२०८१ बैशाख १४ शुक्रबार

पार्टीभित्र देउवाविरूद्ध विद्रोह गर्दै गगन-विश्वप्रकाश

झापा । नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच पार्टी रूपान्तरण गर्नेलगायत विषयमा गम्भीर मतभेद देखिएको छ।

महामन्त्रीद्वयसँगै अरू युवा नेताहरू पनि देउवासँग आक्रामक देखिएका मात्र छैनन्, अब पार्टी रूपान्तरणका लागि विद्रोहको आवाज मुखरित नगरी हुन्न भन्ने निष्कर्षमा पुगेका छन्।

सभापति देउवालाई फकाएर, सम्झाएर अब पार्टी रूपान्तरण सम्भव नभएको र त्यसका लागि आक्रामक दबाब जरूरी रहेको उनीहरूको ठम्याइ छ।

महामन्त्रीद्वयसँगै नजिक रहेर काम गरिरहेका काठमाडौं क्षेत्र नम्बर ५ का निर्वाचित सांसद तथा केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी रूपान्तरणका लागि अब ढिलो गर्न नहुने बताए।

‘हामीले पनि पार्टी सुधार्न सकेनौं भने आशा बाँकी रहँदैन,’ पौडेलले भने, ‘अब सभापति देउवालाई सुधार्न सम्भव छैन। आक्रामक भएरै आउन जरूरी छ, दबाब दिन आवश्यक भइसकेको छ।’

गत वैशाख २२ गते धुम्बाराहीमा भएको पदाधिकारी बैठकमा महामन्त्री थापा र शर्माले सभापति देउवाको कार्यशैलीको आक्रामक रूपमा विरोध गरेका थिए।

विधानअनुसार महाधिवेशनको ६ महिनाभित्र गठन गर्नुपर्ने विभाग डेढ वर्ष हुँदा पनि पूर्णता दिन नखोजेको, पार्टी रूपान्तरणबारे कुनै कुरा नै सुन्न नचाहने र गल्तीहरूको समीक्षा गर्न नचाहने प्रवृत्ति देखिएकोमा महामन्त्रीहरूले सभापति देउवाको आलोचना गरेका हुन्।

गत मंसिर ४ को चुनावमा ५ दलसँग तालमेल गर्दा पनि प्रत्यक्षतर्फ जम्मा ५७ सिट जितेको, वैशाख १० को उपनिर्वाचनमा तनहुँ १ गुमेकोले पनि चुनावी समीक्षा गरेर पार्टीलाई गति दिनुपर्नेमा सभापति देउवा त्यसका लागि तयार नभएको र कार्यशैली सुस्त देखिएकोमा महामन्त्रीहरू आक्रोशित छन्।

सरकारमा पठाउने मन्त्रीका बारेमा पनि सभापति देउवाले सल्लाह नगरी एकलौटी अघि बढेको भन्दै महामन्त्री थापाले पदाधिकारी बैठकमै प्रश्न उठाएका थिए।

‘पार्टीले क-कसलाई मन्त्री बनाउने भयो भन्ने कुरा पनि हामीले पत्रपत्रिका, अनलाइनका समाचार पढेर थाहा पाउनुपर्ने हो सभापतिज्यू? तपाईंले हामीहरूसँग सल्लाह गर्नुपर्दैन?,’ थापाका भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘पार्टीभित्र छलफल नै नगरी मन्त्रीको नाम पठाइदिने?’

पार्टी सुधार र रूपान्तरणमा सभापति देउवाको चासो नदेखिएको, विधानअनुसार गर्नुपर्ने कैंयन काम नभएको र संगठन शिथिल भएको भन्दै महामन्त्री थापाले सभापतिको आलोचना गरेका थिए।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापतिले आफ्नो कार्यशैली परिवर्तन नगर्ने भए आफू महामन्त्री रहनुको औचित्य नरहने भएकोले महामन्त्री पदबाट राजीनामा दिएर कार्यकर्ताकाबीच जाने चेतावनी पदाधिकारी बैठकमै दिएका थिए।

