२०८२ असार २ सोमबार

तीन दलका तीन शीर्ष नेतालाई राष्ट्रिय अभिभावकत्व ग्रहण गर्न महामन्त्री शर्माको आव्हान

झापा / २ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीन दलका तीन शीर्ष नेतालाई राष्ट्रिय अभिभावकत्व ग्रहण गर्न आव्हान गर्नुभएको छ । ” ८३ साल, तीन नेता, तीन सन्यासको अवधारणा बन्न सक्नुपर्छ” अहिलेसम्म बोकेको भारी उहाँहरुले बिसाउनु पर्छ, त्यो वातावरण बन्नुपर्छ गृहनगर धुलाबारीमा सोमबार आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, ” बिचार, दल, गुटको होइन मुलुकलाई राष्ट्रिय अभिभावक मुलुकका लागि जरुरी छ, उहाँहरु राष्ट्रिय अभिभावक बन्नु पर्छ ।”

कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालको नामै लिएर महामन्त्री शर्माले उहाँहरु सक्रिय राजनीतिबाट विश्राम लिएर अभिभावकीय भूमिकामा रहन भन्नुभयो । ” अहिलेसम्मको उपलब्धिमा उहाँहरुको भूमिका राष्ट्रिय महत्वको छ ” महामन्त्री शर्माले भन्नुभयो,” ८३ साल तीन नेता, तीन सन्यास, तीन अवधारणा सान्दर्भिक हुन्छ ।”

चुनाव भयो, सरकार पनि गठन भयो , प्रधानमन्त्री बन्दा कि यताका बा, कि उताका बा बन्दा नागरिकमा निरासा बढेको उहाँको तर्क छ । ” चुनाव पनि हुन्छ, सरकार पनि बन्छ, प्रधानमन्त्री चाहिँ उहीँ हुन्छ, यो अवस्था फेरिनु पर्छ ” उहाँले भन्नुभयो, ” नागरिकको मानसिकता नै त्यही बनिसक्यो, अब ८३ मा तीन सन्यास, तीन अभिभावकको अवधारणा बन्नुपर्छ ।” उहाँले कांग्रेसको नेतृत्व परिवर्तन हुनेमा ढुक्क रहन आग्रह गर्नुभयो ।

” यहाँ पनि कुरा उठ्यो, कांग्रेसमा परिवर्तन भए हाम्रोमा पनि हुन्छ कि भन्ने ! हामी कांग्रेसमा नेतृत्व परिवर्तन अवश्य गर्छौ ” उहाँले भन्नुभयो,” कांग्रेसको नेतृत्व परिवर्तन हुन्छ, त्यो विधानले किटान गरेको व्यवस्था हो , शेरबहादुर देउवा अब सभापति बन्नु हुन्न। ” उहाँले कांग्रेसको नेतृत्व १५ औँ महाधिवेशनबाट फेरिने स्पष्ट पार्नुभयो । कांग्रेसको विधानमा दुई पटकभन्दा बढी समय एउटै व्यक्ति सभापति बन्न नपाउने व्यवस्था छ ।

तीन नेतालाई विश्राम लिएर अभिभावकीय भूमिकामा रहन, तीन नेता पटकपटक प्रधानमन्त्री बन्दा नागरिकमा असन्तुष्टि बढेको, दल, बिचार र गुटको नेता बन्दा समस्या भएको कुरा खुलेर राख्नु भएको उहाँले आफू कांग्रेसको महामन्त्री र सबैको सांसद भएको उल्लेख गर्नुभयो । झापा १ का सांसदसमेत रहनु भएको उहाँले महाधिवेशनको वर्ष सुरु भएकोले अब दुई महिनामा एक पटक मात्रै निर्वाचन क्षेत्रमा आउने बताउनुभयो ।

केही समय अघि सांसद हराएको भन्दै गरेको प्रदर्शन र ” ज्यामिरगढीमा हराएका सांसद, शान्तिनगरमा भेटिए” भनेर लेखिएका समाचारप्रति महामन्त्री शर्माले निक्कै चित्त दुखाउनुभयो । उहाँले अब दुई महिनामा एकपटक झापा आउने, एकसातासम्म बस्ने र त्यही बेला भेट हुने बताउनुभयो । यो बीचमा फेरि सांसद हरायो भनेर नखोज्न उहाँले कसिलो व्याङ्ग्य गर्नुभयो ।

नेपाली राजनीतिमा सम्मान र नैतिकताको अभाव रहेको संकेत गर्दै उहाँले उच्च संस्कारमा रहन र त्यही अनुरुपको व्यवहारमा जोड दिनुभयो । आफूले कसैलाई गाली नगरी चुनाव जितेको प्रसंग कोट्याउँदै उहाँले गाली गरेर चुनाव जित्नुभन्दा तेस्रोपटक हार्न आफू तयार भएर चुनावमा होमिएको स्मरण गर्नुभयो । अहिले नै आफू ८४ का लागि मत माग्ने पक्षमा नरहेको बताउँदै शर्माले ७९ को मतलाई हेरेर काम गरिरहेको र गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“तेस्रोपटक पनि चुनाव हारेको भए म लोकप्रिय छु भन्दै अहिले पनि राजनीति गरिरहेको हुने थिइनँं ” उहाँले भन्नुभयो,” म कांग्रेसको मतादाता भएर बस्थेँ, अहिले लेख्दै, गाउँदै, बजाउँदै, हिमाल चढ्दै वा त्यस्तै केही गरिरहेको हुन्थे, राजनीतिमा हुँदैन थिएँ ।” उहाँले फेरि पनि हिमाल चढ्ने योजना सुनाउनुभयो । केही दिन अघि मात्रै शर्मा सगरमाथाको सात हजार दुईसय मिटरसम्म पुगेर फर्कनु भएको हो ।

२०८२ असार २, सोमबार प्रकाशित 0 Minutes 32 Views

ताजा समाचार