२०८२ असार ८ आईतवार

६१ किलो सुन प्रकरण : अमला रोकालाई अदालत लगियो

न्युज अफ नेपाल
काठमाडौँ।

६१ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आशंकामा पक्राउ परेकी माओवादी नेतृसमेत रहेकी अमला रोकालाई प्रहरीले आइतवार अदालतमा पेश गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार उनलाई मुद्दा दायर गरिसकेपछि सरकारी वकिल कार्यालयमार्फत अदालत पठाइएको हो। सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काले रोका पक्राउ परेपछि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए।

गत शुक्रबार राजधानीको टोखा क्षेत्रबाट पक्राउ परेकी रोका अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको ‘डिफ्यूजन नोटिस’मा सुचीकृत व्यक्तिका रूपमा थिइन्। उनी बेल्जियमका नागरिक दावा छिरिङकी पत्नी हुन्, जो यस प्रकरणमा मुख्य अभियुक्त मानिन्छन्।

२ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान विभागले ६१ किलो अवैध सुन बरामद गरेको थियो। प्रारम्भिक अनुसन्धानपछि उक्त फाइल सीआईबीलाई हस्तान्तरण गरिएको थियो।

यस सुन तस्करी प्रकरणमा रोका मात्र होइन, तीन जना चिनियाँ नागरिक र पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनसमेत विवादमा तानिएका छन्। यस सम्बन्धमा उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको छानबिन समितिले पुनको पनि बयान लिएको थियो।

 

२०८२ असार ८, आईतवार प्रकाशित 1 Minute 9 Views

ताजा समाचार