२०८१ बैशाख ७ शुक्रबार

मेची वारिपारि मायापिरती

सीमाञ्चलको काँकडभिट्टामा बसेर सिमानाले नछेकेको मायापिरतीको कथा सुन्दा यस्तो लाग्छ, माया त आखिर माया हो

झापा । मायापिरतीलाई भौगोलिक सिमानाले छेक्दैन, न छेक्छ जातको पर्खालले  । सिमानावासीको ‘वारिपारि’ को साइनो पनि यस्तै भूगोल एवं जातबाट माथि उठेको छ । खासगरी पूर्वोत्तर भारतको असम, मेघालय, मिजोरम, मणिपुर मात्रै होइन, नजिकैको सिक्किम र दार्जिलिङसँग पनि सीमावर्ती नेपालको ‘रोटीबेटी’ को सम्बन्ध छ ।

सीमावर्ती झापाको देहात सतिघट्टाका नारायण ओली र भारत, कालिम्पोङ २३ माइलकी दुर्गा रोक्का क्षेत्रीलाई पनि मायापिरतीको गाँठो कस्न सिमानाले छेकेन । आउँदो फागुन ९ मा विवाहोत्सवको ५५ औं वर्षगाँठ मनाउन लागेको यो जोडी मेचीपारि प्रेममा बाँधिने सम्भवतः यो भेगकै पुरानोपुस्ता हो । ‘मेरो विवाह न लभ, न एरेन्ज,’ उमेरले ८० आसपास टेक्न लागेका नारायणले सुनाए, ‘मेरो सेटेलमेन्ट म्यारिज हो ।’ उनले बाध्यताले जुरेको सम्बन्ध भन्ने अर्थमा ‘सेटेलमेन्ट’ शब्द प्रयोग गरेका होलान् ।

दिदीबहिनी बिहे गरेर गए । आमालाई बुहारीको खाँचो पर्‍यो । बनारसमा बीए पढेर फर्किएका नारायणलाई विवाह गर्नैपर्ने परिस्थिति खडा भयो । भन्सारका जागिरे बाबु जयप्रसाद ओलीका एक जना चिनारु थिए, कालिम्पोङमा । उनको बिहेका लमी तिनै थिए, पासाङ लामा ।

‘सन् १९६५ ताका कामविशेषले कालिम्पोङमा गएर फर्किने क्रममा थिएँ,’ नारायणले ५६ वर्षअघिको त्यो दिनको बेलिविस्तार लाए, ‘पासाङ काकासँग अचानक भेट भयो । सिलिगुडी फर्किन लागेको थिएँ, फर्किन दिएनन् ।’ लामाले घुमाउँदै फिराउँदै अहिलेको ससुराली घर पुर्‍याए । रोक्का परिवारका चारै बहिनी छोरी पढालेखा थिए । जेठी दुर्गाले त्यो जमानामा म्याट्रिक सकेकी थिइन् । ‘काका मलाई केटी हेर्न ल्याउनुभएको हो भने अहिले बिहे गर्ने मेरो विचार छैन है,’ नारायणले भनेछन् । लामाले जवाफ दिएछन्, ‘आमाले बुहारी चाहिने बेला भयो भनेकाले देखाउन ल्याएको । खानदानी परिवार छ । इज्जतिला छन् । राजनीतिक परिवार हो ।’

केटी हेरेर उनी घर फर्किए । त्योबेला दुर्गाको अनुहार कस्तो थियो उनको दिमागले अहिले भेउ पाउँदैन । ‘झिलिक्क देखें, चिया पिएर हिँडी पनि हालें,’ उनले थपे । नारायणले हेरेकी केटीलाई ‘फाइनल’ गर्न आमा भगमाया र ठुल्दाइ बद्री कालिम्पोङ गए । गाउँमा ‘माइली मुखिनी’ नामले चिनिने भगमाया जन्ड महिला थिइन् । झ्वाँकी स्वभावकी तिनले छोराबिनै जनैसुपारी, चाँदीको पैसा राखेर बिहेको तिथिमिति तय गरेर आइन् ।