‘पार्टी रूपान्तरण गर्ने विषयमा गम्भीर भएर गतिसाथ अघि जानुपर्छ, सुस्त तालले हुँदैन। हाम्रो त काम गर्ने एकखालको ऊर्जा छ, उमेर छ, जोश र जाँगर छ,’ महामन्त्री शर्माले पदाधिकारी बैठकमा देउवालाई भनेका कुराबारे उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘सभापतिज्यूले ढिलाइ गर्नुभयो। जे काम पनि सभापतिकैमा गएर ठोक्किन्छ। सभापति विधानअनुसार नचल्ने, समयमै विभाग र भ्रातृ संस्था नबनाउने अनि अपसज हामी महामन्त्रीले ब्यहोर्नुपर्ने? यस्तो कहिलेसम्म?’

ती पदाधिकारीका अनुसार अरूबेला भन्दा यसपालिको बैठकमा खरो देखिएका महामन्त्री शर्माले ‘कि पार्टीलाई रूपान्तरण गर्न सहमत हुनुपर्‍यो होइन भने म सांसदको जिम्मेवारी सम्हाल्दै महामन्त्रीबाट राजीनामा दिन्छु, आफू अनुकूललाई महामन्त्री बनाउनुस्’ भनेर सभापति देउवालाई भनेका थिए।

महामन्त्रीहरू आक्रोशित भएपछि सभापति देउवाले मिलेर अघि बढ्न आफू तयार रहेको बताए। ‘मन्त्री बनाउनेजस्ता केही निर्णय हतारमा गर्नुपर्दा सबैलाई समेट्न सकिएन, अर्कोपटक समेट्छु,’ देउवाले भने, ‘अब कसरी अघि बढ्ने सल्लाह गरेर जाऔं।’

कांग्रेस विधानअनुसार दुवै महामन्त्री प्रत्यक्ष निर्वाचनबाट आउँछन्, पदाधिकारीमा कोषाध्यक्ष मात्रै मनोनीत गर्ने व्यवस्था छ। तैपनि सभापति देउवाले अहिलेसम्म कोषाध्यक्ष मनोनीत गरेका छैनन्। पार्टीका हरहिसाब देउवाले पनि हेर्दै आएका छन्।

महामन्त्री शर्माले मन्त्री सिफारिसबारे पनि प्रश्न उठाएका थिए।

‘पार्टीभित्र जुन गुटमा लागेकाहरू मन्त्री भए पनि सबै कांग्रेसकै हुन्। तर समुदायको सन्तुलन मिलाउनुपर्छ। मन्त्री पठाउँदा समावेशी सिद्धान्तअनुसार पठाउने निर्णय भएको थियो। के हामीसँग मन्त्री हुने योग्य दलित, मधेशी, थारूलगायत समुदायका साथीहरू थिएनन्? सभापति देउवा र नेता शेखर कोइराला गुटको ‘व्यालेन्स’ गर्दै मन्त्री पठाएर मात्रै पुग्छ?, समुदायको सन्तुलन हुनुपर्दैन?,’ महामन्त्री शर्माले सभापति देउवालाई प्रश्न गरेका थिए।

गत शुक्रबार सभापति देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरूङ, सबै सहमहामन्त्री र मुख्यसचिव कृष्णप्रसाद पौडेल भएको पदाधिकारी बैठकमा महामन्त्रीहरूले सभापतिको कार्यशैलीको आलोचना गरेका थिए।

कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारमा तीन पटक गरी ९ जना मन्त्री पठाएको छ। सभापति देउवाले ६ जना आफू निकटका नेतालाई मन्त्री बनाए भने तीन जना शेखर कोइराला निकटलाई मन्त्री बनाएका छन्। पार्टीबाट मन्त्री सिफारिस गर्नुअघि देउवाले नेता कोइरालासँग पनि कुराकानी गरेका थिए।

उपप्रधान तथा रक्षामन्त्री उपसभापति पूर्णबहादुर खड्का, अर्थमन्त्री प्रकाशशरण महत, सहरी विकास मन्त्री सीता गुरूङ, परराष्ट्र मन्त्री एनपी साउद, उद्योग मन्त्री रमेश रिजाल, स्वास्थ्य मन्त्री मोहन बस्नेत सभापति देउवानिकट हुन्।

