२०८० जेष्ठ १८ बिहीबार

इतिहासका प्रधानमन्त्रीहरू : यो पटक कसले मार्ला बाजी

पुसको जाडोमा बाहिरी तापमान जति चिसिए पनि देशमा राजनीतिक सरगर्मी उच्च छ । पाँच पटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवा छैठौँ पटक पनि हुने दाउमा छन् । यसैगरी प्रचण्ड तेस्रो पटक, ओली तेस्रो पटक, माधव नेपाल दोस्रो पटक प्रधानमन्त्री हुने दौडमा आफ्नो बुताले भ्याएसम्म कसरत गरिरहेका छन् ।

२०७९ को नवगठित संसद्ले पुरानै अनुहारलाई निरन्तरता दिने हो कि कुनै नयाँ अनुहारलाई मौका दिने हो केही दिनभित्र थाहा हुनेछ । कोही नयाँ व्यक्ति प्रधानमन्त्रीमा आसीन हुन आयो भने ऊ नेपालको ३९औँ नम्बरको प्रधानमन्त्री हुनेछ ।

आज इतिहासको यही पाना पल्टाउँदै लेख्ने मनस्थितिमा छु ।

विसं २०७९ मा अहिले शेरबहादुर प्रधानमन्त्री पदमा आसीन छन् । आजभन्दा २०० वर्षअगाडि १८७९ मा भीमसेन थापा प्रधानमन्त्री थिए । त्यस बेला प्रधानमन्त्रीलाई मुख्तियार भन्ने चलन थियो । १८६३ मा मुख्तियार बनेका भीमसेन थापाले १८९४ सम्म ३१ वर्ष लामो कार्यकाल पूरा गरेका थिए ।

थापाभन्दा पहिला १८६० मा १३ महिनाका लागि दामोदर पाण्डे मुख्तियार रहेका थिए । पाण्डे नै नेपालको पहिलो प्रधानमन्त्री थिए ।

नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको समयमा उनले राजकाजका लागि कसलाई नियुक्त गरेका थिए थाहा नभए पनि शाहवंशका दोस्रो राजा प्रतापसिंह शाहले वंशराज पाण्डेलाई दिवान दिएको देखिन्छ ।

शाह वंशीय राजा रणबहादुर शाह र गीर्वाणयुद्ध विक्रम शाहको बेलासम्म आउँदा दिवान– काजी– मूलकाजी– मूल चौतरिया– मुख्तियार भनिने पद १८३३ देखि १८६० सम्म चलेको देखिन्छ । यो २७ वर्षको अवधिमा ६ जनाले नियुक्ति पाएका थिए ।

राणा युगको प्रारम्भ हुनुभन्दा पहिला दामोदार पाण्डे, भीमसेन थापा, राणाजङ पाण्डे, रङ्गनाथ पौडयाल, पुष्कर शाह, फतेहजङ्ग शाह, माथवर सिंह थापा मुख्तियार रहेका थिए । १८६० देखि १९०३ सम्म अर्थात् ४३ वर्षसम्म राजकाज चलाउने यी ७ जना तत्कालीन समयमा मुख्तियार भए पनि यिनलाई पछि आएर प्रधानमन्त्री भनियो ।

राणा युगका सर्वाधिक चर्चित जङ्गबहादुर राणाले आफूलाई पहिलो पटक प्रधानमन्त्री भन्न लगाएका थिए । यिनको पहिलो कार्यकाल १९०३ देखि प्रारम्भ भई १९१३ सम्म ३,६०८ दिनको रहेको देखिन्छ । ११ महिनाको अन्तरालमा १९१४ मा यी पुनः प्रधानमन्त्री बने । यस पटक कार्यकाल १९१४ देखि १९३४ सम्म झन्डै २० वर्ष ७,१८२ दिन रह्यो ।

१०५ वर्षीय लामो राणा युगमा (१९०३ देखि २००८ सम्म) ११ जना प्रधानमन्त्री बने । जङ्गबहादुरले सर्वाधिक झन्डै ३० वर्ष कुल मिलाएर १०,७९० दिन र चन्द्र शमशेर जङ्गबहादुर राणाले झन्डै २८ वर्ष कुल मिलाएर १०,३७९ दिन प्रधानमन्त्री पदमा बसेर रेकर्ड राखे । यस युगका अन्तिम प्रधानमन्त्री मोहन शमशेर थिए ।

