दशवटा टाउको भएको अनि बीसवटा हात भएको रावण हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक हो ।
हिन्दू परम्परा अनुसार आफ्ना भावनाहरूलाई नियन्त्रणमा राखेर प्रज्ञाको उपयोग गर्दा सर्वोच्चता हासिल गर्न सकिन्छ । त्यसैले राजा महाबलीले रावणलाई नीच भावनाहरू त्याग्न आग्रह गरेका थिए ।
रिस, अभिमान, ईर्ष्या, खुशी, डर, स्वार्थ, वासना र महत्वाकांक्षा नीच संवेग हुन् । रावणका नौ शिरले यिनैको प्रतिनिधित्व गर्छन् भने दशौं शिरले प्रज्ञाको । राजा महाबलीले त्यसैकारण रावणलाई एक शिर राखेर अरूलाई त्याग्न सल्लाह दिएका थिए ।
तर रावणले महाबलीको सल्लाह मानेन र यी दश संवेग आफूसँग भएका कारण आफू पूर्ण पुरुष भएको दाबी ग–यो ।
एकथरी विद्वानहरू रावणका दश शिरले चार वेद र ६ दर्शनशास्त्रको प्रतिनिधित्व गर्ने मान्यता राख्छन् । रावण राक्षस भएपनि प्रकाण्ड विद्वान् थियो भन्ने रामायणमा नै लेखिएको छ ।
विश्रवण ऋषि र कैकशी दैत्यका छोरा रावणलाई ६४ विद्या र शस्त्रको ज्ञान थियो । अर्कप्रकाश, कुमारतन्त्र, इन्द्रजाल, प्राकृत लंकेश्वर लगायतका ग्रन्थ रावणले रचेको मानिन्छ ।
विवेक र प्रज्ञाले भावना र संवेगलाई नियन्त्रणमा राख्छ । तर रावणका दश शिरले नकारात्मक संवेगलाई प्रोत्साहन दिएकाले उसको विनाश भयो । मृत्युशैयामा रावणले गरेको पश्चात्ताप नै यही थियो, ‘त्यत्ति ठूलो विद्वान् भइकन पनि मैले संवेगहरूलाई नियन्त्रण गर्न सकिनँ र इच्छाहरूको दास बनें ।’