२०८२ बैशाख ३ बुधबार

उच्च हिमाललाई वैश्विक मान्यता दिलाउने प्रयास

स्रोत : फोटो ग्राफिक्स

चाँदनी हमाल

काठमाडौँ, वैशाख ३ गते । सरकारले हिमाल संरक्षणको आवाज थप बलियो बनाउन आठ हजार मिटरमाथिका १४ वटा हिमाललाई विश्वव्यापी मान्यता दिलाउनुपर्नेमा संरक्षणकर्मीहरूले जोड दिनुभएको छ ।

सरकारले आगामी जेठ २, ३ र ४ गते काठमाडौँमा सगरमाथा संवादमार्फत यहाँका हिमालमा परेको असरको मुद्दालाई विश्वव्यापी बनाउँदै छ । नेपालमा रहेको सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटरमाथिका १४ वटा हिमालको नक्सा तथा तथ्याङ्क सबै अद्यावधिक भइसकेर नेपाल पर्यटन विभागले आफ्नो पिक प्रोफाइलमा सङ्ग्रहसमेत गरिसकेको छ । यसअघि नेपालमा आठ हजार मिटरमाथिमा आठ वटा मात्र उच्च हिमाल रहेको विश्वाव्यापी मान्यता छ । बाँकी छ वटा हिमाल पाकिस्तानसहित अन्य मुलुकमा रहेका छन् ।

विश्वमा १४ वटा उच्च हिमाल रहेको सूची विश्व पर्वतारोहण महासङ्घसँग छ । थप छ वटा आठ हजार मिटरमाथिका हिमाललाई सूचीकृत गर्नसके नेपालको हिमाल संरक्षणको मुद्दामा बल पुग्ने नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष तथा अध्ययन कार्यदलका सदस्य आङछिरिङ शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म आठ हजार मिटरमाथि उचाइ भएका विश्वमै जम्मा १४ वटा हिमाल रहेको मानिएको छ, जबकि नेपालसँग मात्र १४ वटा उच्च हिमाल छन्, त्यो दाबी नेपाल सरकारले स्थापित गर्नैपर्ने भएको छ ।” नेपालसँग आठ हजार मिटरमाथिका १४ वटा हिमालसहित ४६८ वटा अग्ला हिम चुचुराहरू छन् ।

उहाँका अनुसार विश्वव्यापी मान्यता प्राप्त गर्न सक्ने सबै आधार तय भइसकेकाले सरकारले पहल लिएमा छिट्टै सबै हिमालले वैश्विक मान्यता पाउने उहाँले बताउनुभयो । नेपाल सरकारले थप मान्यता दिइसकेका आठ हजार मिटर माथि उचाइका हिमालमा यालुङ खाङ (८,५०५), यालुङ खाङ पश्चिम (८,०७७), कञ्चनजङ्घा दक्षिण (८,४७६) र कञ्चनजङ्घा सेन्ट्रल (८,४७३), ल्होत्से सेन्ट्रल (८,४१०) र ल्होत्से सार (८,४००) रहेका छन् ।

यी बाहेक पहिले नै विश्वव्यापी मान्यता प्राप्त गरेका आठ हजार माथि उचाइ रहेका हिमालमा सगरमाथा (८,८४८.८६) सहित कञ्चनजङ्घा, ल्होत्से, मकालु, चोयु, धवलागिरि, मनास्लु र अन्नपूर्ण प्रथम रहेका छन् ।

शेर्पाका अनुसार यीमध्ये १३ वटा हिमालमा सन् १९७६ देखि नै आरोहण खुला भइसकेका छन् । यालुङ खान पश्चिमको मात्र आरोहण हालसम्म खुला भएको छैन । नेपाल सरकारले अग्लो चुचुरोमा आरोहण सुरुवात गर्ने उद्देश्यसहित डा. हर्क गुरुङको समिति बनाएर सन् १९९१–१९९९ अध्ययन गरेको थियो । त्यसको प्राविधिक समितिमा शेर्पा पनि रहनुभएको थियो ।

वैश्विक मान्यताका लागि त्यस समयमा एउटा हिमशृङ्खलाको एक चुचुरो मात्र समावेश गर्न सकिने तत्कालीन नियम अनुसार आठ वटा चुचुरा मात्र त्यसबेला समावेश गर्नु परेको बाध्यता शेर्पाले सुनाउनुभयो । पछि नियम परिवर्तन भएपछि बाँकी चुचुरोलाई पनि वैश्विक मान्यता दिलाउन उहाँ पर्वतारोहण सङ्घको अध्यक्ष भएपछि पहल सुरु भयो । विश्व पर्वतारोहण महासङ्घले राष्ट्रिय स्तरबाट तथ्यसहितको सूची निर्माण गर्न भन्यो ।

शेर्पाले थप्नुभयो, “राष्ट्रियस्तरबाट आठ हजार मिटर पुग्छ भन्ने तथ्य र सूची निर्माण गर्नु भनेपछि राष्ट्रिय रूपमा अन्तर्राष्ट्रिय मापदण्ड पुग्छ कि पुग्दैन भनेर चार वर्ष अध्ययन गरियो, नक्सा र तस्बिरहरूले सबै मापदण्ड पूरा भयो ।” सन् २०१२ सम्म महासङ्घको परियोजनाले फेरि अध्ययन गरेर पेस गर्नका लागि अनुमति दिएको थियो ।

त्यसपछि २०७२ को भूकम्प, हिम पहिरोका घटनालगायतका कारण अहिलेसम्म अर्को पहल हुन सकेको छैन । अघिल्लो वर्ष विश्व पर्वतरोहण महासङ्घको अध्यक्ष नेपाल आएरै सबै प्रक्रिया पूरा भएकाले पेस गर्न भनिसकेको छ । अब सरकारले गर्ने वा पर्वतारोहण महासङ्घले गर्ने भन्ने अन्योल कायम छ । नेपाल पर्वतारोहण सङ्घका वर्तमान अध्यक्ष निमानुरू शेर्पाले पनि सरकारकै तर्फबाट पहल हुँदा बलियो पक्षधरता हुने औँल्याउनुहुन्छ । उहाँले भन्नुभयो, “पहिले नै हुन्थ्यो तर त्योबेलाको नियमले दिएन, अबको नियम अनुसार गर्दा नेपालको वैश्विक मानक पनि उच्च हुन्छ ।”

१४ वटा उच्च हिमालको प्रोफाइल सार्वजनिक गरिसकेको पर्यटन विभागका अनुसार सरकारले मन्त्रीपरिषद्बाट स्वीकृत गर्नुपर्ने प्रक्रिया बाँकी छ । महानिर्देशक डा. नारायणप्रसाद रेग्मीले नेपालको दाबीलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन विभागले गृहकार्य गरिरहेको जानकारी दिनुभयो । नेपालकै १४ वटा हिमाल उच्च प्रमाणित भएको खण्डमा विश्वमा आठ हजार मिटरमाथिका २० वटा हिमाल हुने छन् ।गोरखापत्र दैनिकमा खबर छ ।

 

२०८२ बैशाख ३, बुधबार प्रकाशित 1 Minute 8 Views

ताजा समाचार