२००७ मा भएको क्रान्तिले नेपालमा राणा युगको अन्त्य गर्दै नेपाललाई तेस्रो किसिमको व्यवस्थामा प्रवेश गरायो ।

२००८ मङ्सिर १ गते मातृकाप्रसाद कोइराला १८औँ नम्बरका प्रधानमन्त्री बने । जनक्रान्तिबाट बनेका प्रधानमन्त्रीको कार्यकाल जम्मा २७२ दिनको रह्यो । तत्कालीन राजा त्रिभुवनले शासन सत्ता आफ्नो हातमा लिए । तर पहिलो गाँसमै ढुङ्गा भनेजस्तै प्रधानमन्त्री पद राजाको पोल्टामा गयो । ३०५ दिनसम्म राजा त्रिभुवनले शासन आफैँ चलाएर २०१० असार २ मा मातृकाप्रसादलाई प्रधानमन्त्री बनाए । यस पटक मातृकाको कार्यकाल ६६८ दिन रह्यो । फेरि मातृका प्रसादलाई नयाँ राजा महेन्द्रले हटाए, २०११ चैत २९ देखि २०१२ वैशाख १ गतेसम्मका लागि ३ दिनका लागि सूर्यबहादुर थापा कार्यवाहक प्रधानमन्त्री बने ।

नव वर्ष २०१२ को पहिलो दिन नै तत्कालीन राजा महेन्द्रले शासन आफूमा फर्काए । २८८ दिन देशले ‘डाइरेक्ट रुल बाई किङ्ग’ परिस्थिति बेहोर्नु प¥यो । २०१२ माघ १३ गते टङ्कप्रसाद आचार्य १९औँ प्रधानमन्त्री बने । कार्यकाल रह्यो ५४६ दिन । इन्द्रजित सिंह २०औँ (२९३ दिन) सुवर्ण शमशेर २१ ओ (३७७ दिन) प्रधानमन्त्री बने । सुवर्ण शमशेरको पालामा २०१५ फागुन ७ गते नेपालमा पहिलो पटक आम चुनाव भयो ।

२०१० को तथ्याङ्कअनुसार त्यसबेला नेपालको जनसङ्ख्या झन्डै ८० लाख थियो । झन्डै ४२ लाख भोट खसेको थियो । १०९ सदस्यीय संसद्मा नेपाली कांग्रेसले ७४ र गोरखा परिषद्ले १९ सिट जितेका थिए । नेपालमा २०१५ मा भएको आमनिर्वाचनमा पनि ४ जना स्वतन्त्रले चुनाव जितेका थिए ।

२०१६ जेठ १३ गते पहिलो जननिर्वाचित प्रधानमन्त्रीका रूपमा विशेश्वरप्रसाद कोइराला नेपालको २२औँ प्रधानमन्त्री बने । उनको कार्यकाल ५६८ दिन रह्यो । निर्वाचनको २ वर्ष पूरा नहुँदै राजा महेन्द्रले २०१७ पुस १ गते शासन व्यवस्था कब्जा गरे । २००७ को क्रान्तिबाट प्राप्त प्रजातन्त्रको समाप्ति भयो । १० वर्षे यस अवधिमा ५ जना प्रधानमन्त्री बने । नेपालमा राजा महेन्द्रको बाहुलीबाट पञ्चायती व्यवस्था प्रारम्भ भयो ।

पञ्चायती व्यवस्थाको पहिलो तथा नेपालको २३औँ प्रधानमन्त्री बन्ने सौभाग्य तुलसी गिरीलाई मिल्यो । २०१९ चैत २० गते राजा महेन्द्रबाट गिरी प्रधानमन्त्री पदमा नियुक्त गरिए । यिनको कार्यकाल जम्मा २६५ दिन रह्यो । २०२० पुस ८ गते सूर्यबहादुर थापा पहिलो पटक २४औँ नम्बरको प्रधानमन्त्री बने । थापाको पहिलो कार्यकाल सुखद् हुन सकेन । ६५ दिनकै अन्तरालमा राजाले उनलाई हटाएर पुनः तुलसी गिरीलाई प्रधानमन्त्री बनाए । ३३५ दिनपछि राजा महेन्द्रको मुड फेरियो । उनले पुनः सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाए । यस पटक थापाले १,५३२ दिन शासन गरे । नेपालको प्रजातान्त्रिक इतिहासमा सबैभन्दा लामो कार्यकाल पूरा गर्ने श्रेय यसै कालखण्डलाई प्राप्त छ । २०२१ माघ १३ मा प्रधानमन्त्री बनेका थापाले २०२५ चैत २५ सम्म शासन गरे ।