त्यो समयमा कार्डहरू छाप्ने चलन थिएन । निम्तालुलाई सुपारी दिइन्थ्यो । २०२४ फागुन ९ मा नारायण दुलाहाका रूपमा मेची तरेर कालिम्पोङ पुगे । त्यो बेला पनि बेहुलाको सहित ८ वटा गाडीको ताँती थियो । मेची नदीमा भर्खरै पुल बन्दै थियो । पुल नभएपछि खोलैखोला जन्ती पारि तरेका थिए । उहिले राति बिहे हुन्थ्यो । जग्गेमा पेट्रोम्याक्स बल्थ्यो । दर्जीहरू पञ्चेबाजामै मस्त हुन्थे । सिलोकेहरू सिलोकमा रातभरि रत्तिन्थे । गाउँले डान्सरहरूले भीड उस्तै हुन्थ्यो । बिहेमा ‘सवेरे वाले गाडी से लेके जायेंगे’ भन्ने हिन्दी गीत रातभरि गुन्जिएको हिजो जस्तो लाग्छ उनलाई ।

भोलिपल्ट दिउँसो २ बजेतिर भारतकी दुलही मेची तरेर नेपाल भित्रिइन् । ओली परिवारले गाउँमा ठूलो भोज गरे । ‘६ हजार ४ सय रुपैयाँ त गाडीको मात्रै भाडा तिरेको थिएँ,’ नारायणले पुराना अतीत सम्झिए, ‘घरको खसीबाहेक बिहेमा ४५ हजार जति खर्च भएको थियो ।’

प्रिन्सिपल–शिक्षिका पिरती

सीमापारि दार्जिलिङको प्रभावबाट भर्खरै निजी स्कुलहरू खुल्ने क्रम सुरु भएको थियो सीमान्त बजार काँकडभिट्टामा । सूर्योदय अंग्रेजी बोर्डिङ स्कुल खुल्यो २०४५ तिर । स्थानीय दिलीप अधिकारीले मध्यमवर्गीय परिवारलाई लक्षित गरेर त्यो स्कुल खोलेका थिए ।

यो भेगकै पहिलो निजी शिक्षण संस्थाका प्रिन्सिपल थिए, दिलीपकै भाइ हरिकुमार अधिकारी । पहिलो सत्र जसोतसो चल्यो । दोस्रो सत्रपछि एलकेजी पढाउने दक्ष शिक्षकको खोजी भयो । संयोग भन्नुपर्छ मेचीपारि सिलिगुडी नजिकको कदमतलाबाट सुनीता ठकुरी अचानक एलकेजी शिक्षिकाका रूपमा सूर्योदयमा आइपुगिन् । भारतीय फौजी बलराम ठकुरीकी साइँली छोरी सुनीता मणिपुरमा जन्मिइन् । भारतमै पढिन् । भारतको अंग्रेजी शिक्षा नेपालतिर काम दियो ।

शिक्षिका सुनीताप्रति नजानिँदो पाराले हरिको लगाव बढ्न थाल्यो । काँकडभिट्टाको कालीखोला पारि सुनीताका नातेदार कृष्ण प्रसार्इं बस्थे । एक दिन तिनले हरिलाई बिहेको प्रस्ताव गरे । तर, सुनीतासँग होइन, उनकी माइली दिदीसँग । प्रस्ताव सुनेपछि हरिले भनेछन्, ‘बहिनी (सुनीता) यहीं काम गरिरहेकी छन् । उनको आनीबानी पनि थाहा भइसक्यो बरु उनैलाई बिहे गर्दा कसो होला ?’ परिवारले साइँली (सुनीता) लाई नै बिहे गरे पनि हुन्छ भनेपछि हरिले सोचे जस्तै भइदियो ।

