२०८१ बैशाख ८ शनिबार

मेचीनगरको चारआली जंगलमा दुई जनाको शव फेला

मेचीनगर । मेचीनगर नगरपालिका- १३ स्थित चारआली जंगलमा एक दम्पतीको शव फेला परेको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका- ११ निवासी ५२ वर्षीय नेत्रकुमार इङनाम लिम्बु र उनकी श्रीमती रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।

श्रीमानको नाम खुलेपनि श्रीमती नाम नखुलेको डीएसपी महतोले बताए । ‘दुवै जनाको शव ७० प्रतिशत कुहिएको अवस्थामा फेला परेको हो,’ उनले भने, ‘पुरुष झुन्डिएर तल खसेको र महिला भुईँमा लडेको अवस्थामा भेटिएको हो, शवको प्रकृति हेर्दा करिब १० दिनअघि मृत्यु भएको अनुमान गर्न सकिन्छ ।’

‘दुवै जनाले सँगै आत्महत्या गरेका हुन वा अन्य कुनै कारण हो अहिले नै भन्न सकिने अवस्था छैन,’ उनले भने । प्रहरीले घटनास्थलबाट एउटा दाउ, दुई जोर चप्पल, रस्सी फेला पारेको छ ।

सोमबार दिउँसो साढे २ बजे जंगलभित्र घाँस दाउ टिप्न गएका स्थानीयले शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । त्यसपछि डीएसपी महतोको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेका थिए ।

दुवै शव कुहिएकोले प्रहरीलाई सनाखत गर्न समस्या परेको थियो । मृतकका दाजुले शवको पहिचान गरेका थिए । कानुनी प्रक्रिया पूरा गरी दुवै शवलाई पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउन लागेको प्रहरीले जनाएको छ ।

२०७९ पुष ४, सोमबार प्रकाशित 1 Minute 591 Views

ताजा समाचार