
धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थासहित बराह ग्रुपअन्तर्गतका २ दर्जन बढी कम्पनीले साढे १० अर्ब बढी रकम हिनामिना गरेका छन् । सहकारी र कम्पनीले १० अर्ब ७३ करोड बढी रकम हिनामिना गरेको ठहरसहित सोमबार सुनसरी जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय सुनसरीले जिल्ला अदालतमा बुझाएको अभियोगपत्रमा सहकारी संस्थाको १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ हिनामिना र अपचलन भएको उल्लेख छ ।

सहकारीका अध्यक्ष शिवकुमार विश्वकर्मा (लामिछाने)का नाममा ५ अर्ब ८८ करोड ४० लाख ८४ हजार ७३३ हिनामिना भएको अभियोग पत्रमा उल्लेख छ । जसमा शिवकुमार स्वयंबाट २ अर्ब ७१ करोड ३१ लाख ६० हजार २४, उनका बुबा इन्द्रकुमार विश्वकर्माबाट २ अर्ब ४५ करोड ७७ लाख १७ हजार ५७६, उनकी आमा स्व. विष्णुमाया विश्वकर्माबाट ७१ करोड बढी रकम असुल गर्नुपर्ने अभियोग पत्रमा उल्लेख छ ।
यस्तै, अभियुक्त मन्दिरा लामिछानेले १ अर्ब २३ करोड ११ लाख ९१ हजार १ सय, मानबहादुर विश्वकर्माले १ अर्ब ११ करोड ८१ लाख ८१ हजार २१७, हरिकुमार धमाल (विश्वकर्मा)ले ३७ करोड ६१ लाख २४ हजार ३२८, प्रकाश लामगादेले ४८ करोड १८ लाख ८९ हजार ८९, र शुभराज खातीले ४३ करोड ७१ लाख ८१ हजार ८२७ हिनामिना गरेको र त्यो असुल गर्नुपर्ने अभियोग पत्रमा उल्लेख छ ।
सहकारीका ४ हजार १६८ शेयर सदस्य तथा बचतकर्ताले आफ्नो ५ अर्ब ८५ करोड ९८ लाख ७७ हजार ७३९ रकम भराउन माग गर्दै किटानी जाहेरी दिएका थिए ।
सरकारी वकिलको कार्यालयले भने शेयरधनीहरू शिवकुमार विश्वकर्मा (लामिछाने), मन्दिरा लामिछाने विश्वकर्मा, मानबहादुर विश्वकर्मा, हरिकुमार धमला विश्वकर्मा, याम्बा ल्वागुन भन्ने इन्द्रबहादुर विश्वकर्मासहित ३५ जना संचालक समितिमा रहेकाहरू र अन्य ऋणीगरी २६२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको हो ।
मानबहादुर विश्वकर्माकी श्रीमती जतनमाया विश्वकर्मा, गंगाबहादुर विश्वकर्माकी श्रीमती सरिता (कालिकोटे) विक, अस्मिता भण्डारी, विष्णुकुमारी तुलाधर, रवि पोर्तेल (सुनार), फुलकुमारी भन्ने फूलमाया राई, सुदिन विक, श्रीमान महत क्षेत्री, अपना श्रेष्ठ, रिना राई र बिक्रम गजमेरलाई प्रहरीले फक्राउ गरेको छ ।
विभिन्न २५ वटा कम्पनीले ९ अर्ब ६२ करोड ५८ लाख २६ हजार ९७३ हिनामिना गरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख थियो । प्रज्वल अधिकारी शर्माको संयोजकत्वमा छानबिन समिति बनाइएको थियो ।