छोटो चिनापर्चीमै हरि–सुनीताको बिहेको चाँजो मिल्यो । २०४७ जेठ ७ मा हरि पञ्चेबाजा अघि लाएर कदमतला पुगे । ‘लभ हुनै नपाई हाम्रो बिहे भइहाल्यो,’ लजालु भावमा हरिले सुनाए । उनका अनुसार बिहेमा तीन क्विन्टल चामलको त पुलाउ नै पाकेको थियो । आठवटा खसी काटिएका थिए । ‘त्यो समयको बिहे भव्य नै थियो,’ स्थानीय नर्थ प्वाइन्ट स्कुलका संस्थापक हरि गर्वसाथ भन्छन्, ‘सिंगो काँकडभिट्टाले मेरो बिहे भोज खायो भन्ने लाग्छ ।’

सूर्योदय स्कुलसँगै सम्बन्धित छ, अर्का एक प्रेमिल जोडीको कथा पनि । यो पनि २०५१ साल आसपासकै हो । सीमापारि कालिम्पोङमा बीएको परीक्षा दिएर दिदीको घर घुम्न आएकी थिइन्, पद्मा प्रधान । तीन महिनापछि मात्रै परीक्षाको नतिजा आउँदै थियो । काँकडभिट्टामा रहेकी दिदीले भनिछन्, ‘रिजल्ट आउन्जेल बोर्डिङ स्कुलमा पढाउँदै गर्दा हुन्छ त ।’

घुम्न आएकी उनी रिजल्टको पर्खाइमा तीन महिनाका लागि मात्रै शिक्षिका बनेकी थिइन् । तर, स्थानीय विश्वविजय घिमिरेसँग चिनापर्ची भएपछि उनको जीवनको रेखा अन्तै मोडियो । उनी त्यो समयदेखि अहिलेसम्म एउटै स्कुलमा निरन्तर अध्यापन गराइरहेकी छन् । ‘उहाँसँग दौंतरीले चिनजान गराएका थिए,’ पद्मा २८ वर्षअघिको त्यो प्रेमिल क्षण सम्झिँदै मुस्काउँछिन्, ‘रेला ठट्टामै प्रेम भएछ ।’

बीएस्सी सकेर बसेका विश्वविजयलाई पनि उनी एकै नजरमा मन पर्‍यो । ‘प्रेमको कुनै सीमा नहुने रहेछ,’ बुद्धिचालका राष्ट्रिय खेलाडी विश्वविजय मन्द–मन्द मुस्काउँदै भन्छन्, ‘हाम्रो प्रेमलाई न भूगोलले रोक्यो, न त जातले नै छेक्यो ।’

ब्राह्मण समुदायका विश्वप्रकाश बा–आमालाई अघि लाएर पद्माको हात माग्न गए । भइदियो नसोचेको, ‘बाहुन केटो’ भनेर परिवारले इन्कार गरे । करिब दुई वर्षदेखिको ‘अफेयर’ लाई ब्रेक गर्ने पद्माको मनसाय थिएन । परिवारले स्वीकृति नदिए पनि उनले बिहे गर्ने साहस जुटाइन् । ब्राह्मण समुदायका विश्वविजय र नेवार समुदायकी पद्माले मन्दिर पुगेर सुटुक्क बिहे गरे । ‘पद्माको परिवारले नमान्दा जन्ती लिएर जाने धोको चाहिँ पूरा भएन,’ विश्वविजयले थकथकीको भावमा थपे ।

प्रधान परिवारकी जेठी छोरी पनि बाहुनसँग बिहे गरेर मेची तरेर नेपाल आएकी थिइन् । कान्छी छोरीलाई चाहिँ आफ्नै जातमै विवाह गरिदिने परिवारको सोच थियो । तर, उनले पनि दिदीकै बाटो पछ्याएकामा प्रधान परिवार बेखुसी बने । बिहेपछि ज्वाइँ स्विकार्न पनि केही समय लाग्यो । ‘कालिम्पोङका प्रधानहरू त कडा रहेछन् । ज्वाइँ स्विकार्लान् भनेको त दण्ड पो दिन खोजे,’ उनले आफूमाथिको अपमान बोध सम्झिए, ‘कुनै निहुँमा मेरो अपमान हुन्छ भने ज्वाइँको त कुरै छाडौं, छोरी पनि आउँदिनन् भनिदिएँ ।’

