कुनैबेला भारतीय रिर्जव बैंकबाट भारतीय रुपैयाँको नोट नै ल्याउने नेपालले अहिले खाता ट्रान्सफर गरेर मात्रै भारु लिने गर्छ। भारुको नोट खरिद नगरेको ५ वर्ष पूरा हुँदा पनि कुनै समस्या देखिएको छैन।
नेपालमा भारुको सञ्चिति राम्रो देखिएको छ। अहिले नेपालमा ३ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको भारतीय मुद्रा सञ्चित देखिएको हो।
नेपालले नोट खरिद नगरेपछि नेपाल राष्ट्र बैंकले डलर भुक्तानी गरेर भारुको भुक्तानी भने लिइरहेकोे छ।
पछिल्लो समय नोट नै खरिद छोडेर भैरहेको भारुको एकाउन्टिङ ट्रान्सफरमा समेत कमी आएको छ। गत आर्थिक वर्षको तुलनामा यो वर्ष भारुको भुक्तानी कम लिइएको छ।
गत आर्थिक वर्षको १० महिनामा ३७ अर्ब २० करोड रुपैयाँ बराबरको भारु खरिद गरेकोमा यो वर्ष ३१ अर्ब ५० करोड रुपैयाँ बराबरको भारु खरिद भएको छ।
नेपालको मुख्य व्यापारिक साझेदार मुलुकमा भारतसँग भारतीय रुपैयाँमा समेत कारोबार हुने गरेको छ। त्यसको लागि नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँको जोहो गर्नुपर्छ।
तर भारतीय रुपैयाँ तरलता पर्याप्त छ।
नेपाल राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख नरेश शाक्यका अनुसार कुनै समय भा को जोहो गर्न नेपाल राष्ट्र बैंकलाई कठिन हुने गरेकोमा अहिले त्यो समस्या छैन।
उनी भन्छन्, ‘हामीले डलर तिरेर नोट भारु खरिद गर्ने गरेका थियौँ। त्यो रोकेको ५ वर्ष पुग्यो तर पनि पर्याप्त भारु हामीसँग छ।’
किन बढ्यो भारुको तरलता?
गत आर्थिक वर्षको अन्तिममा अर्थात् गत वर्षको असार मसान्तमा नेपालसँग २ खर्ब ८६ अर्ब रुपैयाँ भारु थियो। त्यो बढेर वैशाख मसान्तसम्ममा ३ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको हो।
यसरी पछिल्लो समय भारुको सञ्चिति बढ्नुका धेरै कारण रहेको मुद्रा व्यवस्थापन विभाग प्रमुख शाक्य बताउँछन्।
‘भारतीय नोटको बन्दी, नेपालमा भारतीयहरु आउने क्रम बढ्नु र उनीहरुले गर्ने खर्चहरुमा समेत वृद्धि हुनुजस्ता कारण हुन सक्छन्,’ उनले भने, ‘तर, आधिकारिक अध्ययन भएर कारण यही हो भन्ने छैन।’
०७३ साल कात्तिक २३ गते भारत सरकारले प्रचलनमा रहेका पाँच सय र एक हजार दरका भारतीय नोट बन्द गर्ने निर्णय गरेको थियो। भारतले अवैध आर्जनको पैसा नियन्त्रणको लागि भन्दै नोटबन्दी गरेको थियो। त्यसपछि नेपालमा भारतीय नोटप्रतिको विश्वास कम भएको छ। त्यसको प्रचलन नै कम भएको छ। त्यसैले कारोबारका क्रममा भारतीय नोटहरु जति आउँछन्, त्यही नै पर्याप्त देखिएको राष्ट्रबैंकको भनाइ छ।
त्यस्तै, नेपाल–भारत सीमा जोडिएको बिहार र उत्तर प्रदेशले मदिरामा कडाइ गरेको छ। त्यसको फाइदा नेपालको सीमावर्ती क्षेत्रको व्यवसायमा समेत देखिएको छ। उनीहरुको व्यवसाय फस्टाउँदा नेपालमा भारु आर्जन बढिरहेको छ।
कोलकातास्थित महावाणिज्यदूत ईश्वरराज पौडेल भने भारुको पर्याप्तता बढ्नुमा व्यापारमा आएको मन्दी हुनसक्ने बताउँछन्।
‘भारतसँग हाम्रो वस्तु आयात जति थियो वा जुन व्यवसायीहरुले वस्तु खरिद गर्दथे, उनीहरुको कारोबारमा कमी आएको हुनसक्छ। त्यसकारणले भारुको खपत कम हुन गई पर्याप्तता बढिरहेको छ,’ उनले भने, ‘पछिल्लो समय जुनसुकै देशसँग पनि अवैध हुण्डीमार्फत कारोबार छ। भारत पनि त्यसबाट अछुतो होला भन्न सकिन्न। त्यसबारे पनि अध्ययन र निणन्त्रण गर्नुपर्ने आवश्यकता छ।’
आर्थिक वर्ष २०७९/८० को दस महिनामा नेपालमा विदेशबाट कुल वस्तु आयात १६.८ प्रतिशतले कमी आई १३ खर्ब ३५ अर्ब ३२ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २८ प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने प्रमुख मुलुक भारतबाट १५ दशमलव १ प्रतिशतले वस्तु आयात घटेको छ।
नेपालमा अहिले कुल विदेशी मुद्राको सञ्चिति कति छ?
२०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले वृद्धि भई २०८० वैशाख मसान्तमा १४ खर्ब ७० अर्ब ३३ करोड रुपैयाँ बराबर पुगेको राष्ट्र बैंकले जनाएको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०८० वैशाख मसान्तमा २४.१ प्रतिशतले वृद्धि भई १३ खर्ब १० अर्ब ६६ करोड पुगेको छ।
बैंक तथा वित्तीय संस्था नेपाल राष्ट्र बैंक बाहेकसँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०८० वैशाख मसान्तमा ० दशमलव २ प्रतिशतले वृद्धि भई १ खर्ब ५९ अर्ब ६८ करोड पुगेको छ। २०८० वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव ६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।