२०७९ माघ २६ बिहीबार

कांग्रेसले गर्ने के ? पछुतो वा पश्चाताप ?

‘खोलो तर्यो, लौरो बिर्सियो’ । नेपाली कांग्रेसका लागि अहिले यो उखान ठ्याक्कै मिलेको छ । जुन लौरो टेकेर खोलो तरेको थियो त्यही टेकोलाई चटक्क बिर्सँदा यसपालि कांग्रेसले जँघार पार गर्न सकेन । गठबन्धनको मर्म लत्याउँदा सरकारका सम्पूर्ण शासकीय जिम्मेवारीबाट कांग्रेस बाहिरिएको छ ।

राजनीतिमा बहुआयाम हुन्छन् । यसमा अडान हुन्छ तर हठ हुँदैन । जुन हठ कांग्रेसले त्यागेन, उसै हठले कांग्रेसलाई जेलिदियो । आरजु राणा कांग्रेसको शीर्ष तहको राजनीति बागडोरमा प्रवेश गर्दा कांग्रेस नेतृत्वमा प्रश्न उठेको थियो । १४औँ महाधिवेशनमा पराजित प्रकाशशरण महतलाई प्रवक्ता बनाएर कांग्रेस नेतृत्व तह झन् भुत्ते बनिरहेको थियो । राणा र महतको प्रसङ्ग उठ्नु कांग्रेसको निजी सवाल मात्र थिएन । यहाँ गठबन्धनको भावना जोडिएको थियो । गठबन्धनमा पाँच दल आबद्ध थिए । यी पाँच दलको कांग्रेसले नेतृत्व गरिरहेको थियो । जब शेरबहादुर देउवाले बैठक आह्वान गर्थे, अनि राणा र महतहरूका काँडाहरूले गठबन्धन दलहरूलाई घोच्थ्यो । बैठकमा जेजे मुद्दा उठान हुन्थे ती मुद्दामा राणा र महत हाबी हुन्थे । यसले सुुरुदेखि नै गठबन्धन दलहरूबीच खल्लो महसुस गराउँथ्यो । भलै गठबन्धनका सुुरुका दिनहरूमा यसका सङ्केतहरू बाहिर आएका थिएनन् ।

गठबन्धनभित्र खेल्ने र यसमा कांग्रेसको मात्र पकड जमाउन स्थानीय चुनावदेखि नै सुुरुवात भएको थियो । जब स्थानीय चुनाव सकियो अनि गठबन्धनको औचित्यमाथि कांग्रेसभित्र बहस सुरु भएको थियो । कांग्रेसको संस्थापन इतरपक्ष त यसै पनि गठबन्धन भत्काउन लागिरहेको थियो । यही कारण देखाएर राणा र महतहरू गठबन्धनका अन्य दलहरूलाई आफ्नो काबुमा राख्न चाहन्थे । यतिसम्म हुन्थ्यो कि गठबन्धनको निर्णय आउनुअघि आरजुले नै शेरबहादुर देउवालाई निष्कर्ष गरेर बैठकमा पठाउँथिन् । शेरबहादुर देउवा पार्टी सभापति र प्रधानमन्त्री भए पनि आरजु र उनको समूहबाट हुने निर्णयलाई मनमा लिएर बैठकमा जान्थे । उनी स्वयं निर्णय गर्ने क्षमता राख्दैनथे । बैठकमा देउवा कम बोल्नु र नयाँ विकल्प नदिनुको खास कारण आरजुको स्कुलिङ भएको उनी निकट नेताहरूले बताउने गरेका छन् । यो दृश्यले गठबन्धन दलहरूलाई हैरानी बनाएको थियो ।

गठबन्धनप्रति कांग्रेस उदासीन 

स्थानीय चुनावमा माओवादी केन्द्रसँग गठबन्धन गरेकोमा केही जिल्लाहरूमा कांग्रेसका कार्यकर्ता उत्तेजित बनिरहेका थिए । कतिपय जिल्लाहरूमा गठबन्धन दलहरूले कांग्रेसका बागी उम्मेदवारका सामना गर्नु पर्यो । यसलाई पनि कांग्रेसले व्यवस्थापन गर्न सकेन । गठबन्धनमा कांग्रेसको एउटा तह सधैँ आक्रमक मात्र बनिरह्यो । ठूलो दल भएको कारण तेर्स्याएर कांग्रेसका नेता तथा कार्यकर्ता गठबन्धन आवस्यक नभएको तर्क गर्थे । यी सबै विवादहरूको हल गर्न कांग्रेस सधैँ उदासीन रह्यो ।

