
काठमाडौँ, चैत २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताउनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) सहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले सो जानकारी गराउनुभएको हो । “धरानवासीले खानेपानी पिउन पाउनु पर्छ । यो प्रक्रिया आजैबाट अघि बढ्यो । यसका लागि सङ्घीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्ने छ । यो सन्देश धरानवासीलाई सुनाइदिनुहोला,” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन यसअघि सङ्घीय सरकारले तयार गरिसकेको छ । यसै गरी प्रधानमन्त्री ओलीले धरानको फोहोर व्यवस्थापनका लागि परम्परागत नभई आधुनिक प्रविधियुक्त ल्यान्डफिल्ड साइट बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
यसै गरी खानेपानीमन्त्री प्रदीप यादवले पनि धरानका नागरिकको बर्सौंदेखिको खानेपानीको समस्या समाधानका लागि पहल भइरहेको बताउनुभएको छ ।
सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ) नेतृत्वको प्रतिनिधिमण्डलले धरानमा खानेपानीको लागि बजेट विनियोजन गर्न आग्रहसहितको मागपत्र पेस गरेपछि मन्त्री यादवले सो कुरा बताउनुभएको हो ।
मन्त्री यादवले भन्नुभयो, “धरानका नागरिकको खानेपानी समस्याका विषयमा मसहित सिङ्गो मन्त्रालय जानकार छ । त्यहाँको खानेपानीको दीर्घकालीन रूपमा समाधान गर्नेतर्फ हामी लागिरहेका छौँ र समस्या समाधान गर्छौं ।”
मन्त्री यादवले धरानको खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधानका लागि दातृ निकायसँगको सहयोगमा समाधान गरिने आश्वासन दिनुभएको थियो। गर्मी मौसम सुरु भएकाले अहिले धरानमा खानेपानीको निकै काकाकुल अवस्था सिर्जना भएको तथा पानी नभएका कारण नागरिकलाई साह्रै दुःख भएको नगरप्रमुख राईले बताउनुभएको थियो ।गोरखापत्र अनलाइन