
सुकृत नेपाल
काठमाडौँ, असार २४ गते । चलचित्र हेर्न दर्शक चाहिन्छ तर दर्शक कहाँबाट ल्याउने ? यो धेरै चलचित्र वितरकबाट प्रायः सुनिने गुनासो हो । वैशाख र जेठ महिनामा अञ्जिला, ऊनको स्विटर जस्ता नेपाली चलचित्रले यस क्षेत्रको साख केही जोगाएको थियो तर असार महिना चलचित्र प्रदर्शनका लागि भने सुक्खा नै साबित भएको छ । असारमा एउटा मात्र नेपाली चलचित्र प्रदर्शनको तयारीमा छ ।

असार २७ गते नर प्रधान निर्देशित चलचित्र ‘यो मन त मेरो नेपाली हो’ प्रदर्शनमा आउँदै छ । निर्माता, चलचित्र वितरक तथा हल मालिकको मनमा एउटै प्रश्न उब्जिएको छ, यस्तो अवस्थामा चलचित्र प्रदर्शनमा ल्याइयो भने चल्छ ? असारमा खासै नेपाली चलचित्र प्रदर्शन नहुनाले यसको असर केही राम्रा चलेका चलचित्रलाई पर्न गएको छ ।
नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनका अनुसार असार महिना बर्सात र बाढीको समय भएकाले चलचित्र प्रदर्शनमा नआएका हुन् । यो समयमा चलचित्र चल्ने भनेको कमै हुन्छ । उहाँ नेपाली चलचित्रको इतिहासमा असारमा चलेको एक मात्र चलचित्र दर्पणछायाँ मात्र भएको सम्झनुहुन्छ । निर्माता असारमा चलचित्र प्रदर्शन गर्न डराउनुका कारण मौसम नै रहेको उहाँको बुझाइ छ । असार महिना सुनसान नै छ । नेपाली चलचित्र नभएर हललाई खासै घाटा नहुने उहाँको भनाइ थियो । असारमा कुनै चाडबाड पनि हुँदैन । धेरै जसो मान्छे रोपाइँमा व्यस्त हुने भएकाले यो महिना खासै चलचित्र प्रदर्शनमा आउँदैनन् । चलचित्र वितरक प्रचण्डमान श्रेष्ठको भनाइ भने केही भिन्न छ । नेपाली निर्मातामा अन्तरविश्वास धेरै छ । उनीहरूको सोच झरीले चलचित्र चल्न दिँदैन भन्ने हो । उहाँ भन्नुहुन्छ, “चलचित्र चलेन भने बाढी आएर नचलेको हो भनिदिए पुगिहाल्छ । चलचित्र नचल्ने कारण हजारौँ हुन्छन् तर यहाँ दोष एउटालाई लगाइन्छ ।” पहिलाका निर्देशकले असारमा चलचित्र चल्दैन भनिदिए त्यसपछिले त्यही कुरालाई पछ्याए, उहाँको भनाइ थियो । उहाँका अनुसार हेर्ने हो भने पुसमा पनि चलचित्र खासै प्रदर्शनमा आउँदैनन् । पुस फासफुस भन्ने चलनले पनि यो ट्रेन्ड निम्त्याएको हुन सक्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यसले अवश्य नै हललाई घाटामा पार्छ । फेरि यहाँ एकै पटकमा चारदेखि पाँच वटा चलचित्र प्रदर्शनमा आउँदा चलचित्र क्षेत्रलाई असर गर्ने उहाँको भनाइ छ । असारमा प्रदर्शनमा आउने एक मात्र चलचित्र ‘यो मन त मेरो नेपाली हो’ का कलाकार रोशन श्रेष्ठ भने आफूलाई भाग्यमानी ठान्नुहुन्छ ।
वान् सिनेमाज्का प्रबन्ध निर्देशक उमेशराज गिरी असारमा बिलिङ र सबै हिसाबकिताब फस्र्योट गर्नुपर्ने भएकाले यस्तो भएको हुन सक्ने बताउनुहुन्छ । यसरी चलचित्र प्रदर्शन नहुँदा हललाई घाटा हुने उहाँको भनाइ थियो । चलचित्र प्रदर्शन नभएपछि कमाउने बाटो कम हुने भयो, उहाँले भन्नुभयो । साउनमा भने दुई वटा चलचित्र सिटामोल र मोहर प्रदर्शन हुने तयारीमा छन् ।आजको गोरखापत्र दैनिकमा खबर छ ।