
बल खोस्ने प्रयास गर्दै खेलाडी । तस्बिर : गोरखापत्र
माधवप्रसाद बराल

माछापुच्छ्रे (कास्की), माघ २६ गते । ललितपुरको थ्रीस्टार क्लब पोखरामा जारी २४औँ आहा–रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रङ्गशालामा आइतबार भएको खेलमा थ्रीस्टारले मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।
प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयमा समेत गोलरहित बराबरीमा सकिएको खेलमा टाइब्रेकरमा पुगेर थ्रीस्टार भाग्यमानी बनेको हो । टाइब्रेकरमा थ्रीस्टारका
दीपेश घले, फोडे फोफाना, विराज महर्जन र लक्ष्मण रुचालले गोल गर्नुभयो । मच्छिन्द्रका दिवाकर चौधरी र सनिश श्रेष्ठले मात्र गोल गर्न सक्नुभयो । विशाल घलानको पहिलो प्रहार बारमा लागेर फर्किएको थियो । आदित्य शाक्यको प्रहारलाई थ्री स्टारका गोलरक्षक सरिन जिसीले विफल पार्नुभयो । थ्रीस्टारका दिपेश घले म्यान अफ दि म्याच हुनुभयो ।
पाँच पटकको उपाधि विजेता थ्रीस्टारले सेमिफाइनलमा थन्डरबोल्ट नर्थ युनाइटेड र ब्ल्याक बुल्स एसपीबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । थ्रीस्टारले सिधैँ वाई पाएर क्वार्टरफाइनल खेलेको हो ।
यता मच्छिन्द्रले विभागीय टोली एपिएफ क्लबलाई हराएर क्वार्टरफाइनलमा स्थान बनाएको थियो । प्रतियोगिता अन्तर्गत सोमबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेडबिच प्रतिस्पर्धा हुनेछ ।गोरखापत्र अनलाइन