२०८२ बैशाख १५ सोमबार

एसइईमा पाँच लाख विद्यार्थी

काठमाडौँ, चैत ७ गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारदेखि सञ्चालन हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुने छ । परीक्षा १९ गतेसम्म सञ्चालन हुने छ । परीक्षामा सहभागी हुन पाँच लाख १४ हजार ७१ विद्यार्थीले फाराम भरेका छन् । तीमध्ये कति जना परीक्षामा सहभागी हुने छन् भन्ने यकिन छैन । परीक्षा सञ्चालनका लागि मुलुकभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलका अनुसार परीक्षाका लागि सबै जिल्लामा उत्तरपुस्तिका र प्रश्नपत्र पुर्‍याइसकिएको छ ।

परीक्षामा अनिवार्य विषयका लागि प्रदेश अनुसार फरक फरक प्रश्नपत्र तयार पारिएको छ । ऐच्छिक विषयमा भने विद्यार्थी सङ्ख्याको आधारमा कुनैमा दुई प्रकारको र कुनैमा एक प्रकारको मात्रै प्रश्नपत्र छापिएको छ । यस पटक जापानबाट २९ जना परीक्षार्थीले एसइईमा सहभागिता जनाउँदै छन्, जुन जापानमा सञ्चालित नेपाली भाषाको विद्यालयका विद्यार्थी हुन् ।

जापानका लागि पनि उत्तरपुस्तिका पठाइसकिएको छ भने प्रश्नपत्र परीक्षाकै समयमा त्यहाँ रहेको नेपाली दूतावासमार्फत पठाइने छ । त्यहाँको परीक्षा सञ्चालन दूतावासमार्फत नै गरिने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिनुभयो । परीक्षालाई थप समावेशी बनाउन यस वर्ष बाल सुधारगृह र कारागारमा समेत गरी तीन वटा विशेष परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षाको गुणस्तर कायम राख्न र नक्कललाई निरुत्साहित गर्न विशेष निगरानीको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सबै विद्यार्थीले न्यायोचित अवसर पाउनका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै परीक्षालाई सफलतापूर्वक सम्पन्न गर्न सबै सरोकारवाला निकायहरूको सहयोग आवश्यक रहेको बताउनुभयो ।

मन्त्री भट्टराईले परीक्षा सञ्चालनमा कुनै पनि कमजोरी स्वीकार्य नहुने स्पष्ट पार्दै स्थानीय र प्रदेश सरकारसँग समन्वय र सहकार्यबाट मात्रै परीक्षा सफलतापूर्वक सम्पन्न हुने बताउनुभयो । नियमविपरीत कार्य गर्ने जोकोहीलाई पनि कठोर कारबाही गरिने चेतावनी दिँदै उहाँले परीक्षाको मर्यादा कायम राख्न नसकेमा शिक्षा विकास तथा समन्वय एकाइका प्रमुखहरूसमेत जिम्मेवार हुनुपर्ने बताउनुभयो ।गोरखापत्र अनलाइन

 

२०८१ चैत्र ७, बिहीबार प्रकाशित 1 Minute 19 Views

ताजा समाचार