२०८२ बैशाख २१ आईतवार

बाह्र विद्यालयका संस्थापकको वृद्धाश्रममा बास !

सर्वस्व नै यही : आफूले स्थापना गरेका विद्यालयको नामावली देखाउँदै घिमिरे ।

नवीनराज कुइँकेल

तार्कुघाट (लमजुङ), वैशाख २१ गते । कुनैबेला लमजुङको उत्तरी क्षेत्रमा शिक्षाको ज्योति बाल्ने व्यक्ति हुनुहुन्थ्यो टेकनारायण घिमिरे । हालको मस्र्याङ्दी गाउँपालिकाका १२ वटा विद्यालयको सुरुवातसँगै चितवनका तीन वटा विद्यालयमा समेत उहाँले अध्यापन गराउनुभयो । घिमिरेको कामै दूरदराजमा विद्यालय स्थापना गर्ने र स्थानीय बालबालिकालाई विद्यालय पु¥याउने थियो । दुर्गममा शिक्षाको ज्योति फैलाउने घिमिरे अहिले वृद्धावस्थामा वृद्धाश्रमको सहारामा पुग्नुभएको छ ।

लमजुङको मस्र्याङ्दी गाउँपालिका–६, बाहुनडाँडाको लामपाटा स्थायी निवासी ८० वर्षीय घिमिरेले सो क्षेत्रमा १२ विद्यालयको थालनी गर्नुभयो । उत्तरी लमजुङको शिक्षाको संस्थापक भनेर चिनिने घिमिरेको योगदानलाई अहिले न राज्यले चिन्यो न त स्थानीयले नै सम्मान गर्न सके । अन्ततः उहाँ बेसहारा बन्दै वृद्धाश्रममा थन्किनुभयो । पहिलेको जममनामा ८ कक्षा उत्तीर्ण गरेपछि स्कुलमा पढाउन पाइन्थ्यो । त्यतिबेला संस्कृतमा तीक्ष्ण घिमिरे सबैको हाई हाई हुनुहुन्थ्यो । १० कक्षा पढ्नुभएका घिमिरेलाई संस्कृत पढाउने राम्रो शिक्षक भन्दै सबैतिर तानातान हुन्थ्यो । उहाँकै पहलमा दर्जन विद्यालय खुले । उहाँले अध्यापन गराएका विद्यालयमा चन्द्रोदय माध्यामिक विद्यालय बाहुनडाँडादेखि चितवनको शशिनगर आधारभूत विद्यालयसम्म छन् ।

शिक्षण पेसामा २५ वर्षभन्दा बढी बिताउनुभएका घिमिरेले घरजम गर्ने, जायजेथा जोड्ने समय नै दिनुभएन । उहाँसँग अहिले सम्पत्तिको नाममा तिनै विद्यालयले दिएको प्रमाणपत्रबाहेक अरू केही छैन । “सम्पत्ति, श्रीमती, परिवार सबै यही हो,” घिमिरेले भन्नुभयो, “दुर्गम गाउँमा विद्यालय खोल्न पाएँ, अहिले सबैले पढ्न पाए, त्यही नै खुसी लागेको छ ।” उहाँको योगदानको अभिलेख शिक्षा समन्वय एकाइ लमजुङमा समेत छैन । सरकारले एसएलसी उत्तीर्ण गरेका दरबन्दीका शिक्षक पठाउन थालेपछि उहाँले एक विद्यालय हुँदै अर्को विद्यालय चहार्नु प¥यो । पछि सबै विद्यालयमा एसएलसी उत्तीर्ण शिक्षक पुगेपछि उहाँ शिक्षण पेसाबाटै बाहिरिनुभयो । मस्र्याङ्दी–३, सिउरुङको लताकुञ्ज आधारभूत विद्यालयका प्रधानाध्यापक उमरजङ्ग गुरुङले शिक्षाको ज्योति फैलाउने घिमिरेलाई राज्यले सम्मान गर्न नसकेको बताउनुभयो । आफ्नो विद्यालयमा करिब पाँच वर्ष पढाएपछि स्टकोट र ढाकाटोपी लगाइदिएर बिदाइ गरेको गुरुङ स्मरण गर्नुहुन्छ ।

एसएलसी पास नभएकाले उहाँ स्थायी हुन सक्नुभएन । विद्यालयबाट आवकाश लिनु परेपछि घिमिरे केही समय पूजापाठ गरेर गाउँघरतिर चहार्नुभयो । पूजापाठबाट पनि गुजारा नचलेपछि गाउँलेको गोठमा बसेर काम गरेको घिमिरेले बताउनुभयो । “उमेर ढल्कँदै गएपछि लेकबेँसी गर्न सकिनँ । हातखुट्टा गल्दै गएपछि काम गर्न पनि सकिनँ,” घिमिरेले भन्नुभयो, “मेरो योगदानको मूल्याङ्कन भएन, जीवन जिउने सहारा नभएपछि वृद्धाश्रमको बास भयो ।” बेसहारा बनेपछि गाउँलेको सहयोगमा घिमिरेलाई १० वर्षअघि राइनास–८, तार्कुघाट हर्राबोटमा रहेको सर्वोदय सेवाश्रम धर्मनाथ धाम आश्रममा ल्याइएको हो । अधिकांश दाँत झरेका घिमिरे राम्रोसँग सुन्न पनि सक्नुहुन्न ।

आफू जस्तै बेसहारा वृद्धवृद्धाबिच बस्न पाउँदा निकै खुसी लागेको घिमिरे बताउनुहुन्छ । तिनै बुढाबुढीबिच उहाँ संस्कृतका श्लोक, बालन, भजन र कविता सुनाएर बस्नुहुन्छ । राजनीतिमा बढ्ता चाख दिने घिमिरेले कान सुन्न नसक्दा रेडियो सुन्न नपाएको बताउनुभयो । आफू भएको ठाउँमा पत्रपत्रिका नआउँदा खबरबाट वञ्चित हुनु परेको गुनासो पनि उहाँको छ ।

वृद्धाश्रममा बसे पनि उहाँ त्यसै बस्नुभएको छैन । हाल उहाँ आफ्नो आत्मकथा लेखनमा लाग्नुभएको आश्रमका अध्यक्ष कृष्णराज ओलियाले बताउनुभयो । उहाँको आत्मकथा आश्रमले नै प्रकाशन गरिदिने तयारी गरिएको ओलियाले बताउनुभयो । “उहाँले शिक्षा क्षेत्रमा दिएको योगदानको कदर हुन सकेन, राज्यलाई थप घचघच्याउन आत्मकथा प्रकाशनको तयारीमा छौँ,” ओलियाले भन्नुभयो ।गोरखापत्र अनलाइन

 

२०८२ बैशाख २१, आईतवार प्रकाशित 1 Minute 8 Views

ताजा समाचार