२०८२ बैशाख २७ शनिबार

विद्यालय भर्ना अभियानदेखि, कक्षा १२ को परीक्षासमेत प्रभावित बन्ने चिन्ता

काठमाडौँ- शिक्षकहरुको आन्दोलनका कारण सामुदायिक विद्यालयमा भर्ना अभियान प्रभावित भएको छ ।

शिक्षकहरू काठमाडौँ केन्द्रित प्रदर्शनमा सहभागी हुँदा सामुदायिक विद्यालयमा शैक्षिक गतिविधि त ठप्प नै छन् अझ बढी असर भने भर्ना कार्यक्रमलाई परेको छ ।

भर्ना अभियानको समयमा विद्यालयका शिक्षक प्रदर्शनमा सहभागी हुँदा बालबालिकाको भविष्यमा नकारात्मक असर पार्ने चिन्ता एकातिर बढेको छ भने अर्कोतिर कक्षा १२ को परीक्षा र एसईईको उत्तरपुस्तिका परीक्षणसमेत प्रभावित भएको छ ।

भर्ना अभियान प्रभावित भएसँगै यस वर्ष सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या अघिल्लो वर्षको तुलनामा घट्नसक्ने अनुमान पनि गर्न थालिएको छ ।

पछिल्ला वर्षमा निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा आकर्षित भएका विद्यार्थी तथा अभिभावकलाई अहिले चलिरहेको शिक्षक प्रदर्शनका कारण निराश बनाएको छ ।

निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा भर्ना हुने तयारीमा रहेका कतिपय विद्यार्थी विद्यालयको शैक्षिक गतिविधि रोकिँदा अन्योलमा परेका छन् ।

अभिभावकलाई पनि आफ्ना बालबच्चा कहाँ लगेर भर्ना गर्ने भन्ने पीरलोले सताएको छ । विद्यालय सञ्चालन नहुदा विद्यार्थी घरमा खेल खेल्ने, मोबाइल, टिभीमा व्यस्त हुन थालेका छन् ।

यता, राष्ट्रिय परीक्षा बोर्डले फेरि एकपटक शिक्षकहरुलाई आफ्नो अधिकारको खोजी गर्दा बिद्यार्थीको अधिकारलाई हनन् नगर्न अनुरोध गरेको छ ।

बोर्डले यही बैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षा सञ्चालन र व्यवस्थापन गर्न तथा एसइईको उत्तरपुस्तिका परीक्षण गर्न आज पुन: अनुरोध गरेको हो ।

उता आन्दोलनरत नेपाल शिक्षक महासंघले भने आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ ।

काठमाडौँमा भएको महासंघको पदाधिकारी बैठकले आन्दोलन थप सशक्त बनाउने निर्णय गरेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिनुभएको छ ।नेपाल टिभी अनलाइनबाट ।

२०८२ बैशाख ४, बिहीबार प्रकाशित 1 Minute 20 Views

ताजा समाचार