कानून मन्त्री धनराज गुरूङ, युवा मन्त्री डिगबहादुर लिम्बु र महिला तथा बालबालिका मन्त्री सुरेन्द्रराज आचार्य संस्थापनइतरका हुन्। गुरूङले १४ औं महाधिवेशनमा कोइराला समूहबाट उपसभापति जितेका थिए। लिम्बु मोरङ कांग्रेस सभापति पनि हुन्। कपिलबस्तुबाट चुनाव जितेका आचार्य भने राष्ट्रपति रामचन्द्र पौडेलनिकट मानिन्छन्।

यतिधेरै मन्त्री बनाउँदा पनि सभापति देउवाले महामन्त्रीहरूसँग छलफल नगरेको आरोप छ।

महामन्त्रीहरू थापा र शर्माले आफूहरू मन्त्री नबन्ने घोषणा नै गरेका थिए। तर उनीहरूले ‘पार्टीभित्रको शक्ति सन्तुलन मिलाउनुपर्ने र सबै कलष्टरको प्रतिनिधित्व गराएर समावेशी टिम पठाउनु पर्ने’ अडान राखेका थिए। दलित, मधेशी, थारू र पिछडिएका क्षेत्रको प्रतिनिधित्व गराउनुपर्ने उनीहरूको अडान थियो।

महामन्त्रीहरू थापा र शर्माले सहमहामन्त्रीहरू जीवन परियार र बद्री पाण्डे, केन्द्रीय सदस्य प्रदीप पौडेल लगायतलाई मन्त्री बनाउन सभापति देउवासँग आग्रह गरे पनि सभापतिले यसको सुनुवाइ गरेनन्। यीमध्ये पौडेल १४ औं महाधिवेशनमा देउवा समूहबाट महामन्त्री उठेर पराजित भएका थिए।

महामन्त्रीहरू थापा र शर्मा स्थानीय, प्रदेश र प्रतिनिधि सभा चुनावका बेला अरू दलसँग तालमेल गर्ने निर्णयदेखि नै सभापति देउवासँग असन्तुष्ट थिए। चुनावमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, राष्ट्रिय जनमोर्चा र लोसपालगायत दलसँग तालमेल गर्न नहुने र एक्लै चुनाव लड्नुपर्ने उनीहरूको राय थियो। तर पार्टीले केन्द्रीय समितिबाट निर्णय गरेर तालमेलमा गएकोले उनीहरूले सार्वजनिक रूपमा भने तालमेलको विरोध गरेका थिएनन्।

कांग्रेसभित्र उकुसमुकसको स्थिति रहे पनि पछिल्लो समय पार्टी भित्रका आन्तरिक विषय खासै बाहिर आएका थिएनन्। समग्र विषयमा असन्तुष्ट देखिएका महामन्त्री थापाले आइतबार फेसबुक र ट्वीटमा ‘अब त अति भयो’ भन्दै केही विषय उठान गरेका छन्, जसले कांग्रेसभित्र र बाहिर पनि तरङ्ग ल्याएको छ।

‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्दती, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्। धेरै पटक लाग्यो प्रतिरोध गरूँ तर हरेक पटक सोचेँ- म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ,’ महामन्त्री थापाले भनेका छन्, ‘त्यसैले मौन रहेँ। कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडेँ, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो।’

थापाले यस्तो विषय सार्वजनिक गरेपछि कांग्रेसभित्र विद्रोह हुन लागेको आकलनसमेत गरिएका छन्।

महामन्त्री थापामा केही आक्रोश र निराशा देखिएको कांग्रेसका एक नेता बताउँछन्।

‘गगनजीमा केही आक्रोश र निराशा देखिन्छ। निराशा किन देखियो होला भने- उहाँहरूले सभापति देउवालाई समस्या बुझाउन र समाधान गर्न निरन्तर आग्रह गर्दै आउनुभयो, सभापतिलाई रिझाएर यी काम गर्नुपर्छ भन्नेमा उहाँहरू लाग्नुभयो,’ ती नेताले भने, ‘गगनभन्दा पनि विश्वप्रकाश झगडा गरेरभन्दा सभापति देउवालाई सम्झाएरै अघि बढ्नमा केन्द्रित रहनुभयो। तर जति भने पनि सभापतिलाई सम्झाउन सक्नुभएन, सुधार गर्न सक्नुभएन।’

