आदि गर्न सकिन्छ ।

त्यस्तै प्रशस्त पानी पिउने, स्वस्थ खाना खाने र दुःखाइ र ज्वरोको लागि सिटामोल जस्ता औषधि खान सकिन्छ । त्यस्तै फोका फुटाउने कोटयाउने भने गर्नुहुँदैन । अन्य व्यक्तिहरूको नजिक हुँदा मास्क लगाउने तथा खटिराहरू छोप्नाले रोग सर्ने जोखिम कम हुन्छ । लक्षणहरू धेरै बढ्दा वा थप जटिलता देखा परेमा भने नजिकैको स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्क गर्न जरूरी हुन्छ ।

रोकथाम

पहिले बिफरको लागि उत्पादन भएको खोप अहिले मंकीपक्सको रोकथाममा प्रयोगमा आएको छ । यो खोप संक्रमणको उच्च जोखिममा रहेका तथा तत्कालै संक्रमित व्यक्तिलाई दिइने गरेको छ । संक्रमित व्यक्तिको सम्पर्कमा आएको ४ दिनसम्ममा खोप लगाउन विश्व स्वास्थ्य संगठनले सल्लाह दिएको छ ।

त्यस्तै पहिले बिफरमा प्रयोग हुने एन्टीभाइरल जस्तै टेकोभाइरिम्याट पनि एमपक्सको उपचारमा प्रयोग गर्ने गरिएको छ । यसैगरी संक्रमण भइसकेपछि आइसोलेशन बसेर रोगको संक्रमण कम गर्न सकिन्छ ।

अहिलेसम्म नेपाली नागरिकमा संक्रमण पुष्टि भएको छैन तर पनि यो रोग लागेको छैन भनेर ढुक्क हुने अवस्था छैन । सरकारले रोगको परीक्षणका लागि केन्द्रहरू छुटयाएर उपचार गराउने आधिकारिक स्थानहरूको निक्र्योल गर्न जरूरी छ ।

यस रोगले उग्र रूप लिनुअगावै सरकारले उचित उपायहरू अपनाएर संक्रमण रोक्न परीक्षण तथा उपचारमा ध्यान दिन जरूरी हुन्छ । त्यसैगरी विभिन्न संचारमाध्यम मार्फत अथवा अन्य निकाय मार्फत यस रोगको बारेमा जानकारी र रोकथाम बारे जागरुकता गराउन जरूरी देखिन्छ । अनलाइन खबरबाट

२०८० असार २३, शनिबार प्रकाशित 1 Minute 168 Views

ताजा समाचार