गोर्खाल्यान्ड आन्दोलनले जुरेको जोडी

सन् १९८६ मा मेचीपारि दार्जिलिङमा ‘गोर्खाल्यान्ड’ नामको आन्दोलन उत्कर्षमा थियो । त्यो भेगका जन्ड नेता भनेर चिनिने सुवास घिसिङले भारत, पश्चिम बंगालको अधीनबाट छुटकाराका लागि अलग राज्य गठनको माग अघि सारे । केन्द्र र राज्य दुवै सरकारमाथि दबाब सिर्जना गर्न थालिएको आन्दोलन हिंसात्मक बन्यो । त्यो आन्दोलनमा करिब १२ सय सर्वसाधारणले ज्यान गुमाए ।

आन्दोलनको रापले नछोएको कोही नेपालीभाषी थिएनन् । दार्जिलिङ नजिकैको सानो सहर खर्साङका भीमबहादुर लिम्बूको परिवारलाई भने आन्दोलनको त्रासले बढी नै सतायो । दिनहुँको आन्दोलन । न स्कुल, न कलेज । सबथोक ठप्प । सबै सडकमा । यो दृश्य देखेपछि बढेकी दुई छोरी र काखको छोरालाई आन्दोलनबाट कसरी जोगाउने ? भन्ने चिन्ताले भारतीय सेनाका जागिरे भीमबहादुरलाई जुक्ति फुर्‍यो । आन्दोलन अवधिभर मेची तरेर काँकडभिट्टामा किन नबस्ने ?

सिंगो दार्जिलिङ आन्दोलित बनिरहेका बेला अन्ततः लिम्बू परिवार भने सुटुक्क मेची तरेर आए । करिब चार दशकअघिको सीमान्त सहर काँकडभिट्टा अहिले जस्तो कहाँ थियो र हिजोआजझैं ठुल्ठूला बिल्डिङहरू थिएनन् । झुप्राझुप्री मात्रै थिए । बजारकै एउटा काठको घरमा डेरावाल भएर लिम्बू परिवार बस्न थाले । उनीहरू आउनुभन्दा केही वर्षअघि खोटाङबाट आएर संघर्ष सुरु गर्दै थिए, बालाजित राईको परिवार । राई परिवार वल्लो घरका डेरावाल थिए ।

‘झ्याल खोल्दा देखादेख हुन्थ्यो । दिदीबहिनी मस्किन्थे,’ ४० वर्षअघिको त्यो दिन सम्झिँदै बालाजितले सुनाए, ‘आँखा जुधाजुध भइरहन्थ्यो, जेठी छोरी चन्दासँग ख्यालख्यालमा माया बसेछ ।’ युवावयका बालाजित फुटबल खेलाडी थिए । मेची खोलामा नुहाइधुवाइ गर्न जाँदा कोहीबेला सँगै पर्थे । सधैं खोलामा भेट हुन थालेपछि बोलचाल पनि सुरु भयो । छोटो समयमै उनीहरू नजिकिए । करिब दुई महिनाको बसाइपछि पारिको आन्दोलन मत्थर भएको खबर ‘अल इन्डिया’ रेडियोले फुक्यो । भीमबहादुर लाहुरे पारामा डेरा–डन्डा बोकेर खर्साङ फिर्ने भए ।

