२०८२ बैशाख २५ बिहीबार

रित्तो संसदमा छलफल

नारायण काफ्ले

काठमाडौँ, वैशाख २५ गते । नीति तथा कार्यक्रममाथि संसद्मा भइरहेको छलफल कर्मकाण्डी बन्दै गएको छ । छलफलमा भाग लिने सांसदको उपस्थितिसमेत संसद्का दुवै सदनमा नगण्य छ । आफ्ना धारणा राख्ने र बाहिरिने क्रमले नीति कार्यक्रममाथिको छलफल करिब करिब खाली सभामा भइरहेको छ ।

प्रतिनिधि सभामा नीति कार्यक्रममाथिको पछिल्लो तीन दिनको छलफलको अन्त्यसम्म नगण्य सांसद मात्र सभामा उपस्थित छन् । कुनै प्रश्न वा प्रस्ताव निर्णयार्थ पेस गर्नुपर्ने अवस्थाबाहेक गणपूरक सङ्ख्या आवश्यक नपर्ने भएपछि सांसदहरू हाजिर गरेर र आफ्नो बोल्ने क्रमपछि बाहिरिने गरेका छन् ।

सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते सङ्घीय संसद्को संयुक्त बैठकमा नीति कार्यक्रम पेस गर्नुभएको थियो । नीति कार्यक्रममा वैशाख २२ गतेबाट सभामा छलफल सुरु भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलको प्रस्ताव गर्नुभएसँगै प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट छलफल प्रारम्भ भएको थियो ।

छलफल प्रारम्भमा संशोधनकर्ता ३६ जनाले धारणा राखेका थिए । संशोधनकर्तापछि अन्य १५ सांसदले पनि छलफलमा भाग लिएका थिए । त्यसपछिका बैठकमा सुरुवातको उपस्थिति उल्लेख्य भए पनि छलफलका क्रममा सांसदको उपस्थिति निकै न्यून छ । नीति कार्यक्रमको छलफलमा शीर्ष नेताको उपस्थिति पनि न्यून छ । अन्य सांसद पनि उपस्थित हुने र फर्कने क्रम देखिन्छ ।

प्रतिनिधि सभामा मङ्गलबार २०८ सांसदको उपस्थिति थियो । आकस्मिक, शून्य र विशेष समयपछिको नीति कार्यक्रमको छलफलमा २१ सांसदले भाग लिएका थिए । खाली सभामा नै नीति कार्यक्रम छलफल भएको थियो ।

न्यून उपस्थितिमा छलफलको क्रम बुधबार पनि जारी नै रह्यो । संसद् सचिवालयका अनुसार बुधबार २१० सांसदको उपस्थिति छ तर नीति कार्यक्रमको छलफल भने खाली सभामा नै भयो । बुधबार पनि शीर्ष नेताको पहिलो लहर खोली नै थियो । सत्तापक्ष तथा प्रतिपक्ष दलका अधिकांश शीर्ष नेता उपस्थित छैनन् । आकस्मिक तथा विशेष समयपछि बुधबार २० भन्दा बढी सांसदले नीति कार्यक्रमको छलफलमा भाग लिएका छन् ।

भारत–पाक युद्धबारे ध्यानाकर्षण

भारत पाकिस्तान युद्धले नेपालमाथि पार्ने प्रभावबारे चनाखो हुन सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । काश्मीरको पहलगाममा आतङ्कवादी हमला भएको दुई सातापछि भारतले पाकिस्तानमाथि हमला गरेको हो । भारत–पाकिस्तानको युद्धको सन्दर्भमा सचेत रहन र आवश्यक सतर्कताका लागि सांसदले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रतिनिधि सभामा पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले घटनाबारे सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । साउदले पाकिस्तानका सैन्य अधिकारीको नेपाल भ्रमणबारे पनि चासो प्रकट गर्नुभयो । उहाँले पूर्वनिर्धारित कार्यक्रम भए पनि उक्त भ्रमण समयसान्दर्भिक नभएको टिप्पणी गर्नुभयो ।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पाकिस्तानी सेनाका उच्च अधिकारीको भ्रमण उपयुक्त समयमा नभएको बताउनुभयो । सिंहले तिनै सेना प्रमुखको नेपाल भ्रमणको आवश्यकताबारे पनि प्रश्न उठाउनुभयो ।

सांसद सर्वेन्द्रनाथ शुक्लले आतङ्कवादका सम्बन्धमा नेपालले आफूलाई प्रस्ट हुनु आवश्यक रहेको बताउनुभयो । असंलग्न परराष्ट्र नीति अवलम्बन भए पनि आतङ्कवादी क्रियाकलापबारे स्पष्ट हुन आवश्यक रहेको शुक्लाको भनाइ छ । उहाँले पहलगाम आक्रमणको निन्दा पनि गर्नुभयो ।

सांसद सञ्जयकुमार गौतमले दुई देशबिचको युद्धले नेपाललाई पार्ने प्रभावबारे सरकार सचेत हुनुपर्ने धारणा राख्नुभयो । खुला सीमाका कारण नेपालमा पर्न सक्ने प्रभावबारे सरकार सतर्क हुनुपर्ने पनि गौतमको धारणा थियो ।गोरखापत्र दैनिकमा खबर छ ।

 

२०८२ बैशाख २५, बिहीबार प्रकाशित 1 Minute 9 Views

ताजा समाचार