२०८१ बैशाख १४ शुक्रबार

मेचीनगरको बौद्धमोडलाई देशकै कृत्रिम हातखुट्टा वितरणको हब बनाइने

मेचीनगर, २५ माघ । मेचीनगर-२ स्थित ब्रमाण्ड अपांग र महिला बचत तथा ऋण सहकारी संस्थाले गत माघ २१ गते बौद्धमोडमा आयोजित कृत्रिम हातखुट्टा नाप शिविरको आयव्यव विवरण सार्वजनिक गरेको छ । आयोजकले बुधबार सहकारी संस्थाको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरेर आम्दानी तथा खर्च विवरण सार्वजनिक गरेको हो ।

सहकारी संस्थाका अध्यक्ष सचिन निरौलाको सभापतित्व तथा पण्डित मुकुन्द नेपालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख अतिथि नेपालले अपांगता भएका मानिसको क्षमता विकास र उनीहरुको आत्मबल बढाउन सहकारी संस्थाले महत्वपूणर् भूमिका निर्वाह गरेको बताए ।

शारीरिक रुपमा अपांगता भएका मानिसलाई सहकारीले विभिन्न दाताहरुसँग समन्वय गरेर नारायण सेवा संस्थान भारतको विशेष सहयोगमा कृत्रिम हातखुट्टा वितरणको लागि पहिलो चरणमा नाप शिविर सम्पन्न गरेर प्रशंसनीय र ठूलो पून्यको काम गरेको उनको भनाइ थियो ।

कार्यक्रममा विशेष अतिथि मेचीनगर वडा नम्बर २ का वडाध्यक्ष दीपक बरालले समाज रुपान्तरणमा अत्यन्तै महत्वपूणर् भूमिका निर्वाह गर्दै आएको सहकारीले सामाजिक र मानवीय सेवाका कार्यक्रम अगाडि बढाएकोमा खुसी व्यक्त गरे । कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका बरालले मानवीय सेवाका यस किसिमको कार्यक्रममा वडा सरकार र व्यक्तिगत ढंगबाट आफ्नो निरन्तर सहयोग रहने विश्वास दिलाए ।

कार्यक्रमका सभापति एवम् सहकारी संस्थाका अध्यक्ष निरौलाले कार्यक्रम सफल पार्न विभिन्न दाताहरुबाट ३ लाख ९३ हजार ६०० रुपैयाँ संकलन भएको तथा २ लाख ९८ हजार ६०० रुपैयाँ खर्च भई ९५ हजार बचत रहेको आयव्यय विवरण सार्वजनिक गरे ।

सो अवसरमा अध्यक्ष निरौलाले आगामी योजनाका बारेमा समेत प्रकाश पारेका थिए । ‘कृत्रिम हातखुट्टा नाप शिविर सञ्चालन गरेर एकपटक हातखुट्टा वितरण मात्रै हाम्रो लक्ष्य होइन,’ अध्यक्ष निरौलाले भने, ‘बाहुनडाँगीलाई कृत्रिम हातखुट्टा वितरणको लागि हबको रुपमा विकास गनेछौँ ।’

उनले आगामी दिनमा विभिन्न दाता र तीनै तहको सरकारको सहयोग लिएर बौद्धमोडमै कृत्रिम हातखुट्टा सामाग्री उत्पादन गर्ने उद्योग सञ्चालन गर्ने दाबी गरे । अपांगता भएका व्यक्तिलाई हेर्ने सरकारको पुरानै सोच र नीतिका कारण अपांगता भएका व्यक्तिले राज्यबाट पाउने अवसरबाट बञ्चित हुनु परेको उनले दुखेसो पोखे । उनले आगामी दिनमा अपांगता सहायक सामग्री बैंक समेत स्थापना गरेर सेवा दिने बताए ।

अध्यक्ष निरौलाले कार्यक्रममा सहयोगी दाता तथा नारायण सेवा संस्थान परिवारलाई धन्यवाद समेत ज्ञापन गरेका थिए । नाप शिविरमा देशभरबाट सहभागी भएका १०८ जना अपांगता भएका व्यक्तिलाई नारायण सेवा संस्थानले कृत्रिम हातखुट्टा उपलब्ध गराउने भएको आयोजकले जनाएको छ । उक्त कृत्रिम हातखुट्टा आगामी चैत्र १५ गते एक कार्यक्रम आयोजना गरेर वितरण गरिने भएको छ ।

कार्यक्रममा साना किसान कृषि सहकारी संस्थाका पूर्व अध्यक्ष तुलसी ढुंगाना, नाप शिविर कार्यक्रमका फोकल पर्सन नारद ढुंगाना लगायतले बोलेका थिए । कार्यक्रममा सहकारीका सञ्चालक सदस्य माधव खतिवडा, सहकारीका व्यवस्थापक कुमार ढुंगाना, रीतादेवी नेपाल, पवित्रा मगर लगायतको सहभागिता थियो । सहकारी संस्थाका लेखा संयोजक तपन निरौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन केशरबहादुर बस्नेतले गरेका थिए ।

२०७९ माघ २५, बुधबार प्रकाशित 1 Minute 297 Views

ताजा समाचार