२०८१ बैशाख १३ बिहीबार

कसले खुवाउला नयाँ सांसदलाई शपथ

ज्येष्ठ सांसदको औपचारिक टुंगो नलाग्दा सांसदहरूलाई शपथ खुवाउने व्यक्तिबारे अझै अन्योल भएको छ। ज्येष्ठ सदस्यको सूचीमा महिन्द्रराय यादव, चित्रबहादुर केसी, महन्थ ठाकुर र पशुपतिशमशेरे जबरा छन्।

उनीहरूमध्ये को जेठो भने औपचारिक टुंगो पुस ६ गते लाग्ने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए।

‘७ गते सांसदको शपथ तय भएको छ। ६ गते निर्वाचन आयोगले औपचारिक रूपमा ज्येष्ठ सदस्यबारे जानकारी दिनेछ,’ पाण्डेले भने।

सभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने प्रावधान छ। ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिने र ती व्यक्तिले अन्य सदस्यलाई शपथ ग्रहण गराउने चलन छ।

आयोगको विवरणमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र राष्ट्रिय प्रजातन्त्र पार्टीका पशुपतिशमशेर जबरा ८० वर्ष कटेका छन्। नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवको उमेर ८५ वर्ष छ। नागरिकताअनुसार उनी १९९४ वैशाख २४ मा जन्मिएका हुन्।

‘नागरिकताअनुसार मेरो उमेर बढाइएको छ। अब कानुनले जे भन्छ त्यही अनुसार हुने हो,’ यादवले भने।

२०७४ सालमा पनि ज्येष्ठ सदस्य यादव नै थिए। यद्यपी उनी अनुपस्थित हुँदा महन्थ ठाकुरले बैठकको अध्यक्षता गरेका थिए। ‘म त्यसबेला अनुपस्थित थिएँ र ठाकुरजीले शपथ गराउनुभएको थियो,’ उनले भने।

त्यसबेला केसी र राणा निर्वाचित भएका थिएनन्।

आयोगको विवरण अनुसार केसी १९९७ माघ २० मा जन्मिएका हुन्। उनी ८१ वर्ष १० महिनाका भए। यस्तै, जबराको जन्म १९९८ वैशाख २५ मा भएको हो उनी ८१ वर्ष ७ महिनाका भए भने ८० वर्षीय ठाकुरको जन्म १९९९ वैशाख २४ मा भएको हो।

२०७९ पुष ४, सोमबार प्रकाशित 0 Minutes 373 Views

ताजा समाचार