२५२५ को युतिका बीच कीर्ति निधि विष्टलाई २५औँ प्रधानमन्त्री बन्ने मौका मिल्यो । २०२५ चैत २५ मा कीर्तिनिधि पहिलो पटक प्रधानमन्त्री बने । उनको कार्यकाल ३७१ दिन रह्यो ।

राजा महेन्द्रले एक वर्ष गेहेन्द्रबहादुर राजभण्डारीलाई कार्यवाहक प्रधानमन्त्री बनाए । नेपालले २६औँ प्रधानमन्त्रीका रूपमा नगेन्द्रप्रसाद रिजाललाई देख्यो । यिनी पहिलो पटक २०३० साउन १ गते ८९८ दिनका लागि प्रधानमन्त्री बने । रिजालपछि प्रधानमन्त्रीमा नयाँ अनुहारका रूपमा लोकेन्द्रबहादुर चन्दको उदय भयो । २०४० असार २८ गते लोकेन्द्र चन्द पहिलो पटक प्रधानमन्त्री बने । २७औँ प्रधानमन्त्रीका रुपमा आएका उनको कार्यकाल ९८३ दिन रह्यो । मरिचमान सिंह पञ्चायत कालका अन्तिम प्रधानमन्त्री बने । २०४३ असार १ गते मरिच मान नेपालको २८औँ प्रधानमन्त्री बनेका थिए । उनको कार्यकाल १,३९१ दिन रह्यो ।

२०४६ मा सुरु भएको पञ्चायतविरोधी आन्दोलनले सफलता पायो । राजा वीरेन्द्र झुके । बहुदल घोषणा गरे । ३० वर्षे पञ्चायती कालमा ६ वटा नयाँ अनुहारलाई देशले प्रधानमन्त्रीका रूपमा देख्यो । तर यो ३० वर्षको अवधिमा १५ पटक प्रधानमन्त्री फेरिए । तुलसी गिरी ३ पटक, कीर्तिनिधि विष्ट ३ पटक, सूर्यबहादुर थापा ३ पटक, नगेन्द्र रिजाल २ पटक, लोकेन्द्र चन्द २ पटक प्रधानमन्त्री बने । मरिचमानले एक पटक मात्रै मौका पाए ।

बहुदलीय व्यवस्थामा कृष्णाप्रसाद भट्टराई २९औँ प्रधानमन्त्री बने । यिनको पहिलो कार्यकाल ४०२ दिन रह्यो । ३०औँ प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला बने । कोइरालाको पहिलो कार्यकाल १,२८४ दिनको रह्यो ।

यसपछि देशले पहिलो कम्युनिस्ट प्रधानमन्त्री पायो । मनमोहन अधिकारी ३१औँ प्रधानमन्त्री बने । उनको कार्यकाल २८६ दिन रह्यो ।

३२औँ प्रधानमन्त्रीका रूपमा शेरबहादुर देउवाको उदय भयो । यिनको पहिलो कार्यकाल ५४७ दिन रह्यो । फेरिएको व्यवस्थामा पुरानो पञ्चायत व्यवस्थाका महारथिद्वय लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापा पुनः स्थापित भए । दुवै जना २, २ पटक प्रधानमन्त्री बने ।

२०६३ मा व्यवस्था परिवर्तन हुनुअघिसम्म गिरिजाप्रसाद ४ पटक, शेरबहादुर ३ पटक, कृष्णाप्रसाद भट्टराई २ पटक गरी १४ पटक प्रधानमन्त्री परिवर्तन हुने क्रम चल्यो । राजा ज्ञानेन्द्रको ४४८ दिने प्रत्यक्ष शासनलाई जोड्दा १५ पटक मन्त्रीमण्डल गठन भयो ।

यस १६ वर्षे अवधिमा देशले ४ जना नयाँ प्रधानमन्त्री पायो । देशमा प्रधानमन्त्री बन्ने अनुहार ३२ पुगिसकेका थिए ।

