२०८१ बैशाख १४ शुक्रबार

पदमबहादुर लिम्बूको शनिबार अन्त्येष्टि गरिने

सुनसरी । एक महिनाअघि सुरक्षाकर्मीको लाठी प्रहारबाट घाइते भई उपचारका क्रममा मृत्यु भएका सहिद पदमबहादुर लिम्बूको अत्येष्टि शनिबार गरिने भएको छ । सरकारले पहिचानवादी आन्दोलनमा मृत्यु भएका लिम्बूलाई राजपत्रमा प्रकाशित गर्दै सहिद घोषणा गरेकाले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरी हाउसमा राखिएको शवलाई याक्थुङ लिम्बू परम्पराअनुसार अन्त्येष्टि गर्ने संघीय लिम्बुवान राष्ट्रिय मञ्चका सुनसरी अध्यक्ष अमर इजमले बताए ।

उनका अनुसार शनिबार बिहान ९ बजे धरानमा शवयात्रा गरिने र भानुचोकमा श्रद्धाञ्जली अर्पण कार्यक्रम गरिने छ । लिम्बूको स्थायी घर मोरङको बेलबारीस्थित लालभित्तीमा पुर्‍याएर अन्त्येष्टि गरिने अध्यक्ष इजमले बताए । उनले भने, ‘लाजेहाङ पहिचानको पक्षमा खरो गरी उभिने लडाकु थिए । उनी लिम्बुवानी आन्दोलनका लागि संघीय लिम्बुवानका सहकमाण्डर हुँदै सहिद भएकाले सम्मानसहित अन्त्येष्टि गर्ने तयारी छ ।’

कोशी प्रदेश नामकरण भएपछि उक्त नामको खारेजी गर्दै ऐतिहासिक, राजनीतिक र भौगोलिक पृष्ठभूमिको आधारमा प्रदेश १ को नाम लिम्बुवान–किरात हुनुपर्ने भन्दै आन्दोलन चर्किँदा गत चैत ५ गते विरानगरमा भएको हिंसात्मक झडपमा सुरक्षाकर्मीको लाठी प्रहारबाट घाइते भएको पाँच दिनमा लिम्बूको मृत्यु भएको थियो । किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खा, संघीय लिम्बुवान राष्ट्रिय मञ्च, लिम्बूवान मुक्ति मोर्चा, जनता समाजवादी पार्टी, जनमुक्ति मोर्चाको लिम्बुवान प्रान्तीय समितिलगायत दल र जातीय सामाजिक संस्थाहरुले पहिचानको आन्दोलन जारी राखेका छन् ।

यसैबीच सहिद भएका लिम्बूको परिवारलाई हङकङमा रहेको नेपालीहरुबाट संकलन गरिएको नगद ५ लाख ११ हजार ५ सय ८५ रुपैयाँ शुक्रबार हस्तान्तरण गरिएको छ ।

प्रदेश नं १ पहिचानी संघर्ष समिति हङकङका संयोजक किरण सुच्चा राईको नेतृत्वमा संकलित रकम किरात राई यायोक्खा सुनसरीका कोषाध्यक्ष उपेन्द्र चाम्लिङ, सुच्चा राई कल्याणकारी सेवा समाजका केन्द्रीय अध्यक्ष विनोद सुच्चा राईले लिम्बूकी आमा धनमाया लिम्बूलाई चेक हस्तान्तरण गरेका थिए ।

२०८० बैशाख ८, शुक्रबार प्रकाशित 1 Minute 286 Views

ताजा समाचार