२०८१ कार्तिक २० मंगलवार

५३औँ पृथ्वी दिवस : मानव जातिबाट पृथ्वीमाथि अत्याचार

प्रत्येक वर्षझैँ यस वर्ष पनि आजको दिन अप्रिल २२ लाई विश्वभरका १९३ राष्ट्र र करिब एक अरब मानिसले ‘हाम्रो ग्रहमा लगानी गर्नुस्’ (Invest in our planet) नाराका साथ विभिन्न कार्यक्रम गरी स्कुल कलेजका विद्यार्थी, युवादेखि वृद्ध; वातावरण, प्राकृतिक र वन्यजन्तु प्रेमी; बुद्धिजीवी, समाजसेवा, सङ्घ सङ्गठन, वैज्ञानिक; नेता, कार्यकर्ता, सरकार र राष्ट्रहरूले धूमधामका साथ पृथ्वी दिवस मनाइरहेका छन् ।

पहिलो पृथ्वी दिवसको सुरुवात १९७० अप्रिल २२ मा अमेरिकाको लस एन्जलसबाट भएको थियो, जसमा करिब दुई करोड अमेरिकनहरूले पृथ्वीलाई प्रदूषण र वनविनाशबाट बचाऔँ भन्दै सुरुवात गरिएको थियो ।

पृथ्वी ग्रह अन्य ग्रहभन्दा उत्कृष्ट ग्रह मानिन्छ भने मानव जीवनलाई सृष्टिको उत्कृष्ट जीवन ठानिन्छ । सृष्टिको उत्कृष्ट जीव बस्ने ठाउँ यो पृथ्वी अति राम्रो, सुन्दर, प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । वनजङ्गल, पशुपन्छी, खोलानाला, ताल समुद्र, तराई, पहाड, हिमाल र विभिन्न ऋतुबाट सुसज्जित हाम्रो पृथ्वी साँच्चै नै मानवका लागि स्वर्ग नै बनाइदिइएको जस्तो देखिन्छ । त्यति मात्र होइन जीवन चलाउन, अन्नको भण्डार, इन्धन पानीले भरिपूर्ण गरिदिएको छ । प्राकृतिक स्रोतको आशीर्वादले केही राष्ट्रहरू धनी र शक्तिवान बनेका छन् भने केही राष्ट्रलाई प्राकृतिक सौन्दर्यले विश्व प्रख्यात बनाइदिएको छ ।

प्रत्येक मानव जातिले पृथ्वीलाई आफ्नै घरजसरी माया, प्रेम र संरक्षण गरिनुपर्नेमा मानव जातिको सृष्टि देखिने बाच्नका लागि आवश्यकता, विकास, समृद्धि र आविष्कारको होडबाजी, सुविधाहरूको स्तरोन्नति, देशबीचको आणविक प्रतिस्पर्धाले प्राकृतिक नियमविरुद्धका कार्यमार्फत पृथ्वीमाथि चरम शोषण, दोहन, अत्याचार भइरहेको छ ।

जङ्गल युग, सिकार युग, कृषि युग, औद्योगिक क्रान्ति र आणविक युगको नाममा मानव जातिले प्राकृतिक सम्पदामाथि वितण्डा मच्चाउँदै आएका छन् । हाम्रा पुर्खाहरूले हजारौँ वर्षदेखि विभिन्न तवरले बाँच्नको लागि जङ्गलको विनाश र वन्यजन्तुहरूको सिकार सुरु गरे । कृषियुगका नाममा खेतीका लागि जङ्गल फडानी हुँदा पृथ्वीको तापक्रममा परिवर्तन आउन थाल्यो । औद्योगिक क्रान्तिका नाममा उद्योग सञ्चालनका लागि प्राकृतिक स्रोत र खनिज पदार्थको दोहन हुन थाल्यो । आणविक युगका नाममा आणविक हातहतियार बनाउन प्राकृतिक स्रोतको अझ बढी खोजतलास र दोहन हुन थाल्यो ।

विकास र समृद्धिका नाममा प्राकृतिक स्रोतको अत्यधिक प्रयोगले मानवीय विलासिताका सामान उत्पादन हुन थाले । त्यसैगरी मानव जातिको विलासी जीवनका लागि इन्धन र ग्यासहरू निकाल्न थालियो र तिनको अत्यधिक प्रयोगले पृथ्वीमा कार्बनडाइअक्साइडको मात्रा बढ्न थालेपछि पृथ्वीको तापक्रम पनि बढ्न थाल्यो । पछि आएर विस्तारै मानव जातिका यी क्रियाकलाप विनाशकारी यात्रातिर हिँडिराखेको महसुस विश्व समुदायलाई हुन थालेपछि पृथ्वी बचाऔँ अभियान सुरु हुन थाल्यो । यो अभियानलाई सफल बनाउन विश्व वातावरण दिवस 5 June), विश्व जङ्गल दिवस (2 March) विश्वसमुन्द्र दिवस (8 June), विश्व पानी दिवस (22 March), विश्व जनसङ्ख्या दिवस (5 June) र विश्व खाद्य दिवस (16 October) मनाउन थालिएको छ ।

