
अमृत प्रसाद पौडेल
म्याग्दी, वैशाख १३ गते । पवित्र तीर्थस्थल गलेश्वर धाम मन्दिरको नाउमा रहेको झन्डै एक सय आठ रोपनी गुठीको जग्गा गायब भएको छ । मन्दिर व्यवस्थापन तथा सञ्चालनका लागि स्थापना गरिएको गुठीको जग्गा गलेश्वर शिवालय क्षेत्र विकास कोषको तथ्याङ्क अनुसार हराएको हो । जिल्ला मालपोत कार्यालयको रेकर्डमा जमिन देखिए पनि गलेश्वर शिवालय क्षेत्र विकास कोष सँग त्यसको कुनै पनि रेकर्ड देखिएको छैन ।

गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीका अनुसार शिवालयको नाउँमा हाल करिब ५६ रोपनी जग्गाको लालपुर्जा रहेको छ । पहिला सृजना गरिएको गुठी र पछि पानीका लागि भनेर जलजला गाउँपालिका पर्वतमा खरिद गरिएको एक रोपनी जग्गा गलेश्वर शिव गुठीको नाउँमा रहेको उहाँको भनाई छ । तर मालपोत कार्यालय म्याग्दीको रेकर्ड अनुसार भने गलेश्वर शिव गुठीका नाउँमा विभिन्न स्थानमा गरी एक सय ६४ रोपनी भन्दा धेरै जग्गा देखिएको छ । मालपोत कार्यालयले दिएको जानकारी अनुसार गलेश्वर शिव गुठीका नाउँमा एक सय ६४ रोपनी ९ आना दुई दाम जग्गा देखिन्छ । उक्त तथ्य अनुसार बेनी नगरपालिका ५ पुला चौरमा ९ रोपनी ८ आना ३ पैसा २ दाम, अर्थुङ्गेमा ६ रोपनी १० आना ३ पैसा ३ दाम र बेनी नगरपालिका ९ घतान क्षेत्रमा १४९ रोपनी ९ पैसा २ दाम गुठीको जग्गा भएको देखिन्छ । गलेश्वर शिवालय क्षेत्र विकास कोष सँग पुला चौर तथा अर्थुङ्गेको तथ्याङ्क देखिँदैन भने घतान क्षेत्रको पनि मात्रै ५६ रोपनी हाराहारी जमिनको मात्र जग्गाधनी पुर्जा छ ।
गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले विगतमा को कसले कसरी जग्गा हडपे थाहा भएन तर अहिले हामी सँग भएको जग्गाको सुरक्षा गर्ने काम गरेको बताउनुभयो । उहाँले गुठी संस्थाका निर्देशक सँग पनि आफूले समन्वय गरेको भए पनि त्यहाँबाट पनि खासै सकारात्मक प्रतिक्रिया नआएको बताउनु भयो । हराएका हराइहाले भएकालाई जोगाउनु न भन्ने खालको प्रतिक्रिया आफूले पाएको अध्यक्ष रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो भकारीलाई नाम्लो लगाएर बोक्न सकिँदैन लगेका लगी हाले अब भएकोलाई सुरक्षा गर्नुपर्छ भनेर गुठी संस्थानका निर्देशकले नै हामीलाई भने पछि हामीले त्यता तर्फ ध्यान दिएका छौँ । पहिला सुरक्षा गर्ने तर्फ समिति वा संस्थागत कुनै निकाय नभएकोले अरूले हडपेको होलान् तर अब सबै हाम्रो जमिनलाई पर्खाल लगाएरै जोगाउने काम गरेका छौँ । अहिले गलेश्वर मन्दिर वरपर रहेको जमिनलाई सुरक्षा दिइएको छ अन्यत्र भएको कतिपय जमिन व्यक्तिले हडपेर लगे ।
बेनी नगरपालिका ४ आँगे बजार नजिकको क्षेत्रमा पनि गलेश्वरको शिव गुठीको जग्गा रहेकोमा तत्कालीन अवस्थामा स्थानीय चक्रबहादुर केसीले आफ्नो बनाएका हुन् अध्यक्ष रेग्मीले भन्नुभयो । केसीले साहेद निश्चित प्रक्रिया अपनाएर आफ्नो बनाएका होलान्, त्यस्तै गरी कति जग्गा अरूले बनाए यकिन तथ्य नै छैन तर अहिले जो छ त्यसको सुरक्षा गर्ने तर्फ हाम्रो ध्यान छ उहाँले सुनाउनुभयो ।
अधिवक्ता तथा गलेश्वरका स्थानीय बासिन्दा प्रेमबहादुर कार्कीले आफूहरूलाई गलेश्वरको नाउँमा यतिका धेरै जमिन रहेको थाहै नभएको बताउनुभयो । उहाँले गलेश्वर शिवालय क्षेत्र विकास कोषले आफ्नो जमिन खोज्नका लागि उचित कानुनी प्रयास गर्नु पर्ने तर्फ सोच्नु पर्ने तर्क गर्नुभयो ।गोरखापत्र अनलाइन