बाबुसँगै बाटो लागिन् बालाजितकी प्रेमिका चन्दा पनि । ‘उनलाई धेरै माया गर्न थालेको रहेछु,’ बालाजितले लजालु भावमा पोल खोले, ‘उनी खर्साङ फर्किने बेला त म सहनै नसक्ने पीडामा थिएँ ।’ बालाजितले खर्साङकी प्रेमिकालाई निरन्तर चिठी पठाउन थाले । उताबाट पनि जवाफी चिठी आउन थाल्यो । झन्डै ४ वर्षदेखि चिठी लेखालेख भयो । लभ परेकै बेला पहिलो पटक भेट्न खर्साङ नै पुगे । उताबाट फर्किएपछि उनीहरूबीच अनायासै सम्बन्ध चिसियो । ‘आइन्दा मलाई चिठी नपठाउनू’ भन्ने चेतावनी शैलीमा चन्दाले चिठी पठाइछन् । पछि बुझ्दा बालाजितले पत्तो पाएछन्, ‘खर्साङतिरबाट फुटबल खेल्न आउने कसैले बालाजितको त गर्लफ्रेन्ड छ भनेर सुनाइदिएको रहेछ ।’ त्यही कारण चन्दाले धम्कीपूर्ण चिठी पठाएकी रहिछन् ।

त्यो धम्कीपछि केही समय उनीहरूको चिठी लेखालेख ठप्प भयो । त्यही बेला घरबाट बालाजितलाई ‘बिहे गर’ भन्ने दबाब आउन थाल्यो । अन्ततः उनी एक दिन ब्रेक भइसकेकी प्रेमिकालाई अन्तिम पटक भेट्न खर्साङ गए । भने, ‘घरबाट बिहे गर्नु भन्दै छन् । जेजस्तो भए पनि तिमीसँग मन मिलेको छ । तिमी बिहे गर्छौं भने म तयार छु । हैन भने मैले अरू विकल्प खोज्नुपर्छ ।’ चन्दाले तत्काल कुनै प्रतिक्रिया जनाइनन् । तर, एक सातापछि भने कसैको हातमा चिठी पठाइन्, ‘तिमीसँग बिहे गर्न तयार छु ।’ तर चन्दाको यो विचारसँग उनको परिवारको कुनै स्वीकृति थिएन ।

यो चिठी पढिसकेपछि बालाजित खुसीले उफ्रिए । दुई जना साथीसहित खर्साङ पुगेर चन्दालाई भगाएर ल्याए । त्यो २०५० को सरस्वती पूजाको दिनको थियो ।

बर्मेली जोडी

विसं. २०२० को दशकमा तत्कालीन राजा महेन्द्रले बर्माका नेपालीभाषीलाई ‘घर’ फर्कन सार्वजनिक आह्वान गरे । त्यही मेसोमा पूर्वी पहाड ताप्लेजुङबाट बर्मा पुगेर उतै घरजम गरी बसेका देव शर्मा भेटवालको परिवार पुरानो थातथलो फर्किए । साइँली छोरी पवित्रा भने मिचिनामै छुटिन् । दुई जीउकी जेठी छोरी गोमा गौतमलाई स्याहार्न बा–आमाले पवित्रालाई छाडेर नेपाल फर्किए । १६ वर्षकी पवित्रा फुर्सदमा बजार पुगेर तरकारी बेच्थिन् । उनको पसल अघिल्तिर भारतीय मूलका सुशील ओरीको ठूलो कपडा पसल थियो ।

सुशीलका दाजुभाइ बर्मेली भाषामा चिच्याउँदै कपडा बेच्थे, ‘सक्किसक्यो, आउनुस् १० को दुई ।’ त्यो दृश्य देखेर पवित्रालाई हाँसो लाग्थ्यो । ‘किन मरुन्जेल चिच्याका होलान् भनेजस्तो लाग्थ्यो,’ पवित्राले सन् १९६० को दशकको त्यो क्षण सम्झिँदै मुस्काइन्, ‘उनीहरूको कपडा बेच्ने तरिका देखेर हाँसेको के थिएँ, मलाई हेरेर हाँसी भन्दै दाजुभाइको कुस्ती नै परेछ ।’ ‘हँसी तो फँसी’ भन्ने हिन्दी आहानबाट प्रभावित भएर हुन सक्छ एकैछिन पछि सुशीलले बर्मेली मिश्रित हिन्दी भाषामै प्रस्ताव राख्न भ्याइहाले, ‘बहनजी, हम तुम से प्यार करते है ।’