कांग्रेस गठबन्धनप्रति उदासीन भएका केही उदाहरण छन् । यसले पारेका प्रभावहरू दुवै निर्वाचनमा स्पष्ट देखिए । स्थानीय, सङ्घीय तथा प्रदेश चुनावमा प्राप्त भोटलाई केलाएर हेर्ने हो भने यो कुरा प्रमाणित हुन्छ । स्थानीय चुनावको परिणामलाई अर्को कुनै लेखमा बहस गरौँला, अहिले यही आमनिर्वाचनको परिणाम हेर्दा धेरै स्थानमा कांग्रेसबाट गठबन्धनका अन्य दलहरूलाई भोट गएको देखिंदैन ।

समानुपातिकबाहेक प्रत्यक्षका गठबन्धनका उम्मेदवारलाई भोट दिने भनिए पनि यसमा कांग्रेसको मनमौजी मजाले देख्न सकिन्छ । कतिपय क्षेत्रमा त कांग्रेसको भोट गठबन्धन दलहरू बाहिरका उम्मेदवारलाई गएको छ । यस्ता परिणाम आउँदै गर्दा पनि नेतृत्वले समीक्षा गर्न आवश्यक ठानेन । फलस्वरूप सम्पूर्ण चुनावी नतिजा आइसकेपछि गठबन्धनका चार दलहरूमा निकै खिन्नता प्रकट हुँदै गएको थियो । यी  सबै परिणामलाई पनि गठबन्धनका दलहरूले चुपचाप सहेरै बसेका थिए । कांग्रेसले जब सरकार निर्माणको घडीमा आइपुग्दा झन गठबन्धनको बफादार बाहिर गएर जब्बर हठमा परिणत भयो, अनि सुरु भयो राजनीतिको अर्को कोर्स ।

प्रचण्डलाई कांग्रेसले यसरी एमालेतिर धकेलिदियो

आइतबार अर्थात् पुस १० गते २०७९ बिहानसम्म सबै ठिकठाकै थियो । जसोतसो कांग्रेसको नेतृत्वमा गठबन्धन दलहरू जमिरहेका थिए । गठबन्धनका भावनाविपरीत धेरै पटक कांग्रेस चुकिसक्दा पनि अन्य दलहरू मौन नै थिए । गठबन्धन तोड्न नहुनेमा सबैले एउटै मन गरिरहेका थिए । भलै कांग्रेसका धेरै नेताहरू गठबन्धनप्रति बटारिन्थे । तर पनि गठबन्धनलाई निरन्तरता दिनुपर्नेमा चार दलहरू एक थिए । जब सरकार बनाउने सवाल उठ्न थाल्थ्यो तब कांग्रेसका एकथरि नेताहरूको अभिमान चर्को हुँदै गएको थियो । यही अभिमान र सभापति देउवाको अकर्मण्यताका कारण आइतबारको मध्यदिनमा गठबन्धन भत्कियो ।

एउटा भनाइ छ, ‘जब तपाईंको एउटा ढोका बन्द हुन्छ तब अन्य सबै ढोका खुल्ला हुन्छन् ।’ त्यो दिन भयो त्यस्तै । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारले त ढोका बन्द गरिदियो तर उता बालकोटले ढोका उघारिसकेको थियो । प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले अध्यक्ष केपी ओलीले धमाधम अन्य दलहरूलाई सहमतिमा जुटाउँदै थिए । राजनीतिका बहुआयामिक बाटोहरू भनेका यस्तै हुने गर्छन् । ओली र प्रचण्डको मनमुटावलाई जोड्ने काम कांग्रेसले गरिरहेको थियो । दुवैलाई नजिक बनाउन आरजु र प्रकाशशरणहरूले बल लगाइरहेका थिए । सरकार बनाउन बहुमत ओलीले जुटाइरहेका थिए । प्रचण्डले त जसले बहुमत जुटाउँछ उसैको नेतृत्वमा जान तयार थिए । यो स्वाभाविक किन पनि थियो भने कांग्रेस नेतृत्वको गठबन्धनले सहमति र सहकार्यलाई चटक्कै लत्याएको थियो । स्वयं यो कुरा रामचन्द्र पौडेलले बताइरहेका थिए । पौडेलले बालुवाटार बैठकबाट बाहिरिँदै गर्दा भनेका थिए, ‘देउवाले प्रचण्डलाई धोका दिए ।’ भलै पौडेलको राष्ट्रपति बन्ने चाहना लुकेको होला, तर वास्तविकता यही थियो । खासमा शेरबहादुर देउवा अनिर्णायक भूमिका र आरजु–प्रकाशशरणहरूका उल्टापुल्टा भावनाहरू गठबन्धन बैठकमा पोखिँदा यो सब भएको थियो । फलस्वरूप राजनीतिको गठजोड अर्कोतर्फ मोडियो । यो मोड्ने काम कांग्रेसले गरिदियो । प्रचण्डलाई एमालेतिर धकेलिदियो । जब देश नै थर्कनेगरी कांग्रेसले प्रचण्डलाई धकेलेपछि एमाले जुरुक्क उठ्यो । अनि कांग्रेस इतरपक्षका सबै दलहरूलाई बालकोटमा भेला गराइदियो । यसको सम्पूर्ण जड केवल कांग्रेस मात्र थियो ।

कांग्रेसले गर्ने के ? पछुतो वा पश्चाताप ?

