२०८१ चैत्र २९ शुक्रबार

झापाका प्रजिअले भने— पत्रकारको सुरक्षा प्रशासनले गर्छ

मेचीनगर । झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले पत्रकारहरुको सुरक्षा प्रशासनले गर्ने बताएकाछन् । उनले पत्रकार र सञ्चारमाध्यममाथि कसैले धाकधम्की दिए प्रशासनलाइ खबर गर्न भनेकाछन्।

राजावादी समर्थकहरूको तीनकुनेमा प्रदर्शनको क्रममा जलाएर हत्या गरिएका पत्रकारको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आज ज्ञापन पत्र बुझाउने क्रममा प्रजिअ अधिकारीले यस्तो भनेकाहुन् ।

घटनाका बारेमा गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न तथा उनको परिवारलाई क्षतिपूर्ति दिन, सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पुर्याइएका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रबन्ध मिलाउन नेपाल पत्रकार महासंघ झापाले जिल्ला प्रशासन कार्यालय झापामार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको हो । अध्यक्ष एकराज गिरीले ज्ञापनपत्र पढेर प्रजिअ अधिकारीलाई हस्तान्तरण गरेका थिए ।
ज्ञापनपत्र बुझाउन पत्रकार महासंघको कार्यसमिति, पूर्व अध्यक्षहरु, संघ संगठनको नेतृत्व, प्रेस क्लवका अध्यक्ष तथा प्रतिनिधिहरु , झापाली पत्रकारहरुको उपस्थिति रहेको थियो ।

२०८१ चैत्र १८, सोमबार प्रकाशित 0 Minutes 85 Views

ताजा समाचार