२०८२ बैशाख २२ सोमबार

७० वर्षपछि नेपाल प्रहरीमा स्टाफ कलेज कोर्सको सुरुवात

न्युज अफ नेपाल

–नेतृत्व विकासतर्फ ऐतिहासिक कदम
–२०७० साल चैतमा भर्ना भएका निरीक्षकहरू कोर्समा सहभागी
–स्टाफ कलेजमा सहभागी १७ मध्येबाट आईजीपी बन्ने

काठमाडौं ।

नेपाल प्रहरीको स्थापनाको ७० वर्षपछि संगठनभित्र पहिलोपटक स्टाफ कलेज कोर्स शुरू गरिएको छ । लामो समयदेखि भइरहेको बहस, छलफल र प्रयासपछि नेतृत्व विकासलाई उद्देश्य बनाउँदै यो कोर्स लागू गरिएको हो ।

नेपाल प्रहरीले जानकारी गराएअनुसार संगठनमा सक्षम, निष्ठावान् र रूपान्तरणकारी नेतृत्व उत्पादन गर्ने उद्देश्यले कोर्स सञ्चालनमा ल्याइएको हो । विगतमा कोर्स सञ्चालनको विषयमा प्रहरी संगठनभित्र विभिन्न तहमा छलफल र विवादसमेत भएका थिए ।

२०४६ सालपछिको राजनीतिक परिवर्तनपछि पनि प्रहरी संगठन सुदृढ बनाउनेतर्फ ठोस पहल नहुँदा संगठन नेतृत्वहीनजस्तो देखिँदै आएको थियो । तर, केही पूर्वप्रहरी महानिरीक्षकहरूको दीर्घकालीन प्रयासले अहिले सार्थकता पाएको छ । नेपाल प्रहरीमा पहिलोपटक लागू गरिएको स्टाफ कलेज कोर्स २०७० सालमा प्रहरी निरीक्षकमा भर्ना भएका ब्याचका लागि लागू गरिएको हो । प्रारम्भिक चरणमा २०७० साल चैतमा भर्ना भएका निरीक्षकहरू (प्रशिक्षणको १५८ तथा पिजी सातौं ब्याच) बाट १७ जना डीएसपी प्रवेश परीक्षामार्फत छनोट भएका छन् ।

गत वर्ष पुस ११ गते बसेको ‘पुलिस लिडरसिप एन्ड स्टाफ कलेज व्यवस्थापन समिति’को बैठकले पुलिस लिडरसिप एन्ड स्टाफ कोर्स कार्यप्रणाली–२०८१ र प्रवेश परीक्षा कार्यादेश–२०८१ पारित गरेसँगै कोर्सको कार्यान्वयन अघि बढाइएको थियो । १४ महिनाको यो कोर्समा १२ महिना आवासीय प्रशिक्षण र २ महिना अनुसन्धान (थेसिस) कार्यका लागि छुट्याइएको छ । विस्तृत पाठ्यक्रममा प्रहरी प्रशासन, सार्वजनिक सेवा, अपराध अनुसन्धान, सुरक्षा अध्ययन, रूपान्तरणकारी नेतृत्व, फरेन्सिक विज्ञान, विपद् तथा द्वन्द्व व्यवस्थापनलगायतका विषय समावेश गरिएका छन् ।

साथै, हाल संसद्मा विचाराधीन प्रहरी विधेयकमा स्टाफ कलेज नगरेका अधिकृतहरूलाई एसएसपीभन्दा माथिल्लो पदमा बढुवा नहुने प्रावधान समेत समावेश गरिएको छ । कोर्सको उद्घाटन समारोहमा गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीमा नेतृत्व विकासका लागि स्टाफ कलेज कोर्स ऐतिहासिक कोसेढुंगा सावित हुने विश्वास व्यक्त गर्दै भन्नुभयो– ‘यो कोर्सले प्रहरी संगठनमा सकारात्मक रूपान्तरण ल्याउनेछ । यद्यपि, परिणाम देखिन केही वर्ष लाग्न सक्छ । तर, यसको प्रभावकारी परिणाम पाँच–दश वर्षभित्र अवश्य देखिनेछ ।’

त्यसै गरी, गृहसचिव गोकर्णमणि दुवाडीले कोर्समार्फत भावी नेतृत्व निर्माणको दिशामा नेपाल प्रहरीले उल्लेखनीय कदम चालेको बताउँदै आधुनिक चुनौतीहरूको सामना गर्न सक्षम अधिकृतहरू तयार हुने विश्वास व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक दीपक थापाले आर्टिफिसियल इन्टेलिजेन्स र प्रविधिजन्य चुनौतीहरूको सामना गर्न आजको प्रहरी नेतृत्वले उच्चस्तरको ज्ञान, सीप, निष्ठा र व्यावसायिकता आवश्यक भएको उल्लेख गर्दै कोर्स प्रशिक्षार्थीहरूलाई पूर्ण समर्पण र अनुशासनका साथ प्रशिक्षणमा सहभागी हुन आग्रह गर्नुभयो ।

नेपाल प्रहरीमा योग्य, नैतिकवान् र दूरदर्शी नेतृत्व निर्माण गर्ने दिशातर्फको यो कोर्स एक महत्वपूर्ण र ऐतिहासिक यात्रा हो, जसले संगठनलाई नयाँ युगमा प्रवेश गराउने अपेक्षा गरिएको छ ।

२०८२ बैशाख २२, सोमबार प्रकाशित 0 Minutes 8 Views

ताजा समाचार