सुशीलको प्रस्ताव सुनेपछि पवित्राले जवाफ दिइछन्, ‘म त ५ बच्चाकी आमा हुँ ।’ सुशीलले, ‘फिर भी करेंगे,’ भनेपछि तरकारी पसल उठाएर पवित्रा हाँस्दै घर गइछन् । खासमा भारतीय मूलका सुशील र नेपालीभाषी पवित्राको प्रेम सम्बन्धको प्रस्थान बिन्दु मिचिनाको त्यही सानो हाट बन्यो । ‘धेरै समय मेरो पछि लागे,’ पवित्राले प्रेम कहानी सुनाइन्, ‘पछ्याको पछ्याइ गर्न थालेपछि मलाई पनि माया लाग्न थाल्यो ।’ पवित्राकी दिदीसँग भने सुशीलका परिवारको पुरानो चिनापर्ची रहेछ । ‘तपाईंको बहिनीको हात दिनुस्’ भनेर दिदीसँग पनि मरिहत्ते गरेछन् । एक दिन दिदीले पवित्रालाई बोलाएर भनिछिन्, ‘केटो हिन्दु नै हो, जात नमिले के भो त, धर्म मिलिहाल्छ बिहे गरे फरक पर्दैन ।’

बर्माकी एक्ली अभिभावक दिदी नै जोडबल गरेपछि अन्ततः पवित्राले सुशीलसँग लगनगाँठो कस्ने निधो गरिन् । सन् १९६० मा बा–आमा फर्किएको ५ वर्षपछि पवित्राले बिहे गरिन् । दुवै परिवार मन्दिरमा भेला भए । धार्मिक विधिअनुसार टीकाटालो गरे ।

सुशीलका तीन पुस्ता बर्मामा बस्दै आएका थिए । उनका बुबाले विश्वयुद्धताका ब्रिटिस सैनिकलाई ठेक्कामा रासन वितरण गर्थे । बुबा बितेपछि सुशीलका दाजुभाइले कपडा पसल सञ्चालन गरेका थिए । ‘दोस्रो विश्वयुद्ध भएका बेला ५ वर्षका थिएँ,’ ८६ वर्ष पुगेका सुशीलले दायाँपट्टिको चल्नीमा दाइने हातको चोरऔंला तेर्स्याउँदै सम्झिए, ‘बमगोला, बारुद पड्किएको अलिअलि सम्झना छ ।’

बिहेपछि पवित्रा र सुशीलको मन बर्मामा अडिएन । सन् १९७० मा एउटा काखे बच्चा च्यापेर सुशीलको पुर्ख्यौली थलो भारत पन्जाबको लुधियाना होसियारपुर फर्किए । त्यहाँबाट कोलकाता आइपुगेर लुधियानाको बस चढे ।

समयको खेल, त्यसपछिका १० वर्ष उनको लुधियानामै बित्यो । नेपालमा रहेका पवित्राका बा–आमालाई छोरीले दुःख पो पाइ कि भन्ने भयो । सन् ८० को दशकतिर आमाले पवित्रा र नातिनतिनालाई लिन साइँला ज्वाइँलाई पठाइछन् । आमाले ‘नेपालमै आएर बस्’ भनी पठाएको सन्देश सुनेर पवित्रा निकै भावुक बनिछन् । अन्ततः सुशीललाई जसोतसो मनाइन् । लुधियानाको जमिन सस्तोमै सल्टाइन्, अनि ५ लालाबाला च्यापेर फर्किइन् पुर्ख्यौली थलो । कान्तिपुरबाट

२०७९ फाल्गुन २, मंगलवार प्रकाशित 0 Minutes 333 Views

ताजा समाचार