२०८१ बैशाख १४ शुक्रबार

फागुनभित्र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन : प्रमुख आयुक्त

झापा । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी फागुन महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन हुने बताएका छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ सफलतापूर्वक सम्पन्न भएको अवसरमा सोमबार आयोगद्वारा आयोजित जलपान कार्यक्रममा प्रमुख आयुक्त थपलियाले भने, ‘आगामी फागुन महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न भएसँगै नेपालको संविधान जारी भएपछि दोस्रो कार्यकालका लागि हुने सबै तहका निर्वाचन सम्पन्न भइसक्नेछन् ।’

आयुक्त थपलियाले समानुपातिक समावेशी प्रतिनिधित्वमा कमी भएको उनले बताए । ‘नेपालको संविधानले परिकल्पना गरेको समानुपातिक समावेशी प्रतिनिधित्व तथा आयोगले स्वीकृत गरेको लैङ्गिक तथा समावेशी नीतिको दृष्टिकोणबाट हेर्दा यो संख्या पर्याप्त नभएकाले निर्वाचन आयोग यसलाई सहज, विशिष्ट, उपयुक्त र पूर्वअनुमानयोग्य बनाउनुपर्छ भन्ने कुरामा जोड दिन चाहन्छ,’ उनले भने ।

यस वर्ष सम्पन्न तीनै तहको निर्वाचनबाट स्थानीय तहमा ४१ प्रतिशत, प्रदेशसभामा ३६ दशमलव ३६ प्रतिशत र संघीय संसद्‌मा ३३ दशमलव ८३ प्रतिशत महिला प्रतिनिधित्व कायम भएको उनले स्मरण गराए ।

निर्वाचनमा सार्वजनिक क्षेत्रबाट हुने खर्चलाई निश्चित सीमामा राखी राजनीतिक दल र उम्मेदवारबाट हुने निर्वाचन प्रचारप्रसार खर्चलाई पद्धतिगत नियन्त्रण र नियमन गर्ने प्रयत्न गरेको उनले बताए ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, पूर्वप्रधानमन्त्री, मन्त्री, प्रमुख दलहका नेता, संवैधानिक निकायका प्रमुख, कलाकार, समाजसेवी, बुद्धिजीवीलगायतको उपस्थिति थियो ।

२०७९ पुष ४, सोमबार प्रकाशित 0 Minutes 324 Views

ताजा समाचार