२०८१ बैशाख १३ बिहीबार

कोशी प्रदेश : मुख्यमन्त्री एवं मन्त्रीहरूको सम्पत्ति विवरण सावर्जनिक

मुख्यमन्त्री र ६ मन्त्रीमध्ये प्रधानमन्त्रीका ज्वाइँसमेत रहेका मन्त्री जीवन आचार्य सबैभन्दा धनी देखिएका छन्

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायत मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमा उनीहरूको सम्पत्ति विवरण राखिएको हो । भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार सार्वजनिक पद धारण गरेको ६० दिनभित्र आफ्नो वा आफ्ना परिवारका सदस्यको नाममा रहेको सम्पत्तिको स्रोत तथा निस्सासहितको अद्यावधिक विवरण सम्बन्धित अधिकारी समक्ष बुझाउनुपर्ने व्यवस्था छ ।

मुख्यमन्त्री कार्कीको सम्पत्ति विवरणमा झापाको गौरादहमा सगोलमा रहेका २ वटा घर छन् । दाजु दीपक कार्की र उनको नाममा गौरादह १ मा डेढ कठ्ठामा र गौरादह ३ मा २ कठ्ठामा पक्की घर छन् जुन पैतृक सम्पत्तिबाट प्राप्त भनिएको छ । उनकी पत्नी अञ्जना पाण्डे कार्कीको नाममा ललितपुरको महालक्ष्मी नगरपालिका– ४ मा ७ आना र ९ आनाका २ वटा घडेरी छन् । २०७७ सालमा १ करोड ४० लाख बराबरको उक्त घडेरी किन्न एभरेस्ट बैंकबाट ९० लाख ऋण लिएको विवरणमा उल्लेख छ ।

पैतृक सम्पत्तिको बिक्रीबाट कार्की दम्पतिले करिब ३३ लाख बराबरको विभिन्न कम्पनिमा सेयर किनेका छन् । जग्गा किन्न लिएको ९० लाख रुपैयाँ ऋण तिर्न बाँकी रहेको पनि विवरणमा छ । उनको ६ तोला सुन र १० तोला चाँदी रहेको विवरणमा उल्लेख छ । उनीसँग २३ लाखमा खरिद गरेको सेन्ट्रो कार र ३ लाखको लागतमा झापाको गौरादह कृषि तथा पशुपक्षी विकास फर्म सुचारु छ । मुख्यमन्त्री कार्की यस अघि मन्त्री भएको बेला बुझाएको सम्पत्ति विवरणअनुसारकै विवरण सार्वजनिक गरेका छन् ।

यसैगरी पर्यटन, वन तथा वातावरणमन्त्री जीवन आचार्यको ललितपुर, विराटनगर तथा मोरङको बुढीगंगामा घर तथा जग्गा रहेको उल्लेख छ । उनी प्रधानमन्त्री पुष्पकमल दाहालका ज्वाइँसमेत हुन् । आचार्यको नाममा ललितपुर–९ मा ९ आना र १ आना २ पैसा जग्गाका साथै साढे दुईतले पक्की घर रहेको छ । व्यवसाय र पैतृक सम्पत्तिले ३६ लाखमा खरिद गरेको भनिएको छ ।

विराटनगर–१ स्थित १५ धुर जग्गामा आचार्यको साढे दुई तले पक्की घर पैतृक सम्पत्तिबाट खरिद गरेको उल्लेख छ भने मोरङको साविक हात्तीमुढामा ११ कित्ता जग्गा छ । साथै, २० तोला सुन, ५० तोला चाँदी र ४५ लाख बैंक मौज्दात रहेको छ । एनस्याट प्रालि काठमाडौंमा ३३ प्रतिशत सेयर ३० लाखमा खरिद गरेको र जेएमडी ग्रुप अफ कम्पनी काठमाडौंमा ५० प्रतिशत सेयर ५० लाखमा व्यवसायबाट खरिद गरेको उल्लेख छ । प्रभु बैंकबाट ५ लाख र दुहबी –८ का ओम थापाबाट ८० लाख रुपैयाँ ऋण लिएका उनीसँग ४१ लाखमा खरिद गरेको हुन्डाई क्रेटा कार रहेको छ ।

सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले काठमाडौं–३२ मा र सोलुखुम्बुको सोलुदुधकुण्ड–६ गरी १० हजार ६९२.५० वर्गमिटर जग्गा पैतृक सम्पत्ति रहेको उल्लेख छ । उनीसँग ३ तोला सुन, १० लाख ७६ हजार नगद बैंक रहेको छ । राजभण्डारीको विभिन्न कम्पनीमा ५६ हजार ३ सय ५० कित्ता सेयर रहेको छ । सोलुखुम्बु गरुपमा ३० हजार कित्ता र बेनी हाइड्रोमा २० हजार, सोलु हाइड्रोमा ५ हजार कित्ता शेयर रहेको छ । उनले २० लाख रुपैयाँ ऋण लिएको र उनीसँग टाटा सुमो, ट्र्याक्टर, २ थान मोटरसाइकल र १ थान स्कुटर छन् । उनले निर्माण सेवालगायतका फर्मसमेत सञ्चालन गर्दै आएको विवरणमा भनिएको छ ।

खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोको ताप्लेजुङको पाथीभरा याङ्वरक– २ मा पैतृक सम्पत्ति, फुङलिङ ४ मा ५ रोपनी ३ आना पत्नीको नाममा र इटहरी–६ मा १६ धुर जग्गा रहेको उल्लेख छ । उक्त जग्गा तलबबाट खरिद गरेको उल्लेख छ । उनीसँग ७ तोला सुन, विभिन्न बैंकमा ३ लाख ८९ हजार ५ सय ८३ रुपैयाँ नगद रहेको छ ।

भौतिक पूर्वाधार विकासमन्त्री दुर्गाप्रसाद चापागाईंसँग पत्नी इन्दिरा कार्कीको नाममा झापा बिर्तामोड–३ मा १ कठ्ठा जग्गामा घर, मोरङ सुन्दरहरैंचा–१ मा १ बिघा १० कठ्ठा जग्गा रहेको छ । सुन्दरहरैंचाको जग्गा कृषि फर्म संचालनका लागि सामूहिक रुपमा खरिद गरिएको उल्लेख छ । चापागाईंको ३ तोला सुन, ५ तोला चाँदी र विभिन्न बैंकमा १ लाख ८७ हजार रुपैयाँ मौज्दात रहेको छ । चापागाईंले अपर खोरङ खोला जलविद्युत् आयोजनामा आफ्नो र पत्नीको नाममा १.२५ प्रतिशत सेयर र अपर सोलुमा ०.४८ प्रतिशत सेयर रहेको उल्लेख छ । उनले १ करोड २० लाख रुपैयाँ ऋण लिएको विवरण देखाएका छन् ।

यस्तै, उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाको झापा बिर्तामोड– ७ मा विभिन्न कित्ताका ३० कठ्ठा ५ धुर जग्गा पैतृक सम्पत्तिबाट प्राप्त रहेको उल्लेख छ । उनको ५० तोला सुन र ५ सय तोला चाँदी, ३० लाखको कार र २ लाख ५० हजारको मोटरसाइकल रहेको छ ।

स्वास्थ्यमन्त्री निर्मला लिम्बूको ताप्लेजुङको फुङलिङ– ६ र ललितपुरको सानो हात्तीवनमा घर रहेको छ । झापामा समेत जग्गा भएको उनीसँग २२ तोला सुन र ३५ तोला चाँदी रहेको उल्लेख छ । उनको युमा कपडा उद्योग र व्यवसाय सञ्चालमा रहेको छ ।

२०७९ चैत्र २९, बुधबार प्रकाशित 0 Minutes 201 Views

ताजा समाचार