
काठमाडौंको बागबजारमा बसेर लामो समयदेखि अवैध सुनको धन्दा चलाईरहेको एक समुहलाई प्रहरीले सुनसहित नियन्त्रणमा लिएको छ । बजारमा सुनको अभाव भएको मौका छोपेर अवैध सुनको कालोबजारी गर्दै आइरहेको समुहलाई जिल्ला प्रहरी परिसर टेकुको विशेष टोलीले पक्राउ गरेको हो ।
विहेवारीको सिजन भएकाले बजारमा यतिबेला सुनको माग बढेको छ । माग अनुसार आपूर्तिले धान्न नसकेपछि बजारमा सुनको कालोबजारी गर्नेहरु बढेका छन् । यसैक्रममा साना सुन व्यवसायीले बागबजारलाई केन्द्र बनाएर प्रचलित भाउभन्दा बढीमा कारोबार गर्दै आइरहेका निमाई साह सहितको गिरोहको बारेमा सूचना दिएपछि प्रहरीले आइतबार छापा मारेको हो । सो क्रममा अवैध सुनसहित साहसहितको गिरोह पक्राउ परेको छ । पक्राउ परेका साहले नै प्रहरी समक्ष अवैधबाटो बाट भित्रीएको सुन विभिन्न पसलहरुलाई प्रचलित भाउभन्दा बढीमा बेच्ने गरेको स्वीकार गरेका छन् ।

साहको सपर्ना ज्वेलर्स कारखानाबाट अवैध रुपमा भित्रीएको २० तोला भन्दा बढीको बाला, वेरुवा, औंठी सहित केही काँचो सुन बरामद भएको छ । सो क्रममा प्रहरीले कारोवार गर्दै गरेको अवस्थामा संजय अमात्य र सलमान राईनलाई समेत नियन्त्रणमा लिएको छ । साहसँग आफुले भरियाको रुपमा सुन ओसारपोसार गरेर कारोवार गर्दै आइरहेको पक्राउ परेका सलमान राईनले बताए ।
प्रहरीले अवैध सुन कारोवारीको साथबाट १० लाख ७० हजार नगद समेत बरामद गरेको छ । राजधानीमा सुन पसलको सुन जाँच्ने टन्ज सेन्टर र रिफाईनरीहरुले सुनको अभावको मौका छोपेर बढी मूल्यमा अवैध सुन कारोवार गरेको सूचनापछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सुनको कालोबजारी र अवैध कारोवारका सम्वन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर टेकुले जनाएको छ ।