महामन्त्रीद्वयले राखेका कुरा सभापति देउवाले सुनेझैं गरे पनि कार्यशैली सुधार नगर्दा समस्या देखिएको उनको भनाइ छ।

‘सभापतिजीले कहिलेकाहीँ महामन्त्रीहरूलाई साथमा लिएकोजस्तो, जिम्मेवारी दिन खोजेजस्तो पनि देखियो। त्यसमा उहाँहरू फकिनुभयो,’ ती नेताले भने, ‘सभापतिले केही दिनुहुन्छ कि भनेर महामन्त्रीहरूले पनि गुट बनाउन र आफ्ना मानिस संरक्षण गर्न खोज्दा उहाँहरूको कार्यशैली पनि देउवाकैभन्दा फरक हुन्न कि भनेर पार्टीभित्रैबाट आलोचना हुन थाल्यो।’

गगन र विश्वप्रकाशको छवि सुधारवादी र जनतामा ‘पपुलर’समेत रहेकोले सभापति देउवासँग मिलेर काम गर्न खोज्दा आफ्नै लोकप्रियता खस्केको उनको तर्क छ।

‘सभापतिसँग मिलेर काम गर्दा सुधारवादी छवि पनि खस्कियो, सभापतिलाई पनि सच्याउन उहाँहरू असफल हुनुभयो,’ ती नेताले भने, ‘पार्टी पनि क्रमश: कमजोर हुँदै गइरहेको छ, यसको जिम्मा कसले लिने? निश्चय नै सभापतिले लिनुपर्छ। सभापति देउवाले कांग्रेस सुधार्छन् भन्ने कसैले मानेकै छैन। महामन्त्रीहरूले कायापलट गर्छन् भन्ने अपेक्षा थियो तर सभापति र पार्टीलाई सुधार्नेभन्दा पनि नेता/कार्यकर्ताका नजरमा आफैँ बदलिएको जस्तो देखिँदै गएपछि महामन्त्रीहरू झसङ्ग हुनुभएको हो।’

कांग्रेसमा भइरहेका निर्णयहरूमा महामन्त्रीहरू थापा र शर्माले अपनवत्व लिने परिस्थिति बनेको छैन। किनभने निर्णय प्रक्रियामा सभापति देउवाले महामन्त्रीहरूसँग प्राय: राय लिने गरेका छैनन्।

‘महामन्त्री भएकोले पार्टीका सबै गतिविधि जिम्मेवारी लिन्न भन्न पनि नमिल्ने र जिम्मेवारी लिन्छु भन्दा निर्णय र आफ्नो विवेकले काम गर्न पनि नपाइने अवस्थामा उहाँहरू हुनुहुन्छ,’ ती नेताले भने।

२०७८ मंसिरमा भएको १४ औं महाधिवेशन जितेपछि सभापति देउवाले ‘म गुटको मात्र होइन, सबैको सभापति हुँ, अभिभावकीय भूमिका खेल्छु’ भन्ने प्रतिवद्धता जनाएका थिए।

तर उनले शेखर कोइराला पक्षबाट उपसभापति र महामन्त्री उठेकाहरूलाई नै केन्द्रीय सदस्य मनोनीत गरेका थिएनन्। गत शुक्रबार देउवाले मिनेन्द्र रिजाललाई केन्द्रीय सदस्य मनोनीत गरेका छन्, विधानअनुसार देउवाले अझै १९ केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ।

‘अरू दलसँग चुनावी तालमेल गर्न हुन्न भन्ने कुरा सभापति देउवाले सुन्नु भएन, किनभने सत्तामा रहिरहन पार्टीलाई क्षति हुने गरी गठबन्धन गर्ने निर्णय गरिदिनुभयो,’ ती नेताले भने, ‘टिकट वितरण पनि न्यायोचित भएन। राष्ट्रिय मुद्दाहरूमा अडान लिने, सुशासन दिनेजस्ता विषय महामन्त्रीहरूले चाहेजस्तो गरी सभापति देउवाले अगाडि बढाउन चाहेको देखिएन।’

