२०८१ बैशाख १५ शनिबार

चिया काट्दै इलामका किसान

इलाम । बर्खा मौसममा उत्पादन हुने चियाको उत्पादन बन्द भएको छ । उत्पादन बन्द भएपछि इलामका किसान यतिबेला चिया काट्न व्यस्त छन् ।

वैशाख महिनादेखि उत्पादन सुरु हने चिया मङ्सिर महिनादेखि नै उत्पादन बन्द हुन्छ । यस सिजनमा चियालाई काँटछाँट गर्नुपर्ने हुन्छ । चिया किसानहरू यतिबेला चिया काँटछाँटमा लागेका छन् । किसानले बर्खामा पलाउने झारलाई समेत यही मौसममा फाल्ने गरेका छन् । चियालाई काँटछाँटपछि गोडमेल गर्नुपर्ने हुन्छ ।

आफ्नै ज्ञानअनुसार पुरानै तरिकाबाट चिया काँटछाँट गर्दै आएका किसान पछिल्लो समय प्राविधिक तालिमपछि आधुनिक तरिकाले चिया काट्न थालेका छन् । चिया तथा कफी विकास बोर्डले गएको सालदेखि किसानलाई तालिम दिन सुरु गरेपछि उनीहरूले आधुनिक तरिकाबाट चिया काट्दै आएका छन् । चियाको गुणस्तर र उत्पादन वृद्धिका लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गुणस्तरीय चिया टिपाइसम्बन्धी तालिम दिएपछि किसानहरू चिया खेतीप्रति उत्साहित बन्न थालेका छन् । बीचमा चिया खेतीप्रति चासो घटाएका किसानहरूले पुनः चियाबाट भविष्य खोज्न थालेका छन् ।

बोर्डले समूह निर्माण गरेर प्राविधिकमार्फत चियाको काँटछाँटसहित मौसमअनुसारको काम सिकाउँदै आएको छ । हरियो पत्ती सङ्कलन र उत्पादन गर्ने चिया सहकारीमा आबद्ध किसानलाई समूह बनाएर चिया बगानमै काँटछाँट र गुणस्तरीय टिपाइबारे तालिम दिइएको बोर्डका कार्यकारी निर्देशक विष्णुकुमार भट्टराईले बताए । उनले चियाको कटिङ र गुणस्तरीय टिपाइसम्बन्धी स्थलगतरूपमा नै तालिम दिइएको छ । गएको वर्षदेखि सञ्चालित नेपाली चियाको दीगो निर्यात अभिवृद्धि परियोजनाअन्तर्गत बोर्डले प्रयोगात्मक रूपबाटै चिया किसानलाई गुणस्तरीय टिपाइबारेको तालिम प्रदान गरेको हो । तालिममा चिया रोप्नेदेखि, काँटछाँट, मलजल, टिपाइ, ढुवानी, प्रशोधन, प्याकेजिङलगायत सबै क्षेत्रमा प्रयोगात्मक सीप सिकाउँदै आएको निर्देशक भट्टराईले बताए ।

बोर्डले दुई हजार सात सय ९० जना चिया किसानलाई चिया काँटछाँटबारे तालिम प्रदान गरेको जनाइएको छ । सूर्योदय नगरपालिकाको फिक्कल, देउमाई नगरपालिकाको मङ्गलबारे, इलाम नगरपालिका, शान्तिडाँडा, जस्बिरे, साँखेजुङलगायतमा फिल्डमा पुगेर चिया किसानलाई चियासम्बन्धी ज्ञान प्रदान गरेको हो । नेपाल सरकारले लागू गरेको चियाको लोगो लिएका १७ वटा चिया उद्योगमा हरियो पत्ती प्रदान गर्ने किसानहरूलाई तालिम प्रदान गरिएको जनाइएको छ । पछिल्लो समय नेपालले आफ्नै लोगोमा तेस्रो मुलुकमा चिया निर्यात गरिरहेको छ । पछिल्लो समय मलखादको व्यवस्था, गोडमेल, काँटछाँट जस्ता कामको शैलीमा परिवर्तन भएको छ ।

परम्परागतरूपमा चिया काट्दै आएका किसानहरूले बोर्डले दिएको सीपसँगै प्राविधिक उपकरणको प्रयोगसमेत बढाएका छन् । परम्परागतरूपमा चिया काट्दा जनशक्तिको समेत अभाव हुने भएपछि आधुनिक उपकरणबाट चिया काट्दा समयसमेत कम लाग्ने गरेको छ ।  बोर्डले चियाको बोटदेखि किसानको ओठसम्म चियामा परिवर्तन ल्याउने गरी काम अगाडि बढाएको हो । परियोजनाअन्तर्गत रु १८ करोड विनियोजन भएको छ । परियोजनाले तयारी चियामा गुणस्तर कायम राख्न उपभोक्तादेखि बिक्रेता हुँदै किसानसम्म नै परिवर्तन हुनुपर्ने बताउँदै आएको छ ।

नेपालमा उत्पादन हुने चिया १० प्रतिशत नेपालमा नै खपत हुने तथ्याङ्कमा उल्लेख छ । अन्य करिब २० प्रतिशत तेस्रो मुलुक र बाँकी रकम भारत जाने गरेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार इलाममा आठ हजार आठ सय ७६ किसान चियामा आश्रित छन् । इलामको सात हजार दुई सय ३६ हेक्टर जमिनमा चिया खेती गरिँदै आएको छ । टाइम्स अफ प्रदेश

२०७९ पुष ११, सोमबार प्रकाशित 0 Minutes 385 Views

ताजा समाचार