रोमा दाहाल (निशा) ।
‘म बेलुका त चाँडै घर फर्किनै पर्छ, बच्चा सानो छ । दिउँसो मात्र हो अलि–अलि फिल्डमा हिँड्न पाउने । बच्चा ठूलो नभएसम्म बिहान र बेलुकाका कार्यक्रममा सहभागी हुनै मुस्किल हुने रहेछ’, विराटनगरकी पत्रकार जुनु भट्टराईले भन्नुभयो । । इलामकी पत्रकार कोकिला ढकाललाई भने श्रीमान् पनि पत्रकार नै भएकाले केही सहज छ । बच्चा सानो भएका कारण त्यति धेरै बाहिर निस्कन नपाएको सुनाउने ढकाल नेपाल पत्रकार महासंघ इलामकी पूर्व अध्यक्ष समेत हुनुहुन्छ ।
प्रेस चौतारी मोरङकी उपाध्यक्ष चिना थापा विवाहपछि सक्रिय पत्रकारितामा फर्कन आफूलाई करिब चार वर्ष समय लागेको बताउनुहुन्छ । सक्रिय पत्रकारिता गरेर भविष्य खोज्ने अधिकांश महिला पत्रकारको समस्या जुनु, कोकिला र चिनासँग मिल्दाजुल्दा नै छन् ।
महिला पत्रकारको अवस्थाबारे बीबीसी लण्डनकी कार्यक्रम उत्पादक सुजाने फ्रयांकले आफ्नो पुस्तक ‘वुमन एण्ड जर्नालिज्म’मा लेख्नुभएको छ, ‘महिला पत्रकार चाहे सम्पादकको तहमा होस् या संवाददाता, उसले पारिवारिक जिम्मेवारी लगायतका समाजका विविध जिम्मेवारी पूरा गर्नै पर्छ । अझ सञ्चारगृह संवेदनशील नभए उसको लागि पत्रकारिता अझै असहज र चुनौतीपूर्ण हुनेछ ।’
समाजले पत्रकारिताको कार्यगत प्रकृति नबुझिदिँदा झनै समस्या हुने गरेको सुनाउँछन् महिला पत्रकारहरू । परिवार र समाजले उठाउने प्रश्नले महिला पत्रकारहरूलाई व्यावसायिक बन्न कठिन रहेको मोरङकी अग्रज पत्रकार ललिता भट्टराईको बुझाइ छ । अलिक अबेरसम्मको काममा खटिनुपर्दा वा बिहान सबेरै कुनै कार्यक्रममा जानुपर्दा किन यति ढिलो ? र किन यति चाँडो ? भन्ने जस्ता प्रश्नले काममा सक्रिय हुन अवरोध गरेको अनुभव महिला पत्रकार सुनाउँछन् ।
रिपोर्टिङकै क्रममा पुग्दा कतिपयले गर्ने व्यवहार र सहकर्मी पुरुषसँग कतै हिँड्दा समाजले गरिदिने टिप्पणीले कार्यक्षेत्रमा खटिँदा पीडा थपिने गरेको सुनाउँछन् महिला पत्रकारहरू । पत्रकार कोकिला ढकालले रेडियो र टेलिभिजनमा केही महिला पत्रकार अडिए पनि छापामाध्यममा काम गर्नेको संख्या कम देख्ुनभएको छ ।
महिला पत्रकारको पत्रकारिता यात्रा
पत्रकारितामा महिलाको प्रवेश २००७ सालको क्रान्तिपछि मात्र देखापरेको पढ्न पाइन्छ । २००८ सालमा ‘महिला’ मासिक पत्रिका निस्केको पाइन्छ । जसलाई नेपालकै पहिलो महिला पत्रिकाको रूपमा चिनिन्छ । साधना प्रधान सम्पादक रहेको उक्त पत्रिका लामो समयसम्म भने प्रकाशन हुन सकेन ।
