२०८१ बैशाख १५ शनिबार

प्रदेश १ प्रदेशसभा बैठक बस्दै, दुईवटा अध्यादेश स्वीकृत गरिने

विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक सोमबार बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा यसअघि सरकारले ल्याएको प्रदेश निजामति सेवा अध्यादेश र केही प्रदेश ऐन संशोधन अध्यादेश स्वीकृत गर्ने कार्यसूची रहेको छ । अध्यादेशलाई प्रदेशसभा सञ्चालन भएको ६० दिनभित्र विधेयकमार्फत प्रतिस्थापन गर्नुपर्ने हुन्छ । सरकारले सोही अनुसार तयारी भइरहेको जनाएको छ ।

प्रदेशसभा सचिव गोपाल पराजुलीका अनुसार आजको प्रदेशसभा बैठकले कार्यव्यवस्था परामर्श समिति निर्माण हुने र प्रदेशसभा नियमावली मस्यौदा समिति गठन हुनेछ । प्रत्येक नयाँ संसदले आफू संचालन गर्ने नियमावली आफैं बनाउनु पर्ने अभ्यास छ ।
यसअघि पुस ३० मा उपसभामुख चयन गरेपछि विजनेस नभएकै कारण प्रदेशसभा अनिश्चितकालीन स्थगनमा गएको थियो । २२ दिनपछि हिउँदे अधिवेशनको छैटौ बैठक आज बस्न लागेको हो । संसद् बैठक सुरु हुने अघिल्लो दिन आइतबार साँझसम्म सरकारले सदनमा कुनै पनि विधेयक पठाएको छैन ।

सरकारले संसदलाई विजनेस दिने गृहकार्य भइरहेको दाबी गरेको छ । पुस २५ मा मुख्यमन्त्रीका रुपमा हिक्मत कार्कीले सपथ लिएका थिए । अघिल्लो सरकारले तयार पारेको सञ्चार विधेयक तत्कालीन विधायन समितिका सभापति इन्द्रमणि पराजुलीले समितिमा छलफलमै नलगेर रोकिदिएका थिए ।

यसबाहेक स्थानीय तह सेवा ऐन, भाषा आयोगले सिफारिश गरे अनुसार  प्रदेशको  कामकाजी भाषाका बारे पनि विधेयक आउन जरुरी रहेको सांसदहरुले बताउँदै आएका छन् । तर, सरकारले यी विधेयकमा कुनै तयारी गरेको छैन । यसबाहेक संसद्का विषयगत समितिहरु पनि गठन भएका छैनन् ।

२०७९ माघ २३, सोमबार प्रकाशित 0 Minutes 603 Views

ताजा समाचार