२०८१ मंसिर २५ मंगलवार

प्रादेशिक अस्पतालमा छैन रेबिजविरुद्धको भ्याक्सिन, सेवा बन्द हुँदा बिरामी समस्यामा

भद्रपुर । भद्रपुरस्थित प्रादेशिक अस्पतालमा दुई हप्तादेखि रेबिजविरुद्धको भ्याक्सिन अभाव हुँदा बिरामीहरू भ्याक्सिन नलगाई फर्किन बाध्य भएका छन् ।

कोशी प्रदेश सरकारसँगै रेबिजविरुद्धको भ्याक्सिन अभाव हुँदा अस्पताल प्रशासनले गत जेष्ठ २३ गते नै भ्याक्सिन सेवा बन्द गरिएको भनी सूचना टाँस गरी बिरामीहरूलाई जानकारी गराइसकेको अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिए । अस्पतालमा मासिक ५०० भ्याक्सिन खपत हुन्छ ।

‘१५ दिनदेखि अस्पतालमा भ्याक्सिन छैन,’ सूचना अधिकारी पोखरेलले भने, ‘अस्पतालले कोशी प्रदेश सरकारसँग भ्याक्सिन माग गरेपछि त्यहाँ पनि नरहेको जानकारी आयो ।’ प्रदेश सरकारले खरिद गरेपछि मात्र अस्पताललाई भ्याक्सिन पठाउने र अनि मात्र पुनः सेवा सुचारु हुने उनले बताए ।

संक्रमित कुकुर, अन्य कुनै घरपालुवा तथा जङ्गली जनावरले टोके लगत्तै रेबिज रोगविरुद्धको भ्याक्सिन स्वास्थ्य संस्थामा गएर बिरामीले लगाउनु पर्छ । अहिले जिल्लाकै सबैभन्दा ठुलो सरकारी अस्पतालमा भ्याक्सिन नहुँदा बिरामीहरू समस्यामा परेका छन् ।

रेबिज एक किसिमको भाइरसले लाग्ने रोग हो । यो भाइरस रगत र लिम्फबाट नभई छालामुनिको भित्री तन्तु र मांसपेशी हुँदै परिधीय स्नायु, मेरुदण्ड र अन्त्यमा गिदीसम्म पुग्दछ । गिदीमा सङ्क्रमण भएपछि मात्र विशेष लक्षणहरू देखिन्छन् । यो रोग लागेपछि बिरामीलाई बचाउन गाह्रो हुन्छ । टाइम्स अफ प्रदेशबाट

२०८० असार ५, मंगलवार प्रकाशित 1 Minute 171 Views

ताजा समाचार