२०८२ बैशाख २९ सोमबार

सगरमाथा संवादको तयारी अन्तिम चरणमा

चाँदनी हमाल

काठमाडौँ, वैशाख २९ गते । नेपाल सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादको पहिलो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । आउँदो शुक्रबार भव्य समुद्घाटन गर्ने तयारीसहित गृहकार्य भइरहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले जनाएको छ । पहिलो संस्करणको सगरमाथा संवाद जलवायु परिवर्तन, हिमाल र मानवीयताको भविष्य नाराका साथ आयोजना हुँदै छ । वैश्विक मञ्चका रूपमा स्थापित गर्न खोजिएको सगरमाथा संवादको चीनबाट नेपाल आउने उच्च नेतृत्वले उद्घाटन गर्ने भएको छ ।

यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीलाई प्रमुख अतिथिका लागि आग्रह गरिएकोमा उहाँको समय अभावले आउन नभ्याउने जवाफ आएको थियो । सगरमाथा संवाद आयोजनाका लागि उच्चस्तरमा प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्व रहेको ‘स्टेरिङ कमिटी’, परराष्ट्रमन्त्री डा. आरजु राणाको संयोजकत्वमा रहेको व्यवस्थापन समिति, सचिवालय, मिडिया व्यवस्थापन समिति तथा कार्यदलसहितका समितिलाई यतिबेला भ्याइनभ्याइ छ । प्रधानमन्त्री ओलीको निर्देशन र रेखदेखमा तयारी तीव्र पारिएको छ ।

कार्यक्रम आउन चार दिन मात्र बाँकी रहँदा सबैले आफ्ना क्षेत्रको जिम्मेवारीलाई विशेष ध्यान दिएको सगरमाथा संवाद सचिवालयका सदस्यसचिव डा. महेश्वर ढकालले जानकारी दिनुभयो । उहाँले पहिलो संस्करणको उद्घाटनसँगैका सबै कार्यक्रमलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सफल बनाउने गरी तयारी गरिएको छ । उहाँले भन्नुभयो, “प्रधानमन्त्री, मन्त्रीदेखि सरकारका सबै निकायका पदाधिकारीको एउटै ध्येय सगरमाथा संवाद सफल बनाउनुभएकाले हामी सबै जुटेका छौँ ।” उहाँका अनुसार प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय, वन तथा वातावरण मन्त्रालयसहित सबैको तयारी उच्च रहेको छ ।

सगरमाथा संवादलाई भव्य बनाउन तयारी पनि त्यही अनुसार चलिरहेको सचिवालय सदस्य डा. प्रकाशसिंह थापाले जानकारी दिनुभयो । समग्र वन तथा वातावरण मन्त्रालय विषयगत तयारीमा जुटेको छ । सचिवालयका लागि विषयगत सत्रसँगै सहभागीको व्यवस्थापन मुख्य चोटिलो विषय रहेको छ । त्यसका लागि सबै मन्त्रालयबिच उच्चस्तरीय समन्वयका साथ काम भइरहेको छ । केही दिनअघि छिमेकी मुलुक भारत र पाकिस्तानबिचको तनावले थोरै असहजता ल्याए पनि शनिबार युद्धविरामको घोषणासँगै फेरि सहज हुँदै गएको उहाँले बताउनुभयो ।

करिब ४० देशबाट सगरमाथा संवादमा सहभागी हुन १७० भन्दा बढी पाहुना आउने सुनिश्चित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । जसमा चीन र जापानबाट उच्च नेतृत्वको सहभागिता सुनिश्चित भएको छ । सोही सङ्ख्यामा नेपालबाट पनि प्रत्यक्ष सहभागिता रहने छ ।

व्यवस्थापन समिति संयोजकका हैसियतमा परराष्ट्रमन्त्री राणाले सहभागिताको सभ्य र भव्य सुनिश्चितमा जोड दिइएको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार संवादको आन्तरिक तथा बाह्य सबै तयारी पूरा हुने चरणमा रहेको छ । उहाँले भन्नुभयो, “हिमाल नेपालको मात्र होइन, विश्वकै जलवायुको मानक हो भन्ने ध्यानाकर्षण विश्वलाई गराउने गरी सगरमाथा संवादको तयारी भइरहेको छ ।” विदेशी पाहुनामा संयुक्त राष्ट्रसङ्घका उच्च नेतृत्वको पनि सहभागिता हुने भएको छ । विशेष गरी विभिन्न मुलुकका विदेशमन्त्री तथा वनमन्त्रीको सहभागिता रहने तय भएको मन्त्रालयले जनाएको छ ।

भारतद्वारा सवारीसाधन हस्तान्तरण

नेपाल सरकारद्वारा यसै हप्ता आयोजना गरिने सगरमाथा संवादको पहिलो संस्करणका लागि सहयोगस्वरूप भारत सरकारले १५ वटा विद्युतीय सवारीसाधन (गाडी) उपलब्ध गराएको छ । नेपाल–भारत सहयोग कार्यक्रम अन्तर्गत उपलब्ध गराइएका ती सवारीसाधन आइतबार परराष्ट्र मन्त्रालयमा आयोजित एक समारोहमा परराष्ट्रमन्त्री राणालाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हस्तान्तरण गर्नुभएको हो ।

त्यस अवसरमा मन्त्री डा. राणाले नेपालले आयोजना गरेको सगरमाथा संवादका लागि उपलब्ध गराएको सो सहयोगका लागि भारत सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले जलवायु परिवर्तन नेपालको मात्र नभएर यस क्षेत्रकै एक साझा चुनौतीका रूपमा रहेकाले यसको समाधानका लागि पनि सबैको आपसी समन्वय र सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो ।गोरखापत्र दैनिकमा खबर छ ।

२०८२ बैशाख २९, सोमबार प्रकाशित 0 Minutes 11 Views

ताजा समाचार