२०८२ असार ३ मंगलवार

आयआर्जन गर्न सिकाउँदै छ टुँडिखेल

लक्ष्मी सापकोटा

काठमाडौँ, असार ३ गते ।

टुँडिखेलको मेला होइन रम्ने खाने

सिप सिकेर हामी रोजगारमा जाने …

विभिन्न किसिमका सांस्कृतिक मेला आयोजना गरी धेरैको खर्च, थोरैको कमाइ गर्ने स्थल बन्दै गएको काठमाडौँको टुँडिखेलमा यतिखेर खर्च होइन, आम्दानीको काइदा सिकाउने मेला चलिरहेको छ । मुलुकमा रोजगार नपाएको भन्दै दैनिक ठुलो सङ्ख्यामा युवा जनशक्ति विदेश गइरहेका बेला यहाँ चलिरहेको ‘रोजगारी र आयवृद्धि काठमाडौँको समृद्धि’ सिप मेलामार्फत एक महिनामै दुई हजार जनाभन्दा बढी युवा जनशक्ति सिपसहितको रोजगार अवसरमा योग्य हुँदै छन् । यो सिप मेलामा कर्मकाण्डदेखि कृत्रिम बौद्धिकतासम्मका तालिममार्फत युवा जनशक्ति स्वदेशमै रोजगार बन्न थालेका छन् ।

काठमाडौँ महानगरपालिकाले गत जेठ ७ गतेदेखि एक महिने निःशुुल्क तालिम दिएर स्वदेशमै स्वरोजगार बनाउने अनि रोजगारी दिने अभियानलाई निरन्तरता दिएको छ । गत वर्षदेखि यो तालिम कार्यक्रम सुरु भएको हो । गत वर्ष दुई हजार ५७५ जनालाई तालिम दिएकोमध्ये ६० प्रतिशतभन्दा बढीले रोजगारीको अवसर प्राप्त गरेको नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घले जनाएको छ ।

सिपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोड्ने लक्ष्यसहित यो तालिम सञ्चालन भइरहेको छ । १० क्षेत्रका ३७ वटा पेसामा तालिम सञ्चालित छ ।

काठमाडौँ महानगरपालिका अन्तर्गतको सिप मेला समितिका निर्देशक समिति सदस्य सुदीप ढकालले यो वर्ष दुई हजार ८२ जनालाई तालिम दिने लक्ष्य रहेकामा दुई हजार ५४७ जनाले तालिम लिइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार तालिम लिइरहेकामध्ये एक हजार छ सय जनालाई रोजगार सुनिश्चित भइसकेको छ ।

गत वर्ष नयाँ मेला भएको र बुझ्न आउने धेरै सङ्ख्या रहेकामा यो वर्ष तालिमसँगै प्रतिफललाई जोड दिइएको उहाँको भनाइ छ । जनशक्तिलाई सिपसँग जोड्ने लक्ष्यसहित सञ्चालन गरिएको मेलाले श्रमिक र रोजगारदाताबिच पुलको काम गरिरहेको उहाँ बताउनुहुन्छ । तालिममा आवश्यक पर्ने प्रशिक्षक र सामग्री नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घ र महानगरले व्यवस्थापन गरिरहेका छन् ।

महासङ्घका महासचिव छत्रबहादुर बमले सिप सिकेर सिधै रोजगारदातासँग जोड्ने काम गरिएको जानकारी दिनुभयो । मेलामा सबैभन्दा बढी सूचना प्रविधि क्षेत्रको तालिममा आकर्षित भएको उहाँको भनाइ छ । यही छोटो अवधिमै गार्मेन्ट, अटोमोबाइल, सौन्दर्य (ब्युटिसियन), फेसन डिजाइनमा सिप सिकेर कतिपय काममा संलग्न भइसकेका छन् । उहाँका अनुसार सिप सिकेकाले उद्योगमा गएर थप एक महिना व्यावहारिक तालिम लिन्छ, त्यसबापत नौ हजार उद्योग र नौ हजार महानगरले गरेर १८ हजार रुपियाँसमेत उपलब्ध गराइने छ ।

७५ जना सुस्त श्रवणले ‘हाउस किपिङ’ को तालिम लिइरहेका छन् । यस्तै अटिजम प्रशिक्षकसमेत तयार गरिँदै आएको छ । गत वर्ष सिप मेलाबाट सिप सिकेर गएकी सजिना तामाङले ‘नेल आर्ट’ को तालिम दिइरहनुभएको छ । बागलुङका समुन्द्र मगरले गत वर्ष लिएको तालिमबाट आर्जित सिप अहिले अरूलाई सिकाइरहनुभएको छ । आफूले सिकेको सिपलाई त्यही ठाउँमा आएर सिकाउन पाउँदा धेरै नै खुसी लागेको उहाँहरू बताउनुहुन्छ ।

मेलामा सैद्धान्तिकसँगै प्रयोगात्मक ज्ञान सिकाइएको छ । सिप सिक्नेमा महिला र पुरुष बराबरी छन् । यो मेलाले सिप नभएका व्यक्तिलाई सिपयुक्त बनाउने, सिप भएकाले रोजगारी र स्वरोजगारमा लगाउने तथा रोजगारीमा रहेर पनि सिप नपुगेकाको व्यावसायिक स्तर वृद्धि गराएको महासङ्घले जनाएको छ ।

दैनिक चार घण्टाको दरमा तीन वटा सिफ्टमा २५ जनाका दरले तालिम चलिरहेको छ । तालिम लिने क्षेत्रमा आइसिटी क्षेत्रमा डिजिटल मार्केटिङ, ड्रोन, रोबोटिक्स, फाइबर अब्टिक्स टेक्निसियन, बौद्धिक कृत्रिमता (एआई) र यसको प्रयोग एआई एन्ड इट्स एप्लिकेसन रहेका छन् । यस्तै स्पेसल एबिलिटी सपोर्ट स्किल (साउन सिन्ड्रोम, अटिजम) मा हाउस किपिङ र केयर सर्भिस, इलेक्ट्रिक्समा ल्यापटप मर्मत टेक्निसियन, एसी एन्ड रेफ्रिजेरेटर, सिसिटिभी रिपेयरिङ, मोबाइल रिपेयरिङलगायतको तालिम छ ।

काठमाडौँ महानगरपालिकाभित्र स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने, ल्यान्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति र यसअघि सडकपेटीमा व्यापार व्यवसाय गरिरहेका व्यक्तिलाई तालिमको प्राथमिकतामा राखिएको कामपाले जनाएको छ । तालिममा १८ वर्षदेखि ५८ वर्ष उमेर समूहका नेपाली नागरिकलाई सहभागी गराइएको छ ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।

 

२०८२ असार ३, मंगलवार प्रकाशित 1 Minute 10 Views

ताजा समाचार