
दीपक रिजाल
काठमाडौं ।

रुस–युक्रेन युद्धको पछिल्लो घटनाक्रमले युरोपेली संघ र अमेरिकाबीच नयाँ ढंगको तनाव शुरू भएको छ । अमेरिकाको ह्वाइट हाउसमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँको टिमले गरेको अपमानजन्य व्यवहारले युरोपेली संघ र अमेरिकाबीच तनाव शुरू भएको हो ।
ट्रम्पबाट अपमानित व्यवहार भोगेर युरोप पुग्नु भएका जेलेस्कीलाई युरोपेली नेताहरूले रेड कार्पेटमा स्वागत गरेपछि अहिले विश्व राजनीतिमा बदलाव आएको छ । अमेरिकासहित रुसलगायतका मुलुकले युक्रेनमाथिको आक्रमणलाई सही भएको बताउँदै जेलेन्स्कीलाई युद्धविराम गर्न दबाब दिइरहेको बेला युरोपेली मुलुकले भने युक्रेनलाई सहयोग गर्ने मुलुकको गठबन्धन बनाउन आह्वान गर्नुले विश्वको परिवेश फरक हँुदै गएको आंकलन विश्लेषकहरूले गर्न थालेका छन् ।
ओभल अफिसको तमासापछि युरोपेली नेताहरूले युक्रेनको पक्षमा उभिएर संकटग्रस्त युक्रेनलाई साथ दिएपछि जेलेन्स्कीले पनि रुसविरुद्धको युद्धलाई निरन्तरता दिने भएका छन् । युरोपेली देशहरूको शिखर बैठकअघि बेलायतमा बेलायती प्रधानमन्त्री किर स्टार्मरले युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँग युक्रेनलाई १ अर्ब ६० करोड पाउन्ड सहुलियत ऋणका लागि सम्झौता गर्नुभएको थियो ।
उक्त सम्झौतापछि शुरू भएको शिखर बैठकमा पत्रकारसँग कुरा गर्दै जेलेन्स्कीले आफू रुसी राष्ट्रपतिको अघि कुनै हालतमा नझुक्ने र युद्धलाई निरन्तरता दिइरहने दाबी गरेपछि युक्रेन–अमेरिकाबीचको तनाव झन् बढ्ने आँकलन गरिएको छ ।
जेलेस्कीले राष्ट्रपति पुटिनलाई आक्रमणकारीको संज्ञा दिँदै बेलायत–फ्रान्सको पहलमा आउँदा दिनमा युद्ध रोकिने र यसमा रुस बाध्य भएर आउनुपर्ने बताउनुभएको थियो ।
उक्त बैठकमा नाटोका महासचिव मार्क रुट्टे, युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेन, युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टासहित युरोपका १४ देशका प्रधानमन्त्री तथा राष्ट्रप्रमुख सहभागी थिए । बैठकले आगामी दिनमा युरोपको रक्षा खर्चमा भारी वृद्धि गर्ने र युक्रेनलाई ५ हजार हवाई मिसाइल किन्न अनुमति दिने घोषणासमेत गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले आगामी वर्षबाट आफ्नो रक्षा बजेटमा कटौती गर्ने घोषणा गरेको भए पनि युरोपेली मुलुकले भने रक्षा खर्च वृद्धि गर्ने घोषणा गरेपछि युरोप र अमेरिकाबीच अव नयाँ द्वन्द्व हुने आंकलन गर्न थालिएको छ ।
युरोपेली नेताहरूको शिखर सम्मेलनपछि बेलायतका प्रधानमन्त्री स्र्टामरले युक्रेनको रक्षा गर्न ‘इच्छुकहरूको गठबन्धन’ निर्माण गर्ने बताउँदै युक्रेनलाई सहयोग गर्न पनि सोही गठबन्धनमा सामेल हुन युरोपेली देशहरूलाई आह्वान गर्नुभएको छ । रुसमाथि तीव्र रोष प्रकट गर्दै युरोपेली देशहरूले आफ्नो रक्षा बजेटमा भारीमात्रामा वृद्धि गर्नुका साथै युक्रेनको पक्षमा अन्तिमसम्म साथ र सहयोग दिने घोषणा गरेकाले युरोप अमेरिकाबीच तनावपूर्ण अवस्था सिर्जना हुने आंकलन गरिएको हो ।
उक्त सम्मेलनमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र टर्कीका विदेशमन्त्री हाकान फिदानसहितको शिखर सम्मेलनमा रुसमाथि आर्थिक दबाब कायम राख्ने र युक्रेनलाई सबै प्रकारको सहयोग गर्न बेलायतका प्रधानमन्त्रीले गरेको आह्वानमा सबै सहमत भएपछि युरोप र अमेरिकाबीचको सम्बन्ध के हुने अहम प्रश्न उठेको छ ।
बेलायती प्रधानमन्त्री स्टार्मरले जुनसुकै अवस्थामा पनि युक्रनलाई साथ दिन र युक्रेनको सार्वभौमसत्ता तथा स्वतन्त्रतामाथि धावा बोल्ने अधिकार नभएकाले रुसलाई दबाबमा राख्दै युक्रेनलाई सहयोग गर्नुपर्ने धारणा सार्वजनिक गरेपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युक्रेनले हरेक मुद्दामा बार्गेनिङ गर्ने गरेको आरोप लगाउँदै ओभल अफिसमा ट्रम्प प्रशासनमाथि प्रतिरोधले आफूलाई अचम्मित बनाएको बताउनुभएको छ । उहाँले जेलेन्स्कीले शान्ति नचाहेको बताउँदै युरोपेली संघका देशहरूले शान्तिका लागि काम गर्नुपर्नेमा उल्टै युक्रेनलाई हतियार किन्न सहयोग गरेकोमा रोष प्रकट गर्नुभएको छ ।
बैठकमा बेलायतका प्रधानमन्त्री स्टार्मर, फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रो, जर्मनीका चान्सलर ओलाफ सोल्ज, इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनी, पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड स्टक, स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज, डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेरिक्सेन, नर्वेका प्रधानमन्त्री जोनास गहर स्टोरे, फिनल्यान्डका प्रधानमन्त्री अलेक्जेन्डर स्टव, स्विडेनका प्रधानमन्त्री उल्फ क्रिस्टनर्सन, चेक गणतन्त्रका प्रधानमन्त्री पेट्र फियाला र रोमानियाका प्रधानमन्त्री क्लाउस योहानिसको सहभागिता रहेको थियो ।नेपाल समाचारपत्र दैनिकबाट ।