गल्ती गरिसकेपछि नसुध्रनेगरी पछुतो मान्ने कि विगतका घटनाक्रमलाई पाठका रूपमा लिएर पश्चाताप गर्ने ? हरेकका लागि यी विकल्प हुन्छन् । पछुतो भनेको नसुध्रने निराशको द्योतक हो भने पश्चाताप भनेको आफैँलाई सुधार गर्ने नजिरजन्य पाठ हो । यसका खास अन्तर छन् । गठबन्धनलाई संयोजकको भूमिका निर्वाह गरेर रामचन्द्र पौडेलले इमानदारिता देखाउन सफल बनेका छन् । माओवादी केन्द्रले उनको यो भूमिकालाई सधैँका लागि सकारात्मक रूपमा लिन सक्नुपर्छ । अन्तिम अवस्थामा पनि पौडेलले प्रचण्डलाई पालोअनुसार प्रधानमन्त्री बनाउन अडान छोडेनन् ।

गठबन्धनमा अझ प्रचण्डले देउवालाई काँध थापेका उदाहरण स्मरणयोग्य छन् । जेठ २४ गते २०७४ मा होस् वा असार २९ गते २०७८ सालमा होस् प्रचण्डको चट्टानी अडानले देउवा प्रधानमन्त्री बन्न सफल भएका थिए । यी दुवै पटक देउवालाई प्रधानमन्त्री बनाउन प्रचण्डको काँध र माधव नेपालको साथ गर्व गर्न लायक थियो । यी दुईजना सारथिलाई अहिले देउवाले मिल्काइदिए । जब आफू प्रधानमन्त्री बन्ने मुख्य आधारका दुई सारथि साथमा रहेनन्, तब देउवा झसङ्ग भए । बिउँझिएपछि देउवाले थाहा पाए, प्रचण्ड र माधव नेपालबिना म त पूरै एक्लो पो रहेछु । त्यसपछि देउवाका प्रयास पूरै असफल बने । अन्ततः उनैको कार्यशैलीले प्रचण्डलाई प्रधानमन्त्रीको पदमा पुर्याइदियो । आखिर, ठूलो दल भएर पनि राज्यका सम्पूर्ण तहमा कांग्रेस बाहिरिएको छ । केन्द्र सरकारदेखि मात्र नभइ, प्रदेश सरकारका प्रमुख र मुख्यमन्त्रीहरू समेत सबै कांग्रेसले गुमाएको छ ।

नेपाली कांग्रेसले ठूलो पार्टी बनेको मात्र सम्झियो तर आफूसँग बहुमत नभएको पूरै बिर्सियो । त्यति मात्र होइन, गठबन्धन छ भन्ने त करबलले सम्झिएझैँ गर्यो तर प्रचण्डकै साथले दुई÷दुई पटक सरकारको नेतृत्व गर्न पाएको भुल्दै गयो । जब बालकोटले प्रचण्डलाई रातो कार्पेट राखेर स्वागत गरिदियो र प्रधानमन्त्री बन्ने पालो दियो तब गठबन्धनको तस्बिर नै बदलियो । हिजोको गठबन्धनमा प्रचण्ड नै निर्णायक तहमा थिए । आजको गठबन्धनमा निर्णायक तहको केन्द्रविन्दुमा उही माओवादी केन्द्र छ । जब कुनै दलले सरकार बनाउने एकल बहुमत ल्याउँदैन, तब तेस्रो ठूलो दल निर्णायक हुन्छ भन्ने नेपाली कांग्रेसले हेक्का नै राखेन । कांग्रेसको यही हठले आज सरकार निर्माणको गठजोड परिवर्तन भएको छ । उता नेपाली कांग्रेस बूढानीलकण्ठ समूह भने चकमन्न सान्नाटामा रुँगिरहेको छ ।  कांग्रेस बूढानीलकण्ठ इतरपक्ष भने स्तब्ध बनेका समाचारहरू बाहिर आएका छन् ! रातोपाटी

२०७९ पुष १४, बिहीबार प्रकाशित 0 Minutes 84 Views

ताजा समाचार