२०८२ जेष्ठ १० शुक्रबार

लागुऔषधको समस्या डरलाग्दो छ, नियन्त्रणमा लाग्नूस् : गृहमन्त्री लेखक

जनकपुर । गृहमन्त्री रमेश लेखकले देशभर लागुऔषधको समस्या डरलाग्दो रुपमा बढिरहेको बताउनुभएको छ ।

जनकपुरमा शुक्रवार मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लागुऔषधको नियन्त्रण जरुरी रहेको बताउनु भयो । उहाँले सडक दुर्घटना नेपालको अर्को विकराल समस्या रहेको बताउँदै सडक दुर्घटनाबाट दैनिक झन्डै ७ जनाको ज्यान जाने गरेको बताउनु भयो ।

उहाँले देशभर आत्महत्यका कारण दैनिक १७ जनाको ज्यान जाने गरेको र साइबर क्राइम पनि डरलाग्दो समस्याका रुपमा आएको बताउनु भयो । उहाँले लागुऔषधको नियन्त्रणमा खटिएर लाग्न प्रदेशका सुरक्षा निकायहरुलाई निर्देशन दिनुभयो ।

गृहमन्त्री लेखकले भन्नुभयो, ‘ड्रग्सको धेरै ठूलो समस्या छ । देशभर नै लागुऔषधको समस्या देखिएको छ । लागुऔषधको नियन्त्रण जरुरी छ । सडक दुर्घटना अर्को ठूलो समस्यका रुपमा रहेको छ । एक दिनमा झन्डै ७ जना मानिस सडक दुर्घटनाबाट मृत्यु हुने गरेको छ । सडक दुर्घटनाको नियन्त्रण अर्को महत्वपूर्ण काम हो । आत्महत्याको अवस्था देशभर झन्डै १७ जनाले एक दिनमा आत्महत्या गरिरहेका छन् । अर्को साइबर क्राइम छ । यो सबै कुरा एक अर्कोसँग जोडिएको छ । मानिसले लागुऔषध सेवन गरेर सवारी चलाउँछ, दुर्घटना हुन्छ । लागुऔषध सेवन गरेर डिप्रेसनमा जान्छ, लागुऔषध सेवन गरेर परिवारमा तनाव हुन्छ, आत्महत्या गर्दछ । लागुऔषधको नियन्त्रणमा खटिएर लाग्नुहोला ।’

गृहमन्त्री लेखकले शान्ति सुरक्षा देशको पहिलो शर्त र आवश्यकता भएको उल्लेख गर्नुभयो । शान्ति सुरक्षाको स्थिति कमजोर हुने बित्तिकै देश विकासका काममा अवरोध आउने बताउनु भयो ।हिमालय टाइम्स

२०८२ जेष्ठ १०, शुक्रबार प्रकाशित 0 Minutes 8 Views

ताजा समाचार