मानवहरूले विज्ञानसम्बन्धी केही ज्ञान हासिल गर्दैमा वा कुनै नयाँ आविष्कार गर्दैमा सृष्टि र पृथ्वीभन्दा माथि नठानौँ । मानव जातिले गरेको भनिने विकास, उन्नति, प्रगति, आविष्कार र चमत्कारलाई प्राकृतिक स्रोत साधनको प्रयोगबाट अलग गरिदिने हो भने त्यसको कुनै अस्तित्व नै रहँदैन ।

कस्तो विडम्बना, एउटा तथ्याङ्कले पृथ्वीमा भएको पानीबाहेक वनस्पति, जीवन भएका प्राणी र जीवाणुको सङ्ख्या ९९.९९ प्रतिशत छ भने मानव जाति ०.०१ प्रतिशत मात्र छन् । यति थोरै नगण्य मात्राको, मानव जाति जसलाई सृष्टिले सोच्न सक्ने, बोल्न सक्ने र बुद्धि भएको एक मात्र प्राणी बनाई दिएको छ, उसले आफू र आफ्ना परिवार बाँच्नको लागि मात्र पृथ्वी र यहाँ भएका अन्य जीवमाथि धेरै अन्याय गरिराखेका छन् । अर्को एउटा तथ्याङ्क हेरौँ, पृथ्वीले थामिराखेको मानिसको जनसङ्ख्या अठारौँ शताब्दीबाट बीसौँ शताब्दीसम्म पुग्दा एक अर्बबाट ६ अर्ब पुगेको छ । दोस्रो विश्व युद्धमा दुई अर्ब रहेको विश्व जनसङ्ख्या आज साढे सात अर्ब पुगेको छ । यसैबाट थाहा हुन्छ पृथ्वीमाथि के भइरहेको छ । सर्वशक्तिवान् बन्ने, पृथ्वीको भूमिमाथि आधिपत्य जमाउने र समुद्री क्षेत्रलाई नियन्त्रणमा लिने होडबाजीको लडाइँमा मानवहरू लड्दा–लड्दै समाप्त हुन गइरहेको देखिन्छ । अर्कोतिर पृथ्वीमाथि भइरहेको चरम अत्याचारको नतिजा, दिल्ली र काठमाडौँको प्रदूषण उदाहरण बन्न सक्छ । दिउँसै सडकमा बत्ती बाल्नुपर्ने अप्राकृतिक दिन आउँदै छ ।

मानव जातिले पृथ्वीमाथि मच्चाएको आतङ्कबाट बेलाबेलामा बाढी पहिरो, आँधीबेहरी, समुद्री छाल (टाइफुन), ज्वालामुखी, भूकम्प, महामारी रोग र कहिल्यै नसकिने युद्ध आदिको रूपमा पृथ्वीको असन्तुष्टि प्रकट भइराखेको छ । एउटै कोभिडले विश्वलाई तहस, नहस पारेको उदाहरण हामीसँग ताजा नै छ ।

पृथ्वीमाथिको अत्याचारका उदाहरण भनेको नै मानव जीवनले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सामना गरिराखेका समस्या हुन् । यसलाई मानवबाट सिर्जित ‘आधुनिक समाजको उपेक्षित रोगहरू’ (Neglected disease of Modern Society)  हुनुभन्दा फरक पर्दैन होला । यी समस्यालाई पूरै निर्मूल पार्न सक्ने स्थिति देखिँदैन तर कम भने गर्न सकिन्छ र प्रयास गर्नुपर्छ । तर कसले गर्ने ? विश्वका शक्तिशाली राष्ट्र र नेताहरूले, धर्मगुरुले, वैज्ञानिक समाजले, सामाजिक सङ्घ संस्थाले, समाजसेवी वा बुद्धिजीवीहरूले ? अब यस भयावह स्थितिको परिवर्तन कुनै एउटा राष्ट्र, नेता, धर्मगुरु वा सङ्घसंस्थाबाट मात्र सम्भव देखिँदैन ।

धूमपान सुर्तीजन्य वस्तुको प्रयोग नगर्ने, पृथ्वी सुन्दर राख्न जथाभावी थुक्ने र दिसापिसाब गर्ने बानी हटाऔँ, चुरोटबिँडीका ठुटा, चकलेटका खोल, बदामका बोक्रा, पानपरागका खोल, मकैका खोया, चुइगम, केराको बोक्रा र प्लास्टिकका बोतल जथाभाबी नफालौँ । जथाभाबी फालेको देखिएमा वा भेटिएमा लाज, सङ्कोच, अप्ठ्यारो नमानी उचित स्थानमा व्यवस्थापन गरौँ ।

