२०८१ बैशाख १३ बिहीबार

देउवाको कार्यशैलीप्रति महामन्त्रीद्वय असन्तुष्ट

उपनिर्वाचनको हारले नेता–कार्यकर्तामा पारेको मनोवैज्ञानिक असरमा मलमपट्टी लगाउनुको साटो नेतृत्वले एकपछि अर्को गल्ती दोहोर्‍याइरहेको आरोप

काठमाडौँ  । कांग्रेस सभापति शेरबहादुर देउवाले मन्त्रीहरूको सिफारिसमा न्याय गर्न नसकेको तथा समावेशी सिद्धान्त र जनमतलाई उपेक्षा गरेको भन्दै पार्टीभित्र असन्तुिष्ट बढेको छ । तनहुँ–१ को उपनिर्वाचनमा भएको हारले नेता–कार्यकर्तामा पारेको मनोवैज्ञानिक असरलाई मलमपट्टी लगाउनुको साटो नेतृत्वले एकपछि अर्को गल्ती दोहोर्‍याइरहेको नेताहरूले गुनासो गरेका छन् ।

केन्द्रीय पदाधिकारीको बिहीबार भएको बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले बाहिर छलफल गरेजस्तो देखाएर निर्णय एकलौटी रूपमा लिएको भन्दै देउवाप्रति आक्रोश पोखेका थिए । बैठकमा सहभागी एक नेताका अनुसार नेतृत्वले बारम्बार गरेका गल्तीको भारी आफूहरूले किन बोक्ने भन्दै थापाले सभापति देउवालाई राम्रो काम गरेर देखाउन चेतावनी दिएका थिए ।

‘एक–डेढ वर्षदेखि तपाईंले पार्टीका सबै निर्णय एकलौटी रूपमा गर्नुभयो । हामीलाई पेल्दै जानुभयो । नेविसंघ, तरुण दल, महिला संघ बनाउँदा, केन्द्रीय समितिलाई पूर्णता दिँदा, राष्ट्रिय सभा बनाउँदा एक्लै निर्णय लिनुभयो । सबै निर्णय एक्लै गर्ने, दिनरात पदाधिकारी बैठक राखेर सल्लाहबाटै भएको हो भनेर भ्रम दिन खोज्ने ?’ थापाको भनाइ उद्धृत गर्दै ती नेताले भने ।

महामन्त्री थापा र शर्माले जनअपेक्षा, समावेशी र आन्तरिक शक्ति सन्तुलनलाई समेत हेरेर दलितबाट सहमहामन्त्री जीवन परियार, पिछडिएको क्षेत्रबाट अर्का सहमहामन्त्री बद्री पाण्डे र राजधानीबाट प्रतिनिधित्व गर्ने प्रदीप पौडेलमध्येबाट कोही न कोही मन्त्री हुनुपर्ने भन्दै दबाब दिँदै आएका थिए । तर, देउवाले अरूलाई नै मन्त्री बनाएपछि दुवै महामन्त्रीले बैठकमा आक्रोश व्यक्त गरेका हुन् । देउवाले छोटो समय नभएकाले सरसल्लाह गर्न नपाएको भनेर थामथुम पार्ने प्रयास गरेका थिए । ‘तपार्इंहरूलाई भित्री कारण थाहा छैन, फेरि पालो आउँछ, त्यतिबेला सल्लाह गरेर मन्त्री बनाउँछु,’ देउवाको भनाइ थियो ।

पार्टीका विभाग र भ्रातृ संस्था गठनका सम्बन्धमा छलफल गर्न बिहीबार बोलाइएको पदाधिकारी बैठक मन्त्री छनोटका विषयमा केन्द्रित बनेको थियो । मन्त्री छनोटमा समावेशी अवधारणा कहिल्यै नअपनाइएको भन्दै बैठकमा सहमहामन्त्री जीवन परियारले असन्तुष्टि पोखे । उनले भनेका थिए, ‘मधेशी, दलित, थारू, मुस्लिम, पिछडिएको क्षेत्रबाट मन्त्री नबनाइँदा कांग्रेसप्रति आकर्षण कसरी बढ्छ ?’ कांग्रेसका ८ मन्त्रीमध्ये ५ खस आर्य र ३ जनजाति छन् ।

कांग्रेसका मन्त्रीमध्ये धनराज गुरुङ र डिकबहादुर लिम्बू मात्रै संस्थापनइतर पक्षका हुन् भने अरू सबै मन्त्री संस्थापनपक्षीय हुन् । गुरुङले स्वास्थ्य मन्त्रालय खोजेका थिए । तर, देउवा पत्नी आरजु राणाले मोहनबहादुर बस्नेतलाई नै स्वास्थ्य मन्त्रालय दिनुपर्ने दबाब धेरै अघिदेखि दिँदै आएकी थिइन् । संस्थापनका ६ मन्त्रीमध्ये रमेश रिजाल मात्र नयाँ हुन् । इतर पक्षका गुरुङ र लिम्बू दुवै पहिलो पटक मन्त्री बनेका हुन् । कांग्रेसका तर्फबाट थप ३ मन्त्री सिफारिस गर्दा महामन्त्रीद्वय थापा र शर्मा बेखबर थिए । संस्थापनपक्षीय एक नेताका अनुसार शेखर कोइरालासँग मंगलबार भएको भेटवार्तापछि देउवाले नाम दिएका हुन् ।

२०८० बैशाख २२, शुक्रबार प्रकाशित 0 Minutes 162 Views

ताजा समाचार