२०८१ बैशाख ८ शनिबार

राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने राप्रपाको निर्णय

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ।

आज केन्द्रीय कार्यालय धुम्बाराहीमा पाँच घण्टासम्म चलेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा सहभागी नहुने निर्णय गरेको हो।

केन्द्रीय कार्यसम्पादन समिति बैठकले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

‘राष्ट्रपति निर्वाचनको मतदानमा सहभागी नहुने, तटस्थ बस्ने सर्वसम्मत निर्णय भएको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘आम कार्यकर्ताको भावनालाई पनि प्रतिबिम्बित गर्दै पार्टीले यस्तो निर्णय गरेको हो।’

उनले राप्रपाको भोट राष्ट्रपति निर्वाचनका लागि निर्णायक पनि नरहेको उल्लेख गरे।

‘हाम्रो भोटको यसपालि त्यति धेरै आवश्यक पनि छैन। जस्तै, ८ दलको भोटमा हाम्रो भोट थपिएर राप्रपाको भोट निर्णायक भयो भन्ने अवस्था पनि रहेन। र, एमालेलाई जति भोट चाहिन्छ त्यो हाम्रो भोटले मात्र पुग्दा पनि पुग्दैन। त्यसकारण पनि तटस्थ बस्ने निर्णय गरिएको छ।’

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि राष्ट्रपति चुनावमा सहभागी नहुने निर्णय गरिएको पत्रकारहरूलाई बताए।

‘राष्ट्रपतिका दुवै उम्मेदवारहरू सक्रिय राजनीतिमा रहेको र दुवै जना हालै प्रतिनिधि सभामा निर्वाचित भएको व्यक्तित्व हुनुहुन्छ। उहाँहरूबाट अभिभावकीय भूमिका र निष्पक्षता परिकल्पना गर्न हामीले सक्दैनौं,’ उनले भने, ‘त्यसकारण हामी यो निर्वाचनमा तटस्थ बस्न उपयुक्त हुन्छ भनेर निर्णय गरिएको हो।’

बिहीबार राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ।

गत फागुन १३ गते नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवास नेम्वाङले राष्ट्रपतिमा मनोनयन दर्ता गरेका थिए।

त्यसबेला पनि राप्रपा कुनै पनि उम्मेदवारको समर्थन र प्रस्तावक बसेको थिएन।

राप्रपाको कार्यालयमा पुगेर अध्यक्ष राजेन्द्र लिङ्देनसहित अधिकांश पदाधिकारीलाई राष्ट्रपतिका दुवै उम्मेदवारहरूले भेटवार्ता गरी भोटसमेत मागेका थिए।

तर राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा राप्रपाले राष्ट्रपति चुनावमा कसैलाई मतदान नगर्ने निर्णय गरेको छ। पार्टीको एजेन्डा राजसंस्था भएकोले राष्ट्रपति निर्वाचनमा सहभागी हुन नहुने अधिकांश केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरूले आजको बैठकमा धारणा राखेका थिए।

राप्रपासँग संघीय र प्रदेश सांसद गरी कूल २ हजार ४ सय ५० मतभार छ। राप्रपामा प्रतिनिधि सभा सांसद १४ जना र प्रदेश सभा सदस्य २८ जना छन्। सेतोपाटी

२०७९ फाल्गुन २४, बुधबार प्रकाशित 0 Minutes 168 Views

ताजा समाचार