मुलुक गणतान्त्रिक बनेपछि ३३औँ प्रधानमन्त्रीका रूपमा प्रचण्ड २०६५ भदौ २ गते पहिलो पटक प्रधानमन्त्री बने । उनको कार्यकाल २८० दिन रह्यो ।

२०६६ जेठ ११ गते माधव नेपाल देशको ३४औँ प्रधानमन्त्री बने । उनको कार्यकाल ६२२ दिन रह्यो । २०६७ माघ २३ मा झलनाथ खनाल ३५औँ प्रधानमन्त्री बने । उनको कार्यकाल २०४ दिन रह्यो ।

बाबुराम भट्टराईका रूपमा नेपालले ३६औँ प्रधानमन्त्री पायो । २०६८ भदौ ११ गते प्रधानमन्त्री बनेका भट्टराईको कार्यकाल ५६३ दिन चल्यो । देशमा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनपछि सत्तामा पुनः नेपाली कांग्रेस फर्कियो । सुशील कोइराला ३७औँ प्रधानमन्त्री बने । यिनको कार्यकाल ६०८ दिन रह्यो ।

केपी शर्मा ओलीलाई ३८औँ प्रधानमन्त्री बन्ने सौभाग्य मिल्यो । २०७२ असोज २५ मा ओली नेपालका ३८औँ प्रधानमन्त्री बने । यिनको पहिलो कार्यकाल पनि लामो हुन सकेन । जम्मा २९७ दिन सत्तामा रहेका ओलीलाई प्रचण्डले पदच्यूत गर्दै आफ्नो दोस्रो इनिङ सुरु गरे । प्रचण्डको दोस्रो इनिङ पनि छोटो नै रह्यो । ३०७ दिनपछि शेरबहादुर देउवाले गणतान्त्रिक नेपालमा प्रधानमन्त्री बन्ने मौका पाए । यो शेरबहादुरको चौथो इनिङ थियो । १२ वर्षे निर्वासनपछि २०७४ जेठ २४ गते शेरबहादुर चौथो पटक प्रधानमन्त्री बने । उनको कार्यकाल २५३ दिन रह्यो ।

२०७४ को निर्वाचनपछि देशले पुनः कम्युनिस्ट प्रधानमन्त्री पायो । केपी ओली पुनः सत्तासीन भए । २०७४ फागुन ३ गते ओली दोस्रो पटक प्रधानमन्त्री बने । यस पटक कार्यकाल रह्यो १,१८३ दिन । स्वभावअनुसार कम्युनिस्टहरू धेरै दिन मिल्न सकेनन् । परिणामस्वरूप सत्ता पुनः शेरबहादुरको हात पर्न आयो । उनी पाँचौँ पटक प्रधानमन्त्री बने । उनकै नेतृत्वमा २०७९ को निर्वाचन भयो ।

बहुदलीय व्यवस्थाको अवसानपछि आएको गणतान्त्रिक व्यवस्थाका १५ वर्षमा देशले प्रधानमन्त्रीका रूपमा ६ वटा नयाँ अनुहार हेर्न पायो । ११ पटक प्रधानमन्त्री फेरिए । यसमा झन खिलराज रेग्मीलाई पनि जोड्ने हो भने १२ पटक मन्त्रीमण्डल गठन भयो । यी १५ वर्षमा गिरिजाप्रसाद कोइराला नै गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बने । उनको पाँचौँ पटकको कार्यकाल ८२ दिन रह्यो । प्रचण्ड २ पटक, शेरबहादुर २ पटक, ओली २ पटक, माधव नेपाल, झलनाथ, बाबुराम, सुशील कोइराला १, १ पटक प्रधानमन्त्री बने ।

नेपालको इतिहासमा २००७ को क्रान्तिपछि ३ पटक व्यवस्था परिवर्तन हुँदा पनि कुनै प्रधानमन्त्रीले ५ वर्षको कार्यकाल पूरा गर्न सकेनन् । २००७ पूर्व लामो समय सत्ता सञ्चालन गर्ने श्रेय (३१ वर्षसम्म) भीमसेन थापालाई छ भने दोस्रोमा दुई पटक गरेर ३० वर्ष सत्तामा रहने श्रेय जङ्गबहादुर राणा (१०,७९० दिन) जस्तै २८ वर्ष (१०,३७९ दिन) सत्तामा टिक्ने उपलब्धि चन्द्र शमशेर राणाका नाममा छ ।

