२०८२ असार १५ आईतवार

आज धान दिवस-यो वर्ष उत्पादन बढ्ने विश्वास

फाइल तस्बिर

चाँदनी हमाल

काठमाडौँ, असार १५ गते । असार १५ अर्थात् धान दिवस । मानो रोपेर मुरी उब्जाउने दिनका रूपमा नेपालमा मनाइँदै आएको छ । जस अनुसार देशभर उत्सवका रूपमा धान रोपाइँ हुँदै छ ।

प्रमुख खाद्यान्न बाली धान नेपालको खाद्य सुरक्षाको प्रमुख आधार मानिन्छ । धान एक बाली मात्र नभई औसत नेपालीको जीवन पद्धतिमा अभिन्न रहँदै आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक रूपमा पनि उत्तिकै महत्वपूर्ण छ । त्यसैले पनि हरेक वर्ष उल्लासपूर्ण उत्सवका रूपमा धान रोपाइँ गरिने कृषि विभागका महानिर्देशक तथा धान दिवस मूल समारोह समितिका अध्यक्ष प्रकाशकुमार सञ्जेल बताउनुहुन्छ ।

यो वर्ष प्रिमनसुनदेखि नै वर्षा राम्रो भएकाले धान राम्रो उत्पादन हुने अनुमान कृषि विज्ञले गर्नुभएको छ । कृषि मौसमविद् रामेश्वर रिमालका अनुसार पूर्वी नेपालमा धान रोपाइँ धमाधम सुरु भइसकेको छ । उहाँका अनुसार असार १५ अघि नै पर्याप्त पानी पुगेका स्थानमा धान रोपाइँ सुरु भएको हो ।

पश्चिम नेपाल र तराईका अधिकांश भूभागमा पनि यस वर्ष छिट्टै धान रोपाइँ हुने अनुमान रहेको कृषि मौसमविद् रिमाल औँल्याउनुहुन्छ । जल तथा मौसम विज्ञान विभागका अनुसार असार १५ देखि कर्णाली, सुदूरपश्चिम, लुम्बिनीसहित तराईका भूभागमा राम्रो वर्षा हुँदै छ । यसले पनि धान रोप्न तयार भएका किसानमा खुसी छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ को नारा ‘धान बालीमा सघनता : खाद्यसुरक्षा र आत्मनिर्भरता’ रहेको छ ।

धान दिवस मूल समारोह समितिका अध्यक्ष सञ्जेलका अनुसार जलवायु अनुकूलित प्रविधिको अनुसन्धान र विकास एवं उपलब्ध प्रविधिको प्रयोग गर्दै सघन धान खेती (बर्खे र चैते) मार्फत उत्पादन एवं उत्पादकत्व बढाउँदै देशलाई खाद्यान्नमा आत्मनिर्भर र खाद्य सुरक्षातर्फ अग्रसर गराउने लक्ष्य लिइएको छ ।

चालु आर्थिक वर्षमा कुल १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धान खेती हुँदा कुल ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको थियो । अघिल्लो वर्षको तुलनामा १.२८ प्रतिशत कम क्षेत्रफलमा धान रोपाइँ भए पनि हालसम्मको उच्चतम औसत उत्पादकत्वसँगै अघिल्लो वर्षभन्दा ४.०४ प्रतिशतले धान उत्पादनमा बढोत्तरी भएको मन्त्रालयले जनाएको छ । अब पनि सोही अनुपात धान रोपाइँ हुँदै छ ।

नेपाललाई आवश्यक पर्ने करिब ७० लाख मेट्रिक टन धानमध्ये करिब १० लाख मेट्रिक टन धान अझै अपुग छ । फलस्वरूप गत जेठमा करिब ३८ अर्ब ९४ करोड रुपियाँ बराबरको धान, चामल र कनिका आयात गरिएको थियो ।

आगामी दुई वर्षमा धानमा आत्मनिर्भर बनाउने उद्देश्य यस वर्षको बजेटमा उद्घोष भएको छ । त्यसका लागि चैते धानमा क्षेत्रफल विस्तार गर्दै बर्खे धानमा उत्पादकत्व वृद्धि कार्यक्रम तिनै तहमा लैजाने मन्त्रालयले जनाएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बाट धानबालीका विभिन्न १४० भन्दा बढी जात दर्ता छन् । नेपालमा हाइब्रिड धानका जातको विकास भइरहेको र यसरी विकास भएका धानका जातको बिउको उपलब्धता सुनिश्चित गर्न बिउ वृद्धिका कार्यक्रम तिनै तहका सरकारमार्फत प्रवर्धनमा जोड दिइएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सञ्चालित धानका २१ जोन र पाँच सुपरजोनमार्फत बर्से र चैते दुवै सिजनमा धानको सम्पूर्ण मूल्य शृङ्खला विकासमा कार्यक्रम सञ्चालन गरिने भएको छ ।

राष्ट्रपतिको शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले असार १५ को राष्ट्रिय धान दिवसका अवसरमा सबै नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । शुभकामना सन्देशमार्फत राष्ट्रपति पौडेलले नेपालमा कृषिको महत्व बढाउँदै राष्ट्रिय खाद्य सुरक्षामा धानको भूमिकालाई बढाउने गरी धानको उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई खाद्यसम्बन्धी हकको व्यवस्था गरे अनुसार खाद्यवस्तुको अभाव झेल्न नपर्ने गरी मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि धान खेतीको प्रवर्धन गर्नु आवश्यक रहेको उहाँले प्रस्ट पार्नुभएको छ ।

त्यसै गरी उपराष्ट्रपति रामसहायप्रसाद यादवले दिनुभएको शुभकामना सन्देशमा यो दिवस आत्मनिर्भर र समृद्ध नेपाल निर्माण गर्ने साझा लक्ष्यसहित उन्नत कृषि प्रणालीको विकास र आधुनिकीकरणप्रति दृढ सङ्कल्पको प्रतीक हो भन्नुभएको छ ।गोरखापत्र दैनिकमा खबर छ ।

 

२०८२ असार १५, आईतवार प्रकाशित 1 Minute 10 Views

ताजा समाचार