
काकरभिट्टा । झापाको काकरभिट्टामा फागुन २४ गतेदेखि सूरु हुने पाँचौं मेचीनगर गोल्डकपको तयारी तीब्र पारिएको छ । काकरभिट्टा माविको खेल मैदानमा हुने प्रतियोगिताका लागि अहिले मैदान तयारीको काम अन्तिम चरणमा पुगेको छ भने अन्य तयारी र प्रचारात्मक अभियानलाई तीब्र पारिएको गोल्डकप मूल आयोजक समितिका संयोजक श्रीप्रसाद मैनालीले जानकारी दिनु भयो । वहाँका अनुसार प्याराफिट बनाउने काम पनि धमाधम भइरहेको छ । ‘हामी दर्शकका लागि बाँसको प्याराफिट बनाउँदैछौं,’ मैनालीले भन्नुभयो, ‘बस्न सजिलो हुनेगरी प्याराफिट बनाउँदैछौं ।’ करीब ६ हजार दर्शक अटाउने गरी मैदानको व्यवस्थापन गरिने संयोजक मैनालीले बताउनु भयो ।

करीब ८० लाख खर्च हुने अनुमान गरिएको गोल्डकपको स्थायीत्वका लागि संस्थापक सदस्यता विस्तार गर्ने कार्यलाई समेत प्राथमिकता दिइएको गोल्डकपका सहसंयोजक तथा आर्थिक समितिका संयोजक विमल आचार्यले बताउनु भयो । वहाँका अनुसार १० हजार शुल्क तिरेर गोल्डकपको संस्थापक सदस्य हुन सकिने छ । तीन सयभन्दा बढीले संस्थापक सदस्यताका लागि सम्पर्कमा आइसकेको र १५० जनाले शुल्क समेत बुझाइसकेको आर्थिक समिति संयोजक आचार्यले बताउनु भयो ।
गोल्डकपको प्रचारात्मक अभियानलाई समेत तीब्रता दिएको छ । साइकल सर्कल मेचीनगरले पनि गोल्डकपको प्रचार गरेको छ । गत शनिवार मेचीनगर १३ स्थीत चारआली चोकमा भेला भएर ७० जना साइकल यात्रीले धाइजन, मंगली, धुलाबारी, इटाभट्टा, भृकुटी, बाहुनडाँगी बजारहुँदै काकरभिट्टासम्म यात्रा गरेर गोल्डकपको प्रचार गरेको साइकल सर्कल मेचीगनरका सचिव राजेश राउतले जानकारी दिनु भयो ।
काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा हुने प्रतियोगितामा आयोजक, ‘ए’ डिभिजनका तीन, दुई भारतीय र नेपाल सुपर लिग (एनएसएल) को एकसहित आठ टिमको सहभागिता रहने प्रतियोगिता आयोजक समितिका सचिव राजु कार्कीले जानकारी दिनुभयो ।
चैत २ गते हुने फाइनल खेलको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार र ट्रफी पाउने छ भने सबैभन्दा बढी गोल गर्नेले नगद २५ हजार र ट्रफी पाउनेछ । उत्कृष्ट प्रशिक्षक र गोलकिपरले नगद २१ हजार र ट्रफी तथा उदीयमान खेलाडीले नगद ११ हजार र ट्रफी पाउनेछ । प्रतियोगिताको प्रत्येक दिनको प्लेयर अफ म्याचले नगद ११ हजार र ट्रफी पाउनेछ ।