झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा प्रतिबन्धित जुवा खेलिरहेको अवस्थामा प्रहरीले चार जनालाई रंगेहात पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले छापा मार्ने क्रममा मेचीनगर–११ का तेजु प्रसाईं, कालुमान लिम्बू, पञ्चप्रसाद राजबंशी तथा होटल सञ्चालक राजपथ राजबंशीलाई सोमबार साझमा नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेका तेजु प्रसाईंको साथबाट नगद रु. १ लाख ५० हजार बरामद भएको छ । घटनास्थलबाट जुवा खेल्न प्रयोग गरिएका तासलगायत अन्य खेल सामग्री पनि प्रहरीले बरामद गरेको जनाएको छ।

प्रहरीले पक्राउ परेका चारै जनाविरुद्ध जुवा सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउँदै पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ।
यता, पक्राउ परेलगत्तै उनीहरूलाई छुटाउन स्थानीय तथा प्रदेश तहका केही राजनीतिक कार्यकर्ता र प्रभावशाली व्यक्तिहरूले विभिन्न माध्यमबाट दबाब दिने प्रयास गरेको स्रोतले जनाएको छ। यद्यपि, प्रहरीले कानुनी प्रक्रिया अनुसार अनुसन्धान भइरहेको र कसैको दबाब वा प्रभावमा नपरी अनुसन्धान अघि बढाइने जनाएको छ।
पक्राउ परेका प्रसाईं कुचो व्यवसायी हुन् भने लिम्बू र राजबंशी व्यवसायमा संलग्न रहेको बताइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