२००७ पछि लामो समय सत्तामा रहने उपलब्धि सूर्यबहादुर थापालाई छ । यिनी ५ पटक गरेर ३,६५५ दिन प्रधानमन्त्री पदमा रहे । यिनको दोस्रो पटकको कार्यकाल नै कुनै पनि प्रधानमन्त्रीको सबैभन्दा लामो १,५३२ दिनको कार्यकाल बन्यो । यिनको तेस्रो कार्यकाल पनि १,५०४ दिन लामो रह्यो । २००७ देखि २०७९ सम्म बनेका २१ जना प्रधानमन्त्रीमध्ये कसैले पनि ‘सिङ्गल टर्म’मा थापा जतिको लामो सत्ता टिकाउन सकेनन । थापापछि लामो समयसम्म प्रधानमन्त्री हुने श्रेय गिरिजाप्रसादलाई प्राप्त हुन्छ । यिनले ५ पटक गरेर ३,०३२ दिन सत्ता सञ्चालन गरे । यिनको पहिलो कार्यकाल नै सबैभन्दा लामो १,२८४ दिनको रह्यो । १६ वर्षे बहुदलीय व्यवस्थामा अन्य कुनै पनि प्रधानमन्त्रीले सिङ्गल टर्ममा २ वर्ष पनि सत्ता टिकाउन सकेनन् । गिरिजापछि शेरबहादुरको पहिलो पटकको प्रधानमन्त्रित्व काल नै ५४७ दिनको कार्यकाल नै सर्वाधिक लामो कार्यकाल बन्यो । अन्य ४ पटक प्रधानमन्त्री हुँदा खुद्राखाद्रीमै कार्यकाल व्यतीत भयो । दोस्रो कार्यकालका ४३५ दिनमै शेरबहादुर राजा ज्ञानेन्द्रबाट बर्खास्तीमा परे । ज्ञानेन्द्रकै निगाह बक्सले देउवा तेस्रो पटक प्रधानमन्त्री बने । ज्ञानेन्द्रको अनुकम्पा २४३ दिन मात्रै रह्यो ।

गणतन्त्र नेपालमा शेरबहादुर चौथो पटक प्रम बने, कार्यकाल रह्यो २५३ दिन । चौथो कार्यकालसम्म देउवाले बालुवाटार र सिंह दरबारमा १,४७८ दिन बिताइसकेका थिए ।

कम्युनिस्टहरूको आपसी कलहले शेरबहादुरलाई पटके चिट्ठा पर्यो । उनी पाँचौँ पटक प्रधानमन्त्री बने । २०७८ असार २९ गते पाँचौँ पटक प्रधानमन्त्री बनेका शेरबहादुरको २०७९ पुस २ गते शनिबार यस कार्यकालको ५२१ दिन पूरा भएको छ । पुस ३ गते आइतबार देउवाको जीवनको विशिष्ट दिन हुन गइरहेछ, प्रधानमन्त्री पदमा बसेको कुल अवधि २,०००औँ दिन पूरा हुन्छ । २००७ पछिका ७२ वर्ष लामो अवधिमा सूर्यबहादुर थापा, गिरिजाप्रसादपछि सर्वाधिक सत्ता सञ्चालन गर्ने उनी तेस्रो व्यक्ति हुन् । समकालीन राजनीतिमा २,००० दिन पूरा गर्ने अर्काे कोही छैन । यस्तो सम्भावना पनि अत्यधिक न्यून छ । २ पटक प्रधानमन्त्री भएका ओलीको १,५४० दिन, प्रचण्डको २ पटकमा जम्मा ५८७ दिन, माधव नेपालको ६२२ दिन, बाबुरामको ५६३ दिन, झलनाथ खनालको २०४ दिन मात्रै पुगेको छ ।

देउवाले सत्ता सञ्चालनको २,००० दिन पुगेको उपलक्षमा जोरदार पार्टी गर्नुपर्ने हो । खै उनलाई यसबारे थाहा छ कि छैन ? छैठौँ पटक हुने दाउमा अल्झेका हुनसक्छने देउवा ! देउवाले नसही आरजू म्याडम, विनोद चौधरी, उमेश श्रेष्ठ आदिले ४०, ५० लाख खर्चिनुपर्ने हो यस उपलक्षमा ।