भनिन्छ, तिमी संसार परिवर्तन गर्नेतिर नलाग, पहिले आफूm परिवर्तन हौ, संसार आफैँ परिवर्तन हुन्छ । त्यसैले पृथ्वीमाथि आइरहेको समस्या समाधानका लागि कसैसँग हात नजोडौँ, पहिले आफू परिवर्तन हौँ । कृष्ण भगवानले भन्नुभएको छ मानव नै माधव (भगवान) हो, मानव नै दानव हो । साइ बाबाले एउटा भक्तको ‘बाबा हजुर भगवान हो ?’ भन्ने प्रश्नमा उत्तर दिनुभएको थियो, ‘तिमी पनि भगवान, म पनि भगवान, फरक यति मात्र हो, तिमी भगवान हो भन्ने ज्ञान मलाई छ तर तिमीलाई छैन ।’ त्यसैले प्रत्येक मानवले आफूmलाई भगवानका रूप ठानेर भावी सन्ततिका लागि पृथ्वी बचाउन  आआफ्नो ठाउँबाट पहल गरौँ ।

घर वरिपरि रुखबिरुवा रोपौँ; वनजङ्गलको सरंक्षण गरौँ, जीवजन्तु, पशुपन्छीको संरक्षण गरौँ; शाकाहारी बन्दै जाऔँ; इन्धन, ग्यास, पानी, बिजुली बचाऔँ र त्यसरी संरक्षण गरौँ । प्रदूषण बढाउने सामानहरूको प्रयोग घटाऔँ, प्लास्टिक झोला, बोतलको प्रयोग नगरौँ । पुनः प्रयोगमा आउने सामानको प्रयोग बढाऔैँ । जस्तै सामान बोक्ने कपडाको झोला; पुन प्रयोग गर्ने पानीको बोतल, सेनेटरी प्याडको सट्टा सफा कपडा । घरभित्र प्रयोग भएका पुराना लुगाको अधिकतम प्रयोग गरौँ, प्रयोगमा आएका लुगा सामानहरू किनी पुनः प्रयोग गर्ने, विद्युतीय सामान नयाँ लिनुभन्दा मर्मत गरी प्रयोगमा ल्याउन सङ्कोच नमानौँ ।

स्थानीय किसानको उत्पादनको अधिकतम प्रयोग गरौँ । तरकारीबारी र खेतमा कीटनाशक रासायनिक पदार्थको प्रयाग नगरौँ, स्वास्थ्य खाना बनाऔँ र खाऔँ । भान्साबाट निस्केका फोहोरहरूलाई घरभित्रै समाधान गरौँ । बाँकी फोहरलाई उचित तोकेका ठाउँमा व्यवस्थापन गरौँ । अफिस र घरमा कागजहरूको प्रयोग कम गरौँ । छोटो दूरीको अफिसको यात्रा, ससाना काम, साथीभाइ, इष्टमित्र भेट्न जाँदा पैदल जाऔँ वा साइकलको प्रयोग गरौँ ।

सकेसम्म धूम्रपान सुर्तीजन्य वस्तुको प्रयोग नगर्ने, पृथ्वी सुन्दर राख्न जथाभाबी थुक्ने र दिसा पिसाब गर्ने बानी हटाऔँ, चुरोटबिँडीका ठुटा, चकलेटका खोल, बदामका बोक्रा, पानपरागका खोल, मकैका खोया, चुइगम, केराको बोक्रा र प्लास्टिकका बोतल जथाभाबी नफालौँ । जथाभाबी फालेको देखिएमा वा भेटिएमा लाज, सङ्कोच, अप्ठ्यारो नमानी उचित स्थानमा व्यवस्थापन गरौँ ।

मृत शरीरलाई जङ्गल विनाश गरी दाउराले जलाएर वायु र नदी प्रदूषण गराई मुक्ति मिल्छ भन्ने सोच परिवर्तन गरी विद्युतीय शवगृहको प्रयोग गरौँ । अनन्तकालदेखि हामीले सुखमय जीवन र लामो आयु मन्दिरमा पूजा–पाठ बलि र यज्ञमा प्राकृतिक स्रोतहरूको प्रयोग, भेटी चढाई प्राप्त हुन्छ भन्ने विश्वास राख्दै आइरहेका छौँ । हाल मानव जातिको सङ्ख्याको अत्यधिक वृद्धिले जीवनयापन चलाउन कठिन भइरहेको अवस्थामा, अब मानव सेवाबाट नै माधव सेवा प्राप्त गरौँ । पृथ्वी र जीवनको महत्त्वबारे धर्मगुरु, आध्यात्मिक गुरु र विद्वानहरूको प्रवचन सुनौँ र जीवनमा परिवर्तन ल्याऔँ ।

यीमाथि उल्लेखित बुँदा पालना गर्नलाई कुनै ठुलो धनराशि लाग्दैन । मानव जातिलाई सृष्टिले दिएको सबैभन्दा ठुलो उपहार ‘सोच’ हो । सोचलाई परिवर्तन गरौँ । ‘सुन्दर सोच नै सुन्दर संसार हो’ भन्ने सोच बनाऔँ । यही नै हाम्रो पृथ्वीमाथि लगानी हुनेछ । रातोपाटीबाट

२०८० बैशाख ९, शनिबार प्रकाशित 1 Minute 274 Views