काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ ।
बुधबार राष्ट्रियसभा बैठक सुरु हुनेबित्तिकै राष्ट्रियसभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री दाहालले व्यवसायी प्रीतम सिंहको पुस्तक विमोचन गर्ने क्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल राजीनामा दिन माग गरेका हुन्।
उनले आफूहरुको सो माग पूरा नभइ संसद बैठक चल्न नदिने अडान राखे। नेता दाहालले प्रधानमन्त्री दाहालले आफू व्यवसायी सिंहको प्रयासमा भारतको इसारामा प्रधानमन्त्री बनेको अभिव्यक्ति दिएकाले भारतको इसारामा बनेको प्रधानमन्त्री आफ्नो पार्टीलाई स्वीकार्य नहुने बताभए।
उनले भने, ‘गत १८ गते भारतीय नागरिक प्रीतम सिंहको ८८ औँ जन्मदिनको अवसरमा उनको छोरीले लेखेको पुस्तक विमोचन गर्ने सन्दर्भमा हाम्रो देशका सम्माननीय प्रधानमन्त्रीज्यूको अभिव्यक्तिलाई लिएर अहिले देशव्यापी रुपमा एउटा कौतुहलता जागेको छ। यो हाम्रो देशको प्रधानमन्त्री कसले बनाउँछ? हाम्रो देशको प्रधानमन्त्री कसले नियुक्त गर्छ? कसको इसारामा हुन्छ?’
नेता दाहालले प्रधानमन्त्री दाहाल स्वयम्ले आफू भारतको इसारामा, भारतीय नागरिक सिंहको पहलमा प्रधानमन्त्री भएको अभिव्यक्ति दिनु लज्जाको विषय भएको पनि बताए। एमालेका सांसदहरुले अवरोध गरेपछि राष्ट्रियसभा बैठक अपराह्न ३ बजेर १ मिनेटमा बस्नेगरी स्थगित गरिएको छ।