बराह ज्वेलरी, न्यूरोड पिपलबोट, बराह इण्डष्ट्रिज, बराह बचत तथा ऋण सहकारी संस्था लि. धरान, भद्रकाली सुनचाँदी पसल लाजिम्पाट, टाइम्स रेमिट प्रालि, गोर्खा एण्ड बराह ज्वेलरी इण्डष्ट्रियल प्रालि नयाँ रोड पोखरा, न्यू बराह ज्वेलर्स न्यूरोड, बराह नेसनल इन्भेष्टमेन्ट प्रालि, बराह मोटर्स प्रालि, इन्द्र बराह ट्राभल्स एण्ड टुर्स प्रालि, इन्द्र बराह ज्वेलरी प्रालि तालचिखे, नारायण बराह ज्वेलरी, बराह कृषि उपज तथा पशुपालन प्रालि, बराह फेमली किचेन प्रालि, बराह बाल संसार गेमजोन एण्ड कृपा १६ डि. इन्टरटेन्मेन्ट, बराह भेडेटार मल्टिप्रपोज कम्पनी प्रालि भेडेटार, राह डिपार्टमेन्ट स्टोर प्रालि, बराह प्रोपर्टी सर्भिस प्रालि, पिपलबोट बराह ज्वेलर्स प्रालि, श्रीपा सुपर मार्केट स्टोर प्रालि, बराहा ग्रुप अफ कम्पनी, बराहा चिल्ड्रेन वर्ल्ड प्रालिलगायत कम्पनी बराहमार्फत् रहेको उल्लेख छ ।
प्रतिवेदनमा व्यक्तिगत बाँकी ऋण रकम लिन भने २७ करोड १५ लाख २७ हजार रहेको उल्लेख छ । यस्तै ग्रुप कम्पनी, कम्पनीका संचालकलाई, सहकारीका संचालकलाई, बिनाधितो साधारण सदस्यलाई र धितोसहितगरी कर्जा लगानी ७१ करोड ३९ लाख ४९ हजार ५३७ रुपैयाँ रहेको र उक्त कर्जाको ब्याज रकम ३६ करोड ३१ लाख ८३ हजार २४६ रुपैयाँ असुल गर्न बाँकी रहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
बचत रकम ९ अर्ब ७१ करोड ८९ लाख ८० हजार ५२० रुपैयाँ बराबरको रहेको प्रतिवेदनमा उल्लेख छ । यस्तै, पासबुकमार्फत् संकलित कूल बचत रकम भने १० अर्ब ५१ करोड १ लाख १२ हजार ४६७ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
सहकारीको दायित्व रकम १० अर्ब ८९ करोड ९५ लाख २० हजार २३५ रुपैयाँको रहेको छ । जसमा शेयर रकम १० करोड १३ लाख ९७ हजार ३ सय, जम्मा भएको रकम ६८ करोड ९७ लाख ३४ हजार ६४७, बचतको ब्याज १ करोड ५५ लाख ३५ हजार ३०६, पासबुकमार्फत् ज्वेलरीमा जम्मा भएको बचत ९ अर्ब ७१ करोड ८९ लाख ८० हजार ५२०, राजस्व भुक्तानी गर्न बाँकी १ करोड १ लाख ३० हजार ३६८, उठ्न बाँकी ब्याज ३६ करोड ३१ लाख ८३ हजार २४६ र अन्य दायित्व ५ लाख ५८ हजार ८४८ रुपैयाँ रहेको प्रतिवेदनको ठहर छ ।
उक्त रकम संकलनको स्रोतमध्ये बैंक मौज्दात ७ लाख २७ हजार ७८०, लगानी (शेयर र बचत) ३८ लाख ७७ हजार ९८३, सुरक्षित ऋण ३ करोड ३३ लाख ८४ हजार १०१, ऋणको ब्याज ३ करोड ३१ लाख ६९ हजार २८१ रहेको छ । यस्तै असुरक्षित ऋण ४ करोड ५४ लाख ९८ हजार र त्यसको ब्याज ४ करोड ७१ लाख २० हजार, अन्य प्राप्त रकम २४ लाख ९४ हजार २४३ रहेको छ । प्रतिवेदनले संचालकबाट असुलउपर गर्नुपर्ने रकम १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रहेको ठहर गरेको छ ।
२०५२ सालमा धरानका लाहुरे परिवारलाई लक्षित गरेर बराह ज्वेलरी इन्टरप्राइजेज स्थापना इन्द्र लामिछाने(विश्वकर्मां)ले गरेका थिए । हङकङ र दुबईमा पनि यसको शाखा खोलिएको थियो । २०६६ सालमा बराह बचत तथा ऋण सहकारी संस्था स्थापना भएको थियो २०७८ सालदेखि नै यो सहकारी आर्थिक संकटमा परेको थियो ।