महामन्त्रीका रूपमा पार्टीमा बसेर सुधार पनि गर्न नसकिने र सभापति देउवालाई ‘करेक्सन’ गर्न नसक्ने परिस्थितिमा शर्माले राजीनामा दिने र थापाले अति भयो भन्ने कुरा सार्वजनिक भएको ती नेताको भनाइ छ।

‘महामन्त्रीहरूले अब विद्रोह आवश्यक भइसक्यो भन्ने संकेत दिनुभएको हो। सभापतिलाई सम्झाएरभन्दा पनि सभापतिसँगै विद्रोहका लागि उहाँहरू तयार देखिनुभयो। उपनिर्वाचनबाट पार्टीलाई ठूलो क्षति पुगेको, मन्त्री पठाउँदा छलफल पनि नगरेको, पार्टीमा निर्मम ढंगले समीक्षा गरेर जानुपर्ने बेला रूपान्तरणका केही कुरा सुन्न पनि देउवा तयार नहुने देखिएपछि महामन्त्रीहरू आक्रोशित हुनु स्वभाविक छ,’ ती नेता भन्छन्।

महामन्त्रीहरूले अब कसरी अगाडि बढ्ने भन्नेबारे पार्टीभित्र छलफल चलाउनुपर्ने उनले बताए।

संसदीय दलको चुनावका बेला गत पुस ६ मा देउवासँग प्रतिस्पर्धामा महामन्त्री गगन थापा उत्रिए पनि पराजित भएका थिए। शेखर कोइराला पक्षकै भनिएका सांसदहरूले पनि त्यसबेला थापालाई मत दिएनन्। तर कांग्रेस रूपान्तरणको एजेन्डासहित अघि बढेका थापालाई महामन्त्री शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेलले साथ दिएका थिए।

मन्त्री बनाउने विषयमा गत चैत १७ मा सभापति देउवासँग असन्तुष्ट देखिएका शेखर कोइराला पनि संस्थापनइतरलाई तीन मन्त्री दिने सहमति गर्दै एक महिनापछि सभापति देउवासँगै मिलेको महामन्त्री थापा-शर्मा निकट रहेकाहरू दाबी गर्छन्।

महामन्त्रीहरूले पार्टीका नेता तथा कार्यकर्ताहरूसँग छलफल गरेर पार्टी रूपान्तरणका लागि कदम चाल्ने तयारी गरेका छन्।

महामन्त्रीहरूले पनि पार्टी रूपान्तरण अभियानमा ढिलाइ गरेको भन्दै कतिपय युवा नेताहरूले भने देशव्यापी भेला बोलाइसकेका छन्। जेठ महिनामा ७ वटै प्रदेशमा भेला गर्ने निर्णय भएको नेता भूपेन्द्रजंग शाहीले बताए।

‘पार्टीमा आमुल परिवर्तन र रूपान्तरण गर्न देशव्यापी अभियान चलाउने निर्णय भएको छ। सातै प्रदेशमा भेला गरेर नेता तथा कार्यकर्ता र जनतासँग पनि छलफल गर्छौं,’ शाहीले भने।

भेला संयोजन गर्न कोशीमा गुरूराज घिमिरे, मधेशमा रञ्जित कर्ण, बागमतीमा केन्द्रीय सदस्य मधु आचार्य, गण्डकीमा देवराज चालिसे, लुम्बिनीमा केन्द्रीय सदस्य गोविन्दराज पोखरेल, कर्णालीमा भूपेन्द्रजंग शाही र सुदूरपश्चिममा भरत खड्कालाई जिम्मेवारी दिइएको छ।

‘सभापति देउवाको कार्यशैलीसँग असन्तुष्ट महामन्त्रीहरू पनि अब पार्टी रूपान्तरणकै अभियानमा हामीसँगै आइपुग्नुभएको छ,’ प्रदेश भेला संयोजन गर्ने जिम्मेवारी पाएका एक संयोजकले भने, ‘अब पार्टी रूपान्तरण गरेरै छाड्छौं।’

८ लाख ४२ हजार क्रियाशील सदस्य रहेको कांग्रेसको संगठन केही समयदेखि निस्कृयजस्तै छ। सेतोपाटीबाट

२०८० बैशाख २५, सोमबार प्रकाशित 1 Minute 140 Views

ताजा समाचार