निर्वाचन २०७९ को परिणामले नवगठित संसद्मा शेरबहादुर नम्बर ३२, प्रचण्ड नम्बर ३३, माधव नेपाल नम्बर ३४, (३५ नम्बर झलनाथ र ३६ नम्बर बाबुराम भट्टराईको चान्स छैन । ३७ नम्बर सुशील कोइरालाको यात्रा पूर्ण भयो) र ३८ नम्बरका ओली महाशयमध्ये कसले बाजी मार्ने हुन् त्यसका लागि केही दिन प्रतीक्षा गर्नुपर्ने हुन्छ ।

सुन्नमा आएको छ गत १५ वर्षदेखि प्रधानमन्त्री बनाउन वामपन्थीहरूको सहभागिता अनिवार्य हुँदै आएकोमा (विगत १५ वर्षदेखि सबै सरकारमा वामपन्थीहरूको सहभागिता रही आएको छ) यस पटक देउवा यस अनिवार्यतालाई भङ्ग गर्न चाहन्छन् । उनी कुनै पनि प्रकारको, कुनै पनि किसिमको कम्युनिस्टलाई सहभागी नगराई सरकार गठन गर्न जोडतोड गरिरहेका छन् । यो असम्भव छैन । फेरि देउवाका लागि त संसदीय गणितमा असम्भव भन्ने केही पनि छैन ।

३२ नम्बरका लागि कांग्रेस ८९, राप्रपा १४, घण्टी २०, छाता १२, हर्न ६, साइकल ४, ढकिया ४ जोड्दा १३८ लक्ष्य पूरा गर्न गाह्रो छैन । यस्तो हुँदा एमाले ७८, माओवादी ३२, नेकपा एस १० र जनमोर्चा १ गरी १२१ हेरेको हेरै हुनेछन् ।

३२ नम्बरले ३४ नम्बरको ३३ नम्बरसँग पारपाचुके गराई आफूसँग लगे पनि कुनै अचम्म हुँदैन ।

३३ नम्बर पनि जिल्ला जिल्लामा पुगी अब आफू ‘किङमेकर’ नबनेर ‘किङ’ नै बन्ने दाबी गरिरहेका छन् । उता ३८ नम्बर भने ‘कहाँ जालास मछली मेरै ढढिया’ सम्झेर उखान तुक्काको नयाँ किताब खोजिरहेका छन् । उनी यसै संसदबाट आफू तेस्रो पटक प्रम बन्नेमा ढुक्क छन् । आज नहीं कल सही, कल नहीं तो हफ्ते महिने बाद ।

निर्वाचन घोषणापत्रमा कांग्रेसले साडे बाह्र लाखलाई जागिर दिने भने पनि सभापति पत्नीले निर्वाचनताका नै वस्तुवादी र यथार्थवादी हुँदै युवालाई खाडी पठाउने भनेकी थिइन् । घरवालीले भनेको कुरा निश्चय पनि पूरा हुन्छ । हुन पनि घण्टीका पछाडि लागेका युवालाई देशमा राख्ने काम नै छैन । यी विप्लवी युवा जमात सबैलाई खाडीदेखि सबै सम्भव हुने स्थानमा यथाशक्य छिट्टै पठाउनुपर्छ ।

आशा गरौँ यस संसद्ले पटकेहरूलाई चान्स दिनुका साथै कम्तीमा दुई जना नयाँ अनुहारलाई मौका दिएर नेपालको ३९औँ र ४०औँ प्रधानमन्त्री बनाउनेछ । रामचन्द्र पौडेल, चित्रबहादुर केसी, महन्त ठाकुर आदिले विश्राम लिनुभन्दा पहिला प्रधानमन्त्री सूचीमा आफ्नो नाम लेखाउने अवसर पाऊन् । वर्तमान संसद्सँग मेरो यही नै अपेक्षा छ । साथै अर्काे चुनाव नयाँ व्यवस्था र नयाँ संविधानअन्तर्गत हेर्न पाए झनै गज्जब हुन्थ्यो । रातोपाटी

२०७९ पुष ४, सोमबार प्रकाशित 0 Minutes 303 Views