२०८१ बैशाख १३ बिहीबार

प्रदेश १ को नामकरण यसपल्ट टुंगिने विश्वास छ : प्रदेश प्रमुख खापुङ

विराटनगर : प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले जनअपेक्षाको विषय रहेको प्रदेश १ को नामकरण प्रदेशसभाको यही कार्यकालमा टुंगिने विश्वास व्यक्त गरेका छन्।

प्रदेश १ को प्रदेशसभा बैठकलाई मंगलबार सम्बोधन गर्दै प्रदेश प्रमुख खापुङले नामकरण अत्यधिक जनचासो र जनअपेक्षाको विषय रहेको हुँदा यो यसपटक टुंगो लाग्ने विश्वास व्यक्त गरेका हुन्।

प्रदेश प्रमुख खापुङले समृद्ध प्रदेश निर्माणमा अधिकतम प्रयास गर्नुपर्ने अवस्था रहेको बताउँदै प्रदेशको प्राथमिकता पर्यटन, कृषि, सिँचाइ, उद्योगलगायत पूर्वाधार निर्माणमा हुनुपर्नेमा जोड दिए।

उनले प्रदशेसभाको प्रमुख काम कानून निर्माण रहेको भन्दै वस्तुनिष्ठ कानून निर्माण गरे संशोधन गरिरहनु पर्ने आलोचनाबाट मुक्त हुने पनि बताए।

एकात्मक शासन व्यवस्थाको अन्त्य गरी संघीय शासन प्रणाली अवलम्बन गरिसकिएको अवस्थामा एक सदनात्मक व्यवस्थाभित्रको व्यवस्थापिकाले संविधानले दिएका एकल अधिकार र साझा अधिकारमा कानून निर्माण गर्ने तथा सरकारलाई संसदीय निगरानी गर्ने महत्वपूर्ण काम रहेको उनले बताए।

उनले भने, ‘यसमा खरो रुपमा उपस्थिति हुने कुरामा विश्वास व्यक्त गर्दछु।’ ​खापुङको सम्बोधनसँगै प्रदेशसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको थियो।

त्यसपछि बसेको आजको दोस्रो प्रदेशसभा बैठकले प्रदेशसभामा सम्बोधन गरेका खापुङलाई धन्यवाद दिने प्रस्ताव पारित गरेको थियो। उक्त प्रस्ताव पारित गरेसँगै प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ।

प्रदेश १ को प्रदेशसभाको सातौं बैठक सकिँदासम्म सरकारले बिजनेस दिएको छैन।

२०७९ माघ २४, मंगलवार प्रकाशित 0 Minutes 374 Views

ताजा समाचार