उक्त ‘महिला’ मासिकलाई नेपाली पत्रकारिताको इतिहासमा महिला पत्रकार उत्पादन गर्ने पत्रिकाको रूपमा चिनिन्छ । त्यसयता आरम्भ भएको महिला पत्रकारिताको इतिहासमा अपेक्षाकृत उपस्थिति नभए पनि क्रमशः बढ्दै गएको पाइन्छ । जसरी सञ्चारमाध्यमको विकास हुँदै गए, क्रमशः पत्रकारहरूको संख्या पनि बढ्दै गयो तर पुरुष पत्रकारहरूको तुलनामा महिला पत्रकारहरूको संख्या ज्यादै न्यून रहेको छ ।
अखबारबाट रेडियो, एफएम रेडियो र टेलिभिजनको पुस्तासम्म आइपुग्दा सञ्चार जगत्मा महिलाको संख्या बढेको छ । तर जति बढे पनि व्यावसायिक पत्रकारिता गर्दै यसलाई निरन्तरता दिनेहरूको संख्या न्यून छ । यद्यपि सञ्चारक्षेत्रमा लागेर आत्मसन्तुष्टि मात्र नभई पर्याप्त उपलब्धि समेत हासिल गरेको अनुभव फेवा साप्ताहिककी सम्पादक ललिता भट्टराईसँग छ । पत्रकारितामा तीन दशकभन्दा बढीको निरन्तरता दिँदा यो क्षेत्र आफ्नो लागि उपलिब्धमूलक रहेको उहाँले बताउनुभयो । दर्जन बढी संघसंस्थाबाट सम्मान र पुरस्कार प्राप्त गर्नुभएकी भट्टराई प्रदेश सरकारबाट पनि सम्मानित हुनु कर्मको फलको रूपमा लिनुहुन्छ । देशका विभिन्न क्षेत्रको भ्रमण, नयाँ पुराना साथीहरूसँगको घुलमिल तथा विभिन्न तालिम र गोष्ठीको सहभागिताले बौद्धिकस्तर बढाउनेदेखि आफूलाई समयसापेक्ष रूपान्तरण गर्न पनि सम्भव भएको उहाँको तर्क छ । अझ निरन्तर फिल्डमा खटिएर समाचार लेखिरहँदा समाजका सबै तहका व्यक्तिहरूसँगको संगतले जीवन जीउन पनि ऊर्जा थपिने उहाँको बुझाइ छ ।
महिलाहरूद्धारा सञ्चालित सामुदायिक एफएम रेडियो ‘रेडियो पूर्वाञ्चल’की बोर्ड अध्यक्ष तथा स्टेशन म्यानेजर कमला कँडेल पनि पत्रकारिताबाट प्रशस्तै उपलब्धि हासिल गर्न सकिने बताउनुहुन्छ । । सबैभन्दा बढी त उहाँमा खुसी यस अर्थमा छ कि एसियामै महिलाहरूले सञ्चालन गरेको पहिलो सामुदायिक रेडियो थियो पूर्वाञ्चल । तर अहिले नेपालमा मात्रै महिलाहरूले सञ्चालन गरेका रेडियो संख्या ८ पुगेको बताउनुहुन्छ कँडेल । मोफसलमा रहेर सामुदायिक रेडियो सञ्चालन गरिरहँदा एउटा उदाहरण मात्र नभई धेरै महिला पत्रकार उत्पादन गर्ने र व्यावसायिक पत्रकार बनाउन सफल भएको दावी उहाँको छ । रेडियो पूर्वाञ्चलबाट पत्रकारिता आरम्भ गर्नेहरू अहिले विभिन्न राष्ट्रिय सञ्चारमाध्यममा क्रियाशील छन् । घरको काम सकेर व्यावसायिक पत्रकार बन्नसक्ने क्षमता महिलामा नै बढी हुने तर्क गर्दै उहाँले अवसर पाउँदा महिलाले सबै जिम्मेवारी पूरा गर्नसक्ने बताउनुभयो । उहाँको बुझाइमा मात्र लगनशील र क्षमताको विकासमा केन्द्रित हुन आवश्यक छ ।
नेपाल पत्रकार महासंघको सदस्यता संख्यालाई नै आधार मान्ने हो भने पनि १८ दशमलव ४१ प्रतिशत मात्रै महिला पत्रकारको संख्या देखिन्छ । तथ्याङ्कअनुसार कुल १३ हजार ७७ जना पत्रकार महासंघका सदस्य हुँदा २ हजार ४०८ जना मात्र महिला पत्रकार रहेको पाइन्छ । पत्रकारितामा महिलाको संख्यालाई उल्लेख्य वृद्धि गर्नका लागि सम्बन्धित पक्षहरूले केही केही प्रयास गरेको देखिए पनि पत्रकारिता पेसामा लागिरहँदाका अनेकौं चुनौती, आय–आर्जन र भविष्यको सुनिश्चितता जस्ता विषयले प्रभाव पार्ने नै देखिन्छ ।
कुल जनसंख्याको आधाभन्दा बढी महिलाको संख्या रहेको हाम्रो जस्तो मुलुकका लागि महिला पत्रकारहरूको योगदान ठूलो रहन्छ । महिलाहरूका मुद्दा उठाउनेदेखि लिएर हकअधिकार स्थापित गर्ने र कुरीतिका विरुद्ध जति महिला पत्रकारको कलम तिखो र प्रभावकारी हुनसक्छ, त्यति पुरुष पत्रकारहरूको नहुन पनि सक्छ । पत्रकार चिना थापा भन्नुहुन्छ, ‘महिलाहरूका कतिपय यस्ता विषय हुन्छन्, ती महिला पत्रकारहरूले मात्रै न्यायपूर्ण हिसाबले सम्प्रेषण गर्न सक्छन् । उनीहरूले पनि आफ्ना कुरा महिला पत्रकारहरूलाई नै भन्न रुचाउँछन् ।’ समाजमा महिला पत्रकारहरूको योगदानका विषयमा जति पुरुष पत्रकारहरूको रहन्छ त्योभन्दा अधिक महिला पत्रकारहरूले पु¥याउन सक्ने दावी उहाँको छ । यस्तै अग्रज पत्रकार ललिता भट्टराईले पनि सञ्चार क्षेत्रमा क्रियाशील महिला पत्रकारहरूले अरूको सरह मात्र नभई त्यो भन्दा बढी योगदान गर्ने बताउनुभयो ।
पत्रकारसँग सम्बद्ध अधिकारकर्मी संस्थाहरूले महिला पत्रकारहरूलाई गुणस्तरीय बनाउन ध्यान दिन आवश्यक छ । हुनत पत्रकारितामा विगतमा भन्दा महिलाहरूको समर्पण बढेको पनि छ । संसद् भवन होस् या मन्त्रिपरिषद्का निर्णय कुर्दै आधारातसम्म महिला पत्रकारहरू पनि फिल्डमै खटिएका दृश्यले अवस्था फेरिएको सबैलाई अनुभूति हुनुपर्ने विराटनगरका पत्रकार सुदीप कोइरालाको भनाइ छ । उहाँ भन्नुहून्छ, ‘अवस्था धेरै फेरिएको छ, अवसरका ढोका प्रशस्त छन् । क्रियाशील पत्रकारहरूलाई जीविकोपार्जनलाई समस्या पर्दैन । अहिले पुरुष सरह महिला पत्रकारहरूको पनि अब्बल दर्जामा हुनुहुन्छ ।’ उहाँको बुझाइमा पत्रकारिता प्रवेश गर्नेहरूको संख्या तुलनात्मक रूपमा कम भए पनि गुणात्मक दृष्टिले महिला पत्रकारहरू पनि अब्बल छन् । क्रमशः यस क्षेत्रमा महिलाहरूको उपस्थिति बढाउँदै लैजान र व्यावसायिक बनाउँदै लैजाने सके अपेक्षाकृत उपस्थिति हुने देखिन्छ । कोशीसन्देशबाट