२०८१ बैशाख ७ शुक्रबार

आन्दोलनमा मृत्यु भएका लिम्बूको शव यात्रामा झडप, १२ जना घाइते

८१ सेल अश्रुग्यास प्रहार

मोरङ — कोशी प्रदेश नामकरण विरूद्धको आन्दोलनका क्रममा मृत्यु भएका पदमबहादुर लिम्बूको शव यात्रामा शनिबार विराटनगरमा झडप भएको छ । झडपमा ६ जना सुरक्षाकर्मी र ६ प्रदर्शनकारी घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले ८१ सेल अश्रुग्यास प्रहार गरेको छ ।

प्रदर्शनकारीले रोडशेष चोकबाट दक्षिण तर्फको निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको र स्थिति नियन्त्रणमा लिन ८१ सेल अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले बताए । उनका अनुसार ३ नेपाल प्रहरी, ३ सशस्त्र प्रहरी र ६ जना आन्दोलरत पक्षका सामान्य घाइते भएका छन् ।

गत चैत ५ गते विराटनगरमा भएको पहिचान पक्षधरको आन्दोलनका क्रममा घाइते लिम्बूको चैत १० गते उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

आन्दोलनरत पक्षले सहिद घोषणाको माग गर्दै शव बुझ्न नमानेपछि संघ सरकारले २४ गते चैतमा लिम्बूलाई सहिद घोषणा गरेको थियो । मृत्युको २९ दिनपछि शनिबार अन्तिम संस्कारका लागि धरान र इटहरी हुँदै श्रदाञ्जलीका लागि शव विराटनगर ल्याइएको थियो ।

गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम बहुमतका आधारमा कोशी राखेपछि पहिचान पक्षधर दल र संस्था प्रदेश नम्बर १ पुन: नामांकन संघर्ष समिति गठन गरी आन्दोलनरत छन् ।

 

२०८० बैशाख ९, शनिबार प्रकाशित 1 Minute 191 Views

ताजा समाचार