२०८१ बैशाख १४ शुक्रबार

गाउँपालिकाको स्वामित्वमा पाथीभरा मन्दिर

इलाम । इलामको रोङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथिभरा मन्दिरको व्यवस्थापनको जिम्मा गाउँपालिकाले लिएको छ । व्यवस्थापन जिम्मा लिएसँगै हाँसपोखरी–कुट्टीडाँडामा अवस्थित बहिनी पाथीभरा मन्दिरलाई थप व्यवस्थित गरिने पालिकाले जनाएको छ ।

तीर्थालुको भीड लाग्ने यो मन्दिरमा उठेको रकमको पारदर्शीतासँगै दीर्घकालीन र ठोस विकासका लागि स्थानीय सरकारको मातहतमा ल्याएर थप विकास गरिने पालिका अध्यक्ष मनिकुमार स्याङ्बो (सुवास)ले बताए ।

‘बर्सेनि ५ लाख भक्तजन भित्राएर १ करोड रुपैयाँभन्दा धेरै आम्दानी गर्ने लक्ष्य छ,’ उनले थपे, ‘भक्तजनबाट उठेको भेटी, चन्दा र जिन्सीको दुरुपयोग हुन दिइनेछैन ।’ लामो समयदेखि संस्था दर्ता ऐन २०३४ अनुसार दर्ता भएको पाथीभरा मन्दिर क्षेत्र विकास कोष समिति नामक संस्थाले सबै कार्य गर्दै सञ्चालन गर्दै आएको थियो । संस्थाले स्थानीय सरकारसँग समन्वय नगरी काम गर्दै आएको पालिकाको भनाइ छ । मनोकांक्षा पूरा हुने अपेक्षा राखेर भक्तजन पाथीभरा मन्दिर आउने गरेका छन् । तराईबाट गर्मी छल्न नजिकको दूरी र नजिकैका पर्यटकीय स्थलहरू कन्याम र अन्तुका कारण पनि पाथीभरा मन्दिरमा भक्तजनको बाक्लो उपस्थिति हुने गर्छ ।

मन्दिरको स्वामित्वको जिम्मा पालिकाले लिएपछि यस क्षेत्रको थप विकाससँगै पालिकाको आम्दानीको स्रोत बढ्ने अपेक्षा गरिएको छ । यो क्षेत्र धार्मिकसँगै जैविक र पर्यटकीय हिसाबले पनि उत्तिकै महत्त्वपूर्ण छ । विभिन्न प्रकारका सुनगाभा पाइने पाथीभरा क्षेत्रको जंगलमा दुर्लभ चरा पनि पाइन्छन् ।

गाउँपाकिाले पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन २०७९ तयार गरी गाउँसभाबाट माघ ११ गते पारित गरेको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ अनुसार कार्यविधि बनाई जैविक विविधता तथा धार्मिक क्षेत्रको संरक्षण गर्ने गरी उक्त मन्दिरलाई गाउँपालिकाको स्वामित्वमा ल्याएको छ ।

गाउँपालिकाले कार्यान्वयनमा ल्याएको पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन, २०७९ को दफा ४ अनुसार दिलीप राईको अध्यक्षतामा स्थानीयवासी, व्यवसायी, गैरसरकारी संस्था, चन्दादाता, शिक्षक र प्रत्येक वडाबाट १ जना गरी १९ सदस्यीय समितिसमेत निर्माण गरी मन्दिर व्यवस्थापनको जिम्मा दिएको छ ।

अध्यक्ष स्याङ्बोले स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय मठमन्दिर, धार्मिकस्थलको रेखदेख र सञ्चालन स्थानीय सरकारले नै गर्ने भन्ने उल्लेख भएबमोजिम गाउँपालिकाले जारी गरेको व्यवस्थापन ऐनअनुसार मन्दिरको सञ्चालन गर्ने गरी समितिलाई जिम्मेवारी दिइएको बताए ।

पालिकको मातहतमा समिति निर्माणपछि संरक्षणको जिम्मा नयाँ समितिलाई दिइएको छ । पालिकाले मन्दिरको, सडकलगायत पूर्वाधार विकासका कामसमेत थाल्ने भएको छ । नयाँ समितिलाई पाथीभरा मन्दिरको संरक्षण र प्रवर्धन गर्दै औपचारिक कार्यक्रम व्यवस्थापन गर्ने जिम्मा दिइएको हो ।

व्यवस्थापन हस्तान्तरण कार्यक्रममा उपप्रधानमन्त्री, जलस्रोत सिँचाइ तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देन उपस्थित थिए । समितिका अध्यक्ष दिलीप राईले पारदर्शी भएर काम गर्ने बताउँदै पाथीभराको हिसाब दैनिक रुपमा सार्वजनिक गरीने बताए ।

२०७९ फाल्गुन ९, मंगलवार प्रकाशित 0 Minutes 300 Views

ताजा समाचार