२०८१ बैशाख ८ शनिबार

कोशी प्रदेश नामाकरणमा देखिएको असन्तुष्टिप्रति सरकार गम्भीर भएन: इन्द्रबहादुर आङ्बो

मोरङ । नेकपा माओवादी केन्द्र कोशी प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेशमा जारी आन्दोलनलाई वार्ताबाट समाधान खोजिनुपर्ने बताएका छन्।

पूर्व आर्थिक मामिलामन्त्रीको जिम्मेवारी वहन गरिसकेका आङ्बोले मुख्यमन्त्री हिक्मत कार्कीलाई प्रदेश नामाकरणमा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न वार्ता आवश्यक रहेको बताएका हुन् ।

पहिचानवादी पक्षधरले कोशी प्रदेश नामलाई सकारात्मक रूपमा नलिएको हुँदा सरकार आफैंले वार्ता टोली गठन गरेर संवादको क्रम सुरु गर्नुपर्ने आङ्बाेको भनाइ छ।

प्रदेश सरकारलाई आग्रह गर्दै उनले सडकमा देखिएको असन्तुष्टिलाई शान्तिपूर्ण ढंगले वार्ता सवांदबाट समाधान गर्न तत्काल पहल गरिनुपर्नेमा उनले बताए।

कोशी प्रदेश नामाकरण भएसँगै मुख्यमन्त्री कार्की र आङ्बो दुवैजनामाथि आक्रमण प्रयास भएको थियो। नामांकनका लागि प्रदेशसभामा मतदान गरेका दलमाथि सामाजिक सञ्जालदेखि सडकमा रहेका आन्दोलनकारीले तीव्र असन्तुष्टि व्यक्त गर्दै आएका छन्।

दलका नेता आङ्ग्बोले भने, ‘मुख्यमन्त्री र म आफैमाथि घटनाको प्रयास भएको छ। सोही समयपछि मैले केहीपटक मुख्यमन्त्रीज्यूलाई वार्ता टोली बनाएर टेबलबाट सहमति खोज्न आग्रह गरेँ। तर सरकार गम्भीर भएको पाइनँ। अझै पनि सरकारलाई एउटा समिति बनाएर अघि सार्न पर्ने आवश्यकता छ।’

आन्दोलनका क्रममा प्रहरीको कुटाइबाट पदम लिम्बूको मृत्यु भएको थियो। मृत्युपश्चात् काेशी सरकारले क्षतिपूर्तिस्वरूप तीन लाख रुपैयाँ दिने घाेषणा गरेकाे थियाे।

सरकारले गरेको क्षतिपूर्ति घोषणाबारे आङ्बाे भन्छन्, ‘आन्दोलनमा मृत्यु भएको अवस्थामा तत्काल क्षतिपूर्ति रकमबारे घोषणा गर्नु नै पनि सरकारको परिपक्व निर्णय भएन। क्षतिपूर्तिबारे पहिले आन्दोलनमा रहेका पक्षलाई वार्तामा ल्याउन सरकारले सक्नुपर्थ्यो, त्यो भएन।’

उनले माओवादी पहिचानवादी नामका लागि तयार भएकाे पनि बताए।

‘हामी सहभागी भएरै नामाकरण भएको हो। यसबाट भाग्ने अवस्था छैन। तर ठूला दलहरू नामको विषयमा सकारात्मक हुँदा माओवादी पुनः पहिचानवादी नामका लागि तयार छ’, आङ्बाेले भने।

केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मोरङको गोठगाँउस्थित पूर्वाञ्चल विश्वविद्यालयको कार्यक्रममा सहभागी हुने क्रममा माओवादीको प्रदेश समितिले नामांकन सच्याउन जारी शान्तिपूर्ण आन्दोलनप्रति समर्थन र ऐक्यवद्धता रहेको जनाएको थियो।

फागुन १७ गते प्रदेश सरकारले नामाकरणलाई पूर्णता दिएको थियो। पहिलो कार्यकाल प्रदेश नम्बर १ मात्र रहँदा चौतर्फी आलोचना खेपेको सरकारलाई यसपटक भने नेकपा एमालेका मुख्यमन्त्री हिक्मत कार्कीले सरकार गठन भएको करिब २ महिनामा नाम जुराएका हुन्।

जसमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशी नाममा मतदान गरेका थिए। अर्कोतर्फ, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी भने पहिचानको पक्षमा उभिएका थिए।

जनता समाजवादीतर्फबाट एक मात्र प्रदेशसभा सदस्य निर्मला लिम्बूले पहिचानको पक्षमा रहेको जनाएपछि मतदानमा सहभागिता जनाएकी थिइनन्। नामाकंनसँगै प्रदेशमा असन्तुष्ट पक्षले सडक आन्दोलन गर्दै आएको छ। देश सञ्चार

२०७९ चैत्र २२, बुधबार प्रकाशित 0 Minutes 343 Views

ताजा समाचार