२०८२ बैशाख १२ शुक्रबार

कोशी प्रदेशमा लगानी गर्न आग्रह

विराटनगर । नेपाल–भारत उद्योग वाणिज्य सङ्घ (एनआइसिसिआई) कोशी प्रदेश समितिले लगानीका लागि कोशी प्रदेशमा उपयुक्त वातावरण रहेको भन्दै लगानीका लागि भारतीय लगानीकर्तालाई आग्रह गरेको छ । सङ्घका कोशी प्रदेश अध्यक्ष मुकेश उपाध्यायले उद्योग, कृषि, पर्यटन तथा अन्य विविध क्षेत्रमा लगानीको सम्भावना रहेको जानकारी गराउनुभएको हो ।

भारतको बिहार राज्यस्थित पूर्णियामा आयोजना भएको ‘नेपाल–भारत साझेदारी शिखर सम्मेलन’ मा नेपाली पक्षको प्रतिनिधित्व गर्दै गएका उपाध्यायले लगानीका लागि आग्रह गर्नुभएको हो । सम्मेलनमा नेपाल–भारत उद्योग वाणिज्य सङ्घ (एनआइसिसिआई) कोशी प्रदेश समितिले सहभागिता जनाएको थियो ।

सम्मेलनमा सबहिमालयन रिसर्च इन्स्टिच्युट, नेपाल–भारत सेन्टर र पिएचडी च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज, नयाँ दिल्लीसमेतको समन्वय रहेको थियो ।

जवाहरलाल नेहरू विश्वविद्यालयका ट्रस्टी प्रा. मनिन्द्रनाथ ठाकुरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सबहिमालयन रिसर्च इन्स्टिच्युटका अध्यक्ष प्राध्यापक रत्नेश्वर मिश्रा, नेपाल–भारत सेन्टर र पिएचडी च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका सचिव अतुल ठाकुर, पूर्णिया विश्वविद्यालयका उपकुलपति प्राध्यापक पवनकुमार झासमेतको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल–भारत आपसी सम्बन्ध, नागरिकबिचको सम्बन्ध, वातावरणीय सहकार्य र सामूहिक विपत् व्यवस्थापन, आर्थिक अन्तरनिर्भरता तथा व्यापार, नेपाल–भारत द्विपक्षीय सहकार्यमा तीव्रता, नेपाल–भारतको औद्योगिक विकास प्रवर्धन, द्विपक्षीय व्यापार नीतिको पुनरवलोकन (१९५० को सन्धि र १९९६ को पुनरवलोकन) र सीमा क्षेत्रको विकासलगायत विषयमा कार्यपत्र प्रस्तुत गरी छलफल गरिएको थियो।

कार्यक्रममा सबहिमालय रिसर्च इन्स्टिच्युट तथा विद्या विहार इन्स्टिच्युट अफ टेक्नोलोजी र नेपाल–भारत उद्योग वाणिज्य सङ्घ कोशी प्रदेशबिच आपसी सम्बन्धका विविध विषयमा समझदारीपत्रमा हस्ताक्षर पनि भएको अध्यक्ष उपाध्यायले जानकारी दिनुभयो ।गोरखापत्र अनलाइन

 

२०८२ बैशाख १२, शुक्रबार प्रकाशित 1 Minute 8 Views

ताजा समाचार