
न्युज अफ नेपाल
काठमाडौं।

चैत १५ बाट शुरू भएको गणतन्त्रविरुद्धको राजावादी आन्दोलन धमिलिँदै गएपछि त्यसलाई नयाँ गति दिन युवाहरूलाई अगाडि सार्ने रणनीति बनेको छ ।
पुराना पञ्चहरूको नेतृत्वमा भएको आन्दोलन अपेक्षित प्रभाव नपुगेपछि नेतृत्व परिवर्तनको बहस चुलिएको छ । आन्दोलनको कमान्ड युवा पुस्तालाई जिम्मा दिएर नयाँ मोर्चा बनाउने तयारी तीव्र गतिमा अघि बढिरहेको छ ।
‘राजा फर्काऊ अभियान संयुक्त जनआन्दोलन संघर्ष समिति’का प्रवक्ता स्वागत नेपालले आन्दोलनलाई नयाँ मोड दिन युवा नेतृत्व आवश्यक भएको बताउँदै, पुराना नेताहरू कमल थापा, राजेन्द्र लिङ्देन र नवराज सुवेदीलाई पाखा लगाएर नयाँ पुस्ताबाट अभियान अघि बढाइने दाबी गर्नुभएको छ । उहाँका अनुसार नेपाली कांग्रेस र एमालेका असन्तुष्ट नेताहरूलाई समेत राजावादी कित्तामा तान्ने प्रयास भइरहेको छ ।
यसैक्रममा कांग्रेसका चन्द्रकान्त भण्डारी र डा. भीम रावलको नाम अग्रपंक्तिमा उभ्याइँदै छ । नेपालका अनुसार यी नेताहरूको विचार परिवर्तनका आधारमा उनीहरूलाई आन्दोलनको नेतृत्वमा ल्याउने योजना बनाइएको हो । भण्डारीले आफूलाई भेट्न राजावादीहरू आएको स्वीकार्दै भन्नभयो– ‘म नेता हुँ, सबै भेट्न आउँछन्, म भेट्छु । तर, धर्मको विषयमा म अडिक छु, नेपाललाई हिन्दु राष्ट्र बनाउने पक्षमा छु ।’
यता डा. रावलको नाम पनि राजावादी धारको नजिक रहेको चर्चा भइरहे पनि उहाँले अहिलेसम्म औपचारिक टिप्पणी गर्नुभएको छैन । यसले आन्दोलनको आगामी स्वरूपको सम्भावित राजनीतिक रंग र प्रभावबारे अनेक अड्कलहरू जन्माइरहेको छ ।
आन्दोलनमा बर्खा ब्रेक, नेतृत्वमा बहस
आन्दोलनले गति गुमाएको महसुस गरेपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलनलाई वर्षा यामपछिसम्म स्थगन गर्ने निर्णय गर्नुभएको छ । वर्षा, खेतीपाती र आन्दोलनकारीको उपस्थितिमा आउने अप्ठ्यारो अवस्था लक्षित गर्दै उहाँले आन्दोलनलाई ‘जिल्ला केन्द्रित अभियान’को रूपमा जारी राख्ने बताउनुभयो ।
तर, आन्दोलनमा सक्रिय एक धार भने नेतृत्वमा परिवर्तन नगरेसम्म ‘राजा फर्काउने’ अभियान फस्टाउने सम्भावना नरहेको ठान्दछ । उनीहरूका अनुसार बूढा पुस्ताले आन्दोलन चलाउन सक्दैनन् र युवा पुस्ताले मात्र नवप्रवर्तनसहित जनताको मन जित्न सक्नेछ ।
आन्दोलनको निराशाजनक प्रगति देखेर पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना निकटस्थहरूसँग आन्दोलनको समीक्षा गर्न थाल्नुभएको छ । स्रोतका अनुसार, उहाँले निर्मल निवासमै बैठक बोलाएर हालसम्मको गतिविधि र आगामी रणनीतिबारे गम्भीर छलफल गर्नुभएको छ । यसबाट आन्दोलनको वैचारिक र सांगठनिक पुनर्गठन नजिकिएको देखिन्छ ।
संयुक्त जनआन्दोलन संघर्ष समितिभित्रको शक्ति संघर्ष खुलेर बाहिरिएको छ । नेतृत्वमा रहेका पुराना पञ्चहरू चिन्तित छन् । आन्दोलनको दिशा युवा पुस्तालाई हस्तान्तरण गर्ने कि वा आफ्नै नियन्त्रणमा राख्ने ? यो विवादले आन्दोलनलाई संस्थागत रूप दिन नसकेको र अवसरवादी गठबन्धनको छवि दिइरहेको आलोचना भइरहेको छ ।
राजावादी आन्दोलन अहिले गम्भीर मोडमा छ । एकातर्फ नेतृत्व परिवर्तनको बहस, अर्कोतर्फ विचारको अस्पष्टता । आन्दोलनमा संलग्न केही नेताको हिन्दु राष्ट्रको मागलाई लिएर समर्थन बढे पनि गणतन्त्रको विकल्पस्वरूप राजा फर्काउने अभियान जनमतमा कति टिकाउ हुन्छ भन्ने अझै अनिश्चित छ । युवा पुस्ताको अगुवाइमा राजावादी आन्दोलनले पुनः लय समाउने कि, फेरि पनि नेतृत्व संघर्षमै अल्झिने, यसको जवाफ आगामी दिनले दिनेछ । तर, हालको संकेतले देखाउँछ कि बूढा पञ्चहरूको युग सकिँदै छ र राजावादी आन्दोलन अब पुस्तान्तरणको निर्णायक